एक्सप्लेनर जलवायु र वातावरण

एक्सप्लेनर : ६ दिन ढिलो भित्रिएको मनसुन देशभर कहिले फैलिन्छ ? कस्तो पर्छ प्रभाव ?


एक्सप्लेनर : ६ दिन ढिलो भित्रिएको मनसुन देशभर कहिले फैलिन्छ ? कस्तो पर्छ प्रभाव ?

नेपालमा यस वर्षको मनसुन प्रणाली सरदर मितिभन्दा छ दिन ढिलो गरी गत शुक्रवार कोसी प्रदेशको केही भू–भागबाट प्रवेश गरेको छ । नेपालको पूर्वी भू–भागबाट मनसुन आगमन हुने सरदर मिति जुन १३ तारिख हो । नेपालको कृषि, अर्थतन्त्र र जनजीवनको मेरुदण्ड मानिने मनसुन के हो ? यो कसरी आउँछ ? र यसको प्रभाव कस्तो रहन्छ ? यसबारे हामीले यो एक्स्प्लेनर तयार पारेका छौँ ।

के हो मनसुन ?

ऋतु (मौसम) अनुसार आफ्नो दिशा परिवर्तन गर्ने हावाको बहाव नै मनसुन हो । जल तथा मौसम विज्ञान विभागका अनुसार वायुमण्डलमा ऋतु परिवर्तनसँगै हावाको बहाव वा दिशा परिवर्तन हुने समग्र प्रक्रियालाई मनसुन भनिन्छ । गर्मी याममा हावा समुद्रबाट जमिनतिर चल्छ भने जाडो याममा यो प्रणाली उल्टिएर हावा जमिनबाट समुद्रतिर चल्छ ।

समुद्रको हावा गर्मीमा जमिनतिर किन चल्छ ?

यो सबै खेल हावाको दबाब (एयर प्रेसर) र तापक्रमको हो । जमिन समुद्रको तुलनामा चाँडो तात्ने र चाँडो सेलाउने प्रकृतिको हुन्छ । गर्मी याममा सूर्यको कडा घामले गर्दा जमिन धेरै तात्छ र त्यहाँ हावाको न्यून चाप (कम दबाब) को क्षेत्र बन्छ । यसको विपरीत समुद्र ढिलो तात्ने भएकाले त्यहाँ हावाको बढी दबाबको क्षेत्र रहन्छ ।

विज्ञानको नियम अनुसार हावा सधैँ बढी दबाब भएको क्षेत्रबाट कम दबाब भएको क्षेत्रतिर बग्छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारी भन्छन्, “जमिन र समुद्रको तात्ने-सेलाउने प्रकृतिका कारण गर्मी याममा समुद्रबाट प्रशस्त जल वाष्प (ओसिलो हावा) जमिनतिर बहने गर्दछ, जसले वर्षा गराउँछ।”

नेपालमा आउने मनसुनी हावा कहाँबाट सुरु हुन्छ ?

नेपालसहित दक्षिण एसियामा हुने मनसुनी प्रक्रिया पृथ्वीको दक्षिणी गोलार्धमा रहेको अफ्रिका महादेशको मेडागास्कर टापु आसपासको क्षेत्रबाट सुरु हुन्छ।

त्यहाँबाट सुरु भएको मनसुनी हावा नेपालमा मुख्यतया बङ्गालको खाडी भएर भित्रिन्छ। मौसमविद् अधिकारीका अनुसार, अरब सागरबाट आउने मनसुनको अर्को शाखाले पनि नेपालको मध्य र पश्चिमी भू–भागमा कहिलेकाहीँ पानी पार्ने काम गर्छ। मनसुनको समयमा ‘मनसुनको न्यून चापीय रेखा’ को पनि उत्तिकै महत्त्व रहन्छ।

‘मनसुनको न्यून चापीय रेखा’ भनेको के हो ?

यो कुनै वास्तविक वा भौतिक रेखा होइन । दक्षिण एसियाको वायुमण्डलमा बन्ने कम दबाबका क्षेत्रहरूलाई मौसम विज्ञानको नक्सामा एउटा काल्पनिक रेखाले जोड्दा तयार हुने रेखालाई ‘मनसुनको न्यून चापीय रेखा’ भनिन्छ ।

यसको औसत स्थान भारतको गङ्गाको मैदान हो, जुन नेपालभन्दा दक्षिणमा पर्छ । जब यो रेखा उत्तरतिर सरेर नेपालको तराई भू–भाग वा नेपाल नजिक आइपुग्छ, तब नेपालमा भारी वर्षा (झरी) हुन्छ । जब यो रेखा पुनः दक्षिणतिर सरेर भारतको मध्य र दक्षिणी भागमा सक्रिय हुन्छ, तब नेपालमा पानी पर्न कम हुन्छ अर्थात् मनसुन निष्क्रिय हुन्छ ।

मनसुन कहिले बाहिरिन्छ ?

नेपालमा मनसुन भित्रिने र बाहिरिने औसत समय तोकिएको हुन्छ, यद्यपि यो दिन हरेक वर्ष केही दिन तलमाथि हुन सक्छ।

  • भित्रिने सरदर मिति : जुन १३ (साधरणतया जेठको अन्तिम हप्ता)
  • बाहिरिने सरदर मिति : अक्टोबर २ (साधरणतया असोजको पहिलो/दोस्रो हप्ता)

नेपालमा वर्षभरि पर्ने कुल पानीको करिब ८० प्रतिशत वर्षा मनसुनको यही ४ महिनाको अवधिमा मात्र हुने गर्दछ।

मनसुन प्रवेश गरेपछि देशभर फैलिन कति समय लाग्छ ?

मनसुन नेपाल प्रवेश गरे लगत्तै एकै पटक देशभर फैलिँदैन । पूर्वी नेपालबाट प्रवेश गरेको मनसुनी प्रणाली क्रमशः मध्य तथा पश्चिम नेपालतर्फ विस्तार हुन्छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक तथा मौसमविद् विनोद पोखरेलका अनुसार यो वर्षको मनसुन पश्चिम नेपालसम्म पुग्न अर्को हप्तासम्म लाग्न सक्छ ।

सोमबार मनसुन कोसी, मधेस र बागमती प्रदेशको प्रदेशको सम्पूर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै ठाउँमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार “देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने देखिन्छ ।”

मनसुनको महत्त्व र यसले निम्त्याउन सक्ने विपद्

कृषि र जलस्रोतका लागि वरदान : नेपालमा धान, मकै, कोदो लगायतका प्रमुख बालीको उत्पादन मनसुनी वर्षासँग प्रत्यक्ष जोडिएको छ । पर्याप्त वर्षा हुँदा रोपाइँ राम्रो हुन्छ । साथै, यसले नदी, ताल, पोखरी र भूमिगत जलस्रोत पुनर्भरण गर्नुका साथै जलविद्युत् आयोजनाहरूका लागि आवश्यक पानी उपलब्ध गराउँछ

विपद्को जोखिम : मनसुन पर्यावरणका लागि वरदान भए पनि यसका केही नकारात्मक असरहरू छन् । लगातार केही दिन पानी परिरहनु वा एकै ठाउँमा अत्यधिक ठुलो पानी पर्नु जस्ता मौसमी घटनाले गर्दा देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान र कटान जस्ता गम्भीर प्राकृतिक प्रकोपहरू निम्त्याउने गर्दछ ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add