- सुरज घिमिरे
- असार ३०, २०८३

पोखरा-मुग्लिङ सडक अवरुद्ध भएको भन्दै भाइरल भिडियोको वास्तविकता के हो ?
सोमबारदेखि सामाजिक सञ्जाल टिकटकमा अविरल वर्षाका कारण पोखरा-मुग्लिङ सडक अवरुद्ध भएको र पहिरोले बससहितका सवारीसाधनहरू पुरेको दाबी गरिएको एउटा भिडियो भाइरल बनेको छ। तर, नेपालफ्याक्टचेकको तथ्य जाँच अनुसार उक्त भिडियो हालको नभई २०८१ असोज १२ गते काठमाडौं–धादिङ सिमानामा पर्ने त्रिभुवन राजमार्गको झ्याप्ले खोलामा गएको विनाशकारी पहिरोको हो।
के हो दाबी?
टिकटक प्रयोगकर्ता @kushalchhetri823 ले सोमबार (१३ जुलाई, २०२६) मा एउटा भिडियो पोस्ट गरेका छन्। भिडियोको क्याप्सनमा लेखिएको छ:
“आज परेको पानीले पोखरा–मुग्लिन सडक अवरुद्ध भएको छ। सबैजना सचेत रहनुहोला।”
उक्त भिडियोमा केही बस तथा ट्रकहरू लेदो पहिरोमा पुरिएको दृश्य देखिन्छ।
दाबीको प्रभाव
यो सामग्री तयार पार्दासम्म सामाजिक सञ्जालमा यो दाबी तीव्र रूपमा फैलिएको छ। उक्त टिकटक भिडियोलाई २६ लाखभन्दा बढी पटक हेरिएको छ भने १ लाख २२ हजार ७ सय लाइक र १ हजार २ सय १३ वटा कमेन्ट आइसकेका छन्। यसले आम सर्वसाधारण र सो सडक खण्डमा यात्रा गर्ने यात्रुहरूमाझ ठूलो भ्रम र त्रास पैदा गरेको देखिन्छ।
हेर्नुहोस्, उक्त टिकटक भिडियोको स्क्रिनरेकर्ड
उक्त पोस्टको लिङ्क र अर्काइभ लिङ्क
के हो तथ्य ?
हामीले सुरुमा गुगलमा पोखरा-मुग्लिङ सडक अवरुद्ध भएको र त्यहाँ सवारीसाधन पुरिएको समाचारहरू खोज्यौँ। अविरल वर्षाका कारण मुलुकका विभिन्न राजमार्गहरू प्रभावित भए पनि पोखरा–मुग्लिङ सडक खण्डमा सवारीसाधन नै पुरिने गरी यस्तो कुनै ठुलो दुर्घटना भएको विश्वसनीय समाचार फेला परेन।
विभिन्न सञ्चारमाध्यमहरूका अनुसार सोमबार मुग्लिङ-नारायणगढ सडक खण्डको तुइन खोला, केराबारी र जलबीरेमा पहिरो गएर सडक अवरुद्ध भएको थियो, जुन पहिरो पन्छाएपछि पुनः सञ्चालनमा आइसकेको छ।
हेर्नुहोस्, नयाँ पत्रिका र अनलाइन खबरमा प्रकाशित समाचारको स्क्रिन सट :

त्यसपछि हामीले भाइरल भिडियोका मुख्य दृश्यहरू (Keyframes) लाई स्क्रिनसट लिएर गुगल रिभर्स इमेज सर्च मार्फत खोज्यौँ।
खोजको क्रममा यो भिडियो २०८१ साल असोज १२ गते काठमाडौं र धादिङको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोको रहेको पायौँ । सो दिन झ्याप्ले खोलामा खसेको पहिरोमा परी ३५ जना यात्रुले ज्यान गुमाएका थिए । सोही समयका तस्बिर तथा भिडियोहरू अनलाइन खबर, रातोपाटी र नेपालभ्यूज लगायतका सञ्चारमाध्यममा प्रकाशित भएका थिए।
हेर्नुहोस्, स्क्रिन सट :

त्यसैले, दुई वर्ष पुरानो दुःखद घटनाको भिडियो फुटेजलाई हालकै वर्षाको भन्दै गलत सन्दर्भमा पोस्ट गरिएको स्पष्ट हुन्छ।
तथ्य जाँच
दाबी : वर्षाका कारण पोखरा-मुग्लिङ सडक अवरुद्ध भएको दाबीसहित पहिरोले बससहितका सवारीसाधनहरू पुरिएको भिडियो भाइरल ।
दाबीकर्ता : टिकटक प्रयोगकर्ता @kushalchhetri823
तथ्य जाँच/निष्कर्ष : भ्रामक (Misleading) । पोखरा-मुग्लिङ सडक खण्डमा सवारी पुरिएको भनी भाइरल बनाइएको भिडियो झन्डै दुई वर्ष पुरानो (२०८१ असोज १२ गते) झ्याप्ले खोला पहिरोको हो। पुरानो घटनाको भिडियोलाई अहिलेको ताजा घटना भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएको हो।