- सुरज घिमिरे
- साउन १, २०८३

काभ्रेमा भयानक बाढी आएको दाबीसहित भाइरल भएको भिडियो एआईबाट बनेको
सामाजिक सञ्जाल फेसबुकमा काभ्रेपलाञ्चोक जिल्लामा भयानक बाढी आएको दाबीसहित एउटा भिडियो तीव्र रूपमा सेयर भइरहेको छ। तर, नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचले उक्त भिडियो वास्तविक नभई एआईबाट बनेको पुष्टि भएको छ।
के हो दाबी ?
फेसबुकमा १६ हजारभन्दा बढी फलोअर्स भएका प्रयोगकर्ता उमेश चौलागाईंले जुलाई ११, २०२६ को बिहान ११:४३ बजे एउटा भिडियो पोस्ट गरे। काभ्रेमा भयानक बाढी आएको दाबीसहित पोस्ट गरिएको भिडियोमा हामीले तथ्य जाँच गर्दासम्म १७ हजार ५ सयभन्दा बढी रियाक्सन, ९६ वटा कमेन्ट र ११२ पटक सेयर भइसकेको छ भने भिडियोलाई ७ लाख ६ हजारभन्दा बढी पटक हेरिएको छ।
हेर्नुहोस्, स्क्रिनरेकर्ड :
उक्त पोस्टको लिङ्क र अर्काइभ लिङ्क
के हो तथ्य ?
यो विषयको तथ्य जाँच गर्नका लागि हामीले विभिन्न डिजिटल उपकरण र ओपन सोर्स इन्भेस्टिगेसन टुल्सको सहयोगमा निम्न चरणहरूमा अनुसन्धान गर्यौँ:
१) सञ्चारमाध्यम र आधिकारिक निकायको खोजी
हामीले उपलब्ध नेपाली सञ्चारमाध्यम र विपद् व्यवस्थापनसँग सम्बन्धित आधिकारिक निकायहरू (जस्तै: गृह मन्त्रालयको नेपाल विपद् पोर्टल, जल तथा मौसम विज्ञान विभाग) का सूचनाहरू खोजी गर्यौँ। भाइरल भिडियोमा जुलाई ११, २०२६ आसपासको समय दाबी गरिए पनि हाल उपलब्ध जानकारीका आधारमा काभ्रेपलाञ्चोक जिल्लामा सो समयमा यस्तो प्रकृतिको कुनै भयानक बाढी वा पहिरो गएको आधिकारिक सूचना वा विश्वसनीय समाचार फेला परेन।
२) रिभर्स इमेज सर्च
भाइरल भिडियोका मुख्य दृश्यहरूलाई की-फ्रेममा विभाजन गर्यौँ र गुगल रिभर्स इमेज सर्चमार्फत् जाँच गर्यौँ। खोजका क्रममा इन्टरनेटमा यो बाढीको दृश्यसँग मिल्दोजुल्दो कुनै पनि वास्तविक वा पुराना आधिकारिक फोटो/भिडियोहरू फेला परेनन्।
३) भिडियोको सूक्ष्म र प्राविधिक विश्लेषण
भिडियोको दृश्यलाई अझ नियालेर हेर्दा यसमा केही अस्वाभाविक र अप्राकृतिक तत्वहरू देखिन्छन्। भिडियोको तल्लो भागमा स्पष्ट रूपमा ‘Gemini’ को लोगो देखिन्छ। यो गुगलद्वारा विकसित गरिएको अत्याधुनिक एआई मोडल हो, जसको टेक्स्ट-टु-भिडियो वा इमेज प्रविधि प्रयोग गरी काल्पनिक दृश्यहरू तयार पार्न सक्छ।
हेर्नुहोस्, स्क्रिनसट :

४) एआई डिटेक्टर टुलको प्रयोग
प्राविधिक जाँचका लागि हामीले उक्त भिडियोलाई एआई सामग्री पहिचान गर्ने डिजिटल टुल ‘Hive Moderation’ मा राखेर परीक्षण गर्यौँ। उक्त टुलले यो भिडियो पूर्ण रूपमा एआईको प्रयोगबाट जेनेरेट गरिएको (कृत्रिम रूपमा बनाइएको) निष्कर्ष निकाल्यो।
हेर्नुहोस्, स्क्रिनसट :

तथ्य जाँच
दाबी : काभ्रेमा भयानक बाढी आएको भन्दै भाइरल भिडियो ।
दाबीकर्ता : उमेश चौलागाईं नामक फेसबुक प्रयोगकर्ता ।
तथ्य : मिथ्या (False)/एआई जेनेरेटेड (AI Generated) । सामाजिक सञ्जालमा काभ्रेको बाढी भन्दै भाइरल भइरहेको भिडियो वास्तविक होइन। यो एआई प्रविधिको प्रयोग गरी बनाइएको काल्पनिक र कृत्रिम भिडियो भएको प्राविधिक परीक्षण र खुला स्रोतको खोजबाट पुष्टि हुन्छ।