एक्सप्लेनर जलवायु र वातावरण

एक्सप्लेनर : मनसुन आउन किन ढिलो ? के यो वर्ष नेपालमा खडेरी लाग्ने सम्भावना छ ?


एक्सप्लेनर : मनसुन आउन किन ढिलो ? के यो वर्ष नेपालमा खडेरी लाग्ने सम्भावना छ ?

नेपालमा सामान्यतया जुन १३ मा पूर्वी भेगबाट मनसुन भित्रिने गर्थ्यो। तर, हप्ता दिन कटिसक्दा समेत यसपालि नेपालमा मनसुनको आगमन हुन सकेको छैन। भूउपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसुन आगमन अझै केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभागले आकलन गरेको छ।

हामी यस एक्सप्लेनरमार्फत हरेक वर्ष समयमै आउनुपर्ने मनसुन अहिलेसम्म नआउनुको कारण, विगतका वर्षहरूको अवस्था, मनसुन नभित्रिँदा हुने असर र यसको समग्र प्रभावबारे विस्तृत रूपमा चर्चा गर्दैछौँ।

अझै कति दिन लाग्ला मनसुन भित्रिन ?

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक तथा मौसमविद् विनोद पोखरेल मनसुन भित्रिने समय अझै अनिश्चित रहेको बताउँछन्।

मनसुन नेपाल आउने बाटो कुन हो ? यो कहाँ अड्कियो ?
नेपालमा मनसुन बङ्गालको खाडीबाट पूर्वी नाका (कोशी प्रदेश) हुँदै भित्रिन्छ। यो वर्ष पनि मनसुनको बादल बङ्गालको खाडीबाट नेपालको सिमाना नजिकै त आइपुग्यो। तर, नेपालभित्र पहिलेदेखि नै सक्रिय रहेको पश्चिमी वायु र सुख्खा हावा शक्तिशाली हुँदा यसले मनसुनी बादललाई भित्र छिर्नै नदिएको विज्ञहरूको बुझाइ छ।

के यो पहिलो पटक भएको हो ?
मनसुन आगमनमा हुने ढिलाइ वा चाँडो नौलो विषय होइन। विगतका केही वर्षहरूको ट्रेन्ड हेर्ने हो भने मनसुनको आगमन र बहिर्गमन यसरी तल-माथि भइरहेको देखिन्छ –

  • सन् २०२५ : मे २९ मा भित्रिएर अक्टोबर १० मा बाहिरिएको।
  • सन् २०२४ : जुन १० मा भित्रिएर अक्टोबर १२ मा बाहिरिएको।
  • सन् २०२३ : जुन १४ मा भित्रिएर अक्टोबर १५ मा बाहिरिएको।
  • सन् २०२२ : जुन ५ मा भित्रिएर अक्टोबर १६ मा बाहिरिएको।
  • सन् २०२१ : जुन ११ मा भित्रिएर अक्टोबर ११ मा बाहिरिएको।
  • सन् २०२० : जुन १२ मा भित्रिएर अक्टोबर १६ मा बाहिरिएको।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल हाल प्रशान्त महासागरमा ‘एल निनो’ विकसित भइसकेको र यो अझै बलियो हुने क्रममा रहेको बताउँछिन्। यसले गर्दा नेपाल र समग्र दक्षिण एसियाकै मनसुन आगमनमा प्रभाव पर्ने र मनसुन कमजोर हुन सक्ने सम्भावना देखिएको उनको बुझाइ छ। विगतका केही वर्षहरूमा पनि एल निनोकै प्रभावले मनसुन आगमन ढिलो भएको थियो।

‘एल निनो’ के हो ?
एल निनो भनेको प्रशान्त महासागरको सतहको पानी सामान्यभन्दा बढी तातो हुने प्राकृतिक प्रक्रिया हो । यसले विश्वभरिको मौसम प्रणालीलाई प्रभावित गर्छ भने दक्षिण एसियामा मनसुनलाई कमजोर बनाउँछ ।

एल निनोको प्रभावले मनसुन ढिलो भएका विगतका वर्षहरू :

के यसपालि नेपालमा खडेरी नै लाग्ने हो ?
मनसुन ढिलो हुनु र एल निनो सक्रिय हुनुको अर्थ नेपालमा पूरै खडेरी नै लाग्छ भन्ने होइन। तर, जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणले यस वर्षको मनसुन ऋतुमा देशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा (कम पानी पर्ने) र अधिकतम तापक्रम सरदरभन्दा बढी हुने देखाएको छ। यसको अर्थ, पानी त पर्छ तर विगतका वर्षहरूमा जस्तो पर्याप्त नहुन सक्छ।

अहिले देशका विभिन्न स्थानमा भइरहेको वर्षा के कारणले हो ?
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भागमा भइरहेको वर्षा मनसुन नभई पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारणले भएको हो । महाशाखाका अनुसार पछिल्ला दिनहरूमा देशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलवायु विश्लेषण शाखाका अनुसार असार ३ गते बिहान ८:४५ देखि असार ४ गतेसम्मको २४ घण्टाको अवधिमा देशभरका ४०० वर्षामापन केन्द्रहरूमध्ये १५४ केन्द्रमा मात्र वर्षा मापन भएको थियो।

  • सबैभन्दा बढी वर्षा : स्याङ्जामा ९३ मिमी वर्षा मापन भयो।
  • उच्चतम तापक्रम : भैरहवामा अधिकतम तापक्रम ४१.५ डिग्री सेल्सियस पुग्यो।
  • न्यूनतम तापक्रम : सोही अवधिमा मनाङको थाकमारेमा न्यूनतम तापक्रम ७.३ डिग्री सेल्सियस मापन गरियो।

सो अवधिमा देशका अधिकांश केन्द्रहरूमा अधिकतम तापक्रम ३५ देखि ४० डिग्री सेल्सियसको बीचमा थियो ।

मनसुन ढिलो हुँदा हाम्रो ‘भान्सा र खल्ती’ मा के असर पर्छ ?
नेपालमा मनसुन ढिलो भित्रिँदा यसको चौतर्फी नकारात्मक असर देशको अर्थतन्त्र र जनजीवनमा प्रत्यक्ष रूपमा पर्दछ। यसका मुख्य असरहरू निम्नानुसार छन्स्

कृषि र बजार महँगी : आकाशे पानीको भरमा चल्ने नेपाली कृषिका लागि मनसुन रोकिँदा धान रोपाइँमा ढिलाइ हुन्छ। यसले खाद्यान्न उत्पादन घट्न गई बजारमा खाद्यान्नको मूल्य र महँगी तीव्र रूपमा बढ्ने जोखिम रहन्छ।

ऊर्जा संकट (लोडसेडिङ) : सुख्खायाम लम्बिएर नदीहरूमा पानीको बहाव घट्दा जलविद्युत उत्पादन कम हुन्छ, जसले देशमा पुनः ऊर्जा संकट वा लोडसेडिङको अवस्था सिर्जना गर्न सक्छ।

स्वास्थ्य र वातावरणीय संकट : मनसुनी वर्षा नहुँदा तराई र पहाडी खोँचहरूमा अत्यधिक गर्मी र ‘लु’ (तातो हावा) को प्रकोप बढ्छ। खानेपानीका मुहानहरू सुक्ने, वनजङ्गलमा डढेलो लाग्ने, वायु प्रदूषण बढ्ने र हैजा तथा झाडापखाला जस्ता सरुवा रोगको महामारी फैलने खतरा रहन्छ।

आकस्मिक विपत्तिको डर : लामो समयको खडेरीपछि ढिलो गरी आउने मनसुनले कहिलेकाहीँ छोटो समयमै अत्यधिक वर्षा गराउँछ। जगैदेखि सुख्खा भएको जमिनमा एक्कासि ठूलो पानी पर्दा भयानक बाढी र पहिरोको अर्को ठूलो प्राकृतिक विपत्ति निम्त्याउने जोखिम समेत रहन्छ।

[अपडेट : नेपालमा यस वर्षको मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार कोशी प्रदेशको केही भू-भागमा यस वर्षको मनसुन प्रणाली प्रवेश गरेको हो ।  नेपालको पूर्वी भू-भागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ तारिख हो । यस वर्षको मनसुन सरदर भन्दा ६ दिन ढिलो गरी प्रवेश गरेको विभागले जनाएको छ । विभागका अनुसार मनसुन हाल कमजोर अवस्थामा रहेको छ । देशका अन्य भू-भागमा बिस्तार हुन अझै केही दिन लाग्ने विभागको भनाई छ ।]


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add