- टेकमान शाक्य
- असार ३, २०८३

पूर्वराजाको जन्मोत्सवमा निर्मल निवास खुला गरिने दावीसहितको विज्ञप्ति गलत
अनलाइन सञ्चारमाध्यमहरूमा पूर्वराजा ज्ञानेन्द्र शाहको ८० औँ जन्मोत्सवको अवसरमा असार २३ गते निर्मल निवास सर्वसाधारणका लागि ३ घण्टा खुला रहने दाबीसहित एउटा प्रेस विज्ञप्ति प्रकाशित भएको छ। तर, नेपालफ्याक्टचेकको तथ्यजाँचले उक्त दाबी र विज्ञप्ति गलत भएको पुष्टि गरेको छ। यो १ वर्ष पुरानो विज्ञप्तिलाई तोडमोड गरी फैलाइएको पाइएको छ।
के हो दावी ?
रातोपाटी डटकमले २०८३ साल असार ३ गते पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औँ जन्मोत्सव निर्मल निवासमा मनाउन लागेको र त्यसका लागि असार २३ गते ३ घण्टा निर्मल निवास खुला गरिने दाबीसहित समाचार प्रकाशित गरेको छ। समाचारमा पूर्वराजाका संवाद सचिव फणिन्द्र पाठकले जारी गरेको भनिएको एउटा प्रेस विज्ञप्ति पनि समावेश गरिएको छ। उक्त विज्ञप्तिको हवाला दिँदै शुभेच्छुक, जनसमुदाय, संघसंस्था तथा आम नागरिकलाई समारोहमा सहभागी हुन आह्वान गरिएको समाचारमा उल्लेख छ।
हेर्नुहोस् रातोपाटीमा प्रकाशित समाचारको स्क्रिनसट:

रातोपाटीको समाचारको ओरिजिनल लिंक यहाँ छ भने अर्काईभ लिंक यहाँ छ ।
यसैगरी, लोकपाटी डटकमले पनि संवाद सचिवालयका अनुसार जनचाहना अनुरूप जन्मोत्सव समारोह आयोजना गर्न लागिएको भन्दै सोही दाबीको समाचार प्रकाशित गरेको छ।
हेर्नुहोस् लोकपाटीको स्क्रिन सट :

लोकपाटीको ओरिजिनल लिंक यहाँ छ भने अर्काईभ लिंक यहाँ छ ।
नेपालप्रेस डटकमले पनि सुरुमा यही दाबीसहित समाचार प्रकाशित गरेको भए तापनि हाल उक्त समाचार हटाएको छ। समाचार हटाएपछिको नेपालप्रेसको आर्काइभ लिंक यहाँ छ।
यसको प्रभाव
यो तथ्यजाँच तयार पार्ने समयसम्ममा रातोपाटीमा प्रकाशित उक्त समाचार १ हजारभन्दा बढी पटक सेयर भइसकेको छ। नेपालप्रेस (हाल हटाइएको) र लोकपाटीसहित थुप्रै अनलाइन सञ्चारमाध्यममा यो समाचार फैलिएको छ भने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि यसलाई व्यापक रूपमा सेयर गरिरहेका छन्। यसको आधिकारिकताबारे प्रष्ट पारिदिन नेपालफ्याक्टचेकलाई समेत अनुरोध प्राप्त भएको थियो।
के हो तथ्य ?
सञ्चारमाध्यमहरूले साभार गरेको उक्त विज्ञप्तिलाई मसिनो गरी हेर्दा त्यसमा प्राविधिक त्रुटि र डिजिटल छेडछाड (Manipulation) गरिएका स्पष्ट संकेतहरू फेला परे:
१) फन्ट र मितिको असङ्गति: विज्ञप्तिमा “विक्रम शाहदेवको ८० औँ” भन्ने वाक्यांश लेखिएको ठाउँको फन्ट र अन्य अक्षरहरूको फन्ट असाधारण एवं अमिल्दो देखिन्छ। साथै, उक्त भाइरल विज्ञप्तिमा जारी गरिएको कुनै मिति उल्लेख छैन।

२) पुरानो विज्ञप्तिसँग तुलना: हामीले पूर्वराजाको अघिल्लो जन्मोत्सवका अवसरमा जारी भएका आधिकारिक विज्ञप्तिहरूको खोजी गर्यौँ। त्यस क्रममा शिलापत्र डटकममा ७९ औँ जन्मोत्सवबारे प्रकाशित प्रेस विज्ञप्ति फेला पर्यो। उक्त ७९ औँ जन्मोत्सवको विज्ञप्ति २०८२ साल असार १३ गते जारी गरिएको थियो।
हेर्नुहोस्, शिलापत्रको स्क्रिन सट :

शिलापत्रको ओरिजिनल लिंक यहाँ छ भने अर्काईभ लिंक यहाँ छ ।
भाइरल भइरहेको ८० औँ जन्मोत्सवको विज्ञप्ति र १ वर्षअघिको ७९ औँ जन्मोत्सवको आधिकारिक विज्ञप्तिको ढाँचा (Format) ठ्याक्कै एउटै छ। ७९ औँ जन्मोत्सवको अवसरमा जारी मूल विज्ञप्तिमा उल्लेखित अंक र केही शब्दहरूलाई तोडमोड (Edit) गरेर “८० औँ जन्मोत्सव” को बनाइएको यसबाट स्पष्ट हुन्छ।
३) आधिकारिक खण्डन: थप पुष्टिका लागि हामीले पूर्वराजा शाहका संवाद सचिव फणिन्द्र पाठकको आधिकारिक फेसबुक प्रोफाइल जाँच गर्यौँ। संवाद सचिव पाठकले सामाजिक सञ्जालमार्फत एउटा स्टाटस लेख्दै उक्त भाइरल विज्ञप्ति पूर्णतः नक्कली भएको स्पष्ट पारेका छन्।
उनले लेखेका छन्: “जन्मोत्सवको सन्दर्भमा सम्वाद सचिवालयद्वारा जारी भएको विज्ञप्ति भन्दै सामाजिक संजालमा फैलिएको विज्ञप्ति गलत भएको र सचिवालयबाट कुनै पनि प्रकारको सूचना जारी नगरिएको जानकारी गराउँदछु।”

तथ्यजाँच
दावी:पूर्वराजाको जन्मोत्सवमा निर्मल निवास खुला गरिने
दावीकर्ता : रातोपाटी डटकम, नेपालप्रेसडटकम, लोकपाटी डटकमसहित संचारमाध्यम
तथ्य/निष्कर्ष: भ्रामक (Misleading)। पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औँ जन्मोत्सव (२०८२ साल) को अवसरमा संवाद सचिवालयले जारी गरेको पुरानो प्रेस विज्ञप्तिलाई डिजिटल रूपमा तोडमोड गरी ८० औँ जन्मोत्सवको भन्दै भ्रम फैलाइएको हो। पूर्वराजाको संवाद सचिवालयले हाल यस्तो कुनै विज्ञप्ति जारी नगरेको र भाइरल सामग्री नक्कली भएको पुष्टि गरिसकेको छ। जिम्मेवार सञ्चारमाध्यमहरूले नै नक्कली विज्ञप्तिको आधारमा समाचार प्रकाशन गर्दा यो भ्रम फैलिन पुगेको हो।