- टेकमान शाक्य
- साउन २, २०८३

राष्ट्रिय परिचयपत्र अद्यावधिक नगरे पुराना बैंक खाता चल्दै नचल्ने र ब्लक हुने दाबी भ्रामक
अब राष्ट्रिय परिचयपत्र नभएका पुराना बैंक खाताहरू नचल्ने, कारोबार नै गर्न नमिल्ने र खाता नै ब्लक हुने दाबीसहितका समाचार तथा भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। नेपालफ्याक्टचेकले नेपाल राष्ट्र बैंकको आधिकारिक परिपत्र र प्रवक्ताको भनाइलाई आधार मानी गरेको तथ्यजाँचबाट यी दाबीहरू भ्रामक र असत्य पुष्टि भएका छन्। नेपाल राष्ट्र बैंकले असोज मसान्तभित्र विवरण स्वघोषणा गर्न वा लिन निर्देशन दिए पनि खाता नै फ्रिज वा ब्लक हुने कुनै व्यवस्था गरेको छैन।
के हो दाबी ?
अनलाइन सञ्चारमाध्यम टेकपाना डटकमले २०८३ साल असार ३२ गते प्रकाशित गरेको समाचारमा राष्ट्रिय परिचयपत्र नभएका पुराना बैंक खातामा कारोबार गर्न नपाइने दाबी गरेको छ।
समाचारमा बैंक खाताहरूलाई सुरक्षित र व्यवस्थित बनाउन राष्ट्र बैंकले यस्तो कदम चालेको उल्लेख छ।
हेर्नुहोस् टेकपानाको स्क्रिनसट

टेकपानाको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
यसैगरी, फेसबुक पेज ‘नेपाल पुकार एचडी’ ले सन् २०२६ जुलाई १६ (२०८३ असार ३२) मा एक भिडियो सामग्री सार्वजनिक गर्दै साउन १ गतेभित्र राष्ट्रिय परिचयपत्र लिङ्क नगरे बैंक खाता फ्रिज हुने र पैसा निकाल्न वा जम्मा गर्न नमिल्ने दाबी गरेको छ।
समाचार प्रस्तोताले भिडिओमा भनेकी छिन्, – ‘यदि तपाईसँग बैंक खाता छ, तर अहिलेसम्म राष्ट्रिय परिचयपत्र नम्बर अपडेट गर्नुभएको छैन भने सावधान भोलि साउन १ गतेभित्र यो काम नसके तपाईको आफ्नै खातामा भएको पैसा फ्रिज हुन सक्छ ।’
हेर्नुहोस् नेपाल पुकार एचडीको स्क्रिनसट

नेपाल पुकार एचडीको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
अर्को सञ्चारमाध्यम ‘प्रयास मिडिया’ ले पनि २ मिनेट ४५ सेकेन्डको भिडियो सार्वजनिक गर्दै २०८३ असोज मसान्तभित्र राष्ट्रिय परिचयपत्र अद्यावधिक नगरे पुराना बैंक खाता नचल्ने र कारोबार प्रभावित हुने दाबी गरेको छ।
हेर्नुहोस् प्रयास मिडियाको स्क्रिनसट

प्रयास मिडियाको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
दाबीको प्रभाव
यी दाबीहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन्, जसको विवरण यस प्रकार छ:
-
टेकपाना डटकम: फेसबुक पेजबाट मात्रै यस समाचारमा ३ हजारभन्दा बढी रियाक्सन, ३ सयभन्दा बढी कमेन्ट र १६२ पटक सेयर भएको छ।
-
नेपाल पुकार एचडी: फेसबुक पेजको भिडियोलाई १ लाख ७३ हजारभन्दा बढी पटक रियाक्ट गरिएको छ, ५ हजार ३ सय कमेन्ट छन् भने ५१ लाखभन्दा बढी पटक हेरिएको छ।
-
प्रयास मिडिया: फेसबुक भिडियोलाई ३३ हजार पटक रियाक्ट गरिएको छ, ६ सय १२ कमेन्ट र १ हजार २ सय पटक सेयर हुनुका साथै १० लाखभन्दा बढी पटक हेरिएको छ।
के हो तथ्य ?
यस दाबीको सत्यता जाँच्न हामीले नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा सन् २०२६ जुलाई १५ (२०८३ असार ३१) मा प्रकाशित परिपत्र अध्ययन गर्यौँ।
उक्त संशोधित व्यवस्थाअनुसार:
१. बैंक तथा वित्तीय संस्थाले २०८३ असोज मसान्तभित्र खातावालाको राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा (Self-declaration) लिनुपर्नेछ।
२. परिचयपत्र लिइसकेका नेपाली नागरिकको हकमा मोबाइल एप वा अन्य माध्यमबाट असोज मसान्तभित्र विवरण लिई अद्यावधिक गर्नुपर्नेछ।
३. परिचयपत्र लिइनसकेका नागरिकको हकमा परिचयपत्र लिई ग्राहक पहिचान (KYC) अद्यावधिक गर्न ६ महिनाभित्र जानकारी दिने व्यवस्था मिलाउनुपर्ने भनिएको छ।
४. विदेशमा रहेका नेपाली, १६ वर्षमुनिका बालबालिका र असहाय नागरिकको हकमा राष्ट्रिय परिचयपत्रबिना नै अन्य आवश्यक कागजात राखेर खाता खोल्न र कारोबार गर्न सक्ने खुकुलो व्यवस्था गरिएको छ।
यस्तै आफ्नो हेरचाह आफै गर्न नसक्ने, असक्त, असहाय नागरिक तथा १६ वर्ष भन्दा कम उमेरका बालबालिकाको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत बैंक खाता खोल्न र कारोबार गर्न सक्नेछन् भनेर उल्लेख गरिएको छ ।
हेर्नुहोस् राष्ट्र बैंकले जारी गरेको परिपत्र

परिपत्र पढ्न ओरिजिनल लिंक यहाँ छ ।
राष्ट्र बैंकको यो परिपत्रमा तोकिएको समयभित्र राष्ट्रिय परिचयपत्र अद्यावधिक नगरेकै आधारमा खाता चल्दै नचल्ने वा ब्लक/फ्रिज हुने भन्ने कुनै पनि कानुनी व्यवस्था उल्लेख गरिएको छैन।
सम्बन्धित पक्षको प्रतिक्रिया
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले टेलिफोनमार्फत नेपालफ्याक्टचेकलाई दिएको जानकारी अनुसार राष्ट्रिय परिचयपत्र विवरण प्रणाली एकीकृत गर्न असोज मसान्तको समय दिइएको कुरा सत्य हो, तर विवरण पेस नगर्दैमा खाता ब्लक हुने हल्ला पूर्णतः गलत हो।
उनले भनेका छन्, “असोज मसान्तभित्र विवरण बुझाउन भनिएको हो, तर त्यो समयभित्र अद्यावधिक नगर्नेहरूको बैंक खाता नै नचल्ने वा ब्लक नै हुने दाबी सत्य होइन।”
तथ्यजाँच
दाबी :अब राष्ट्रिय परिचयपत्र नभएका पुराना बैंक खाता चल्दैनन्, कारोबार रोकिन्छ र खाता ब्लक हुन्छ।
दाबीकर्ता : टेकपाना डटकम, नेपाल पुकार एचडी, प्रयास मिडिया लगायत संचारमाध्यम
तथ्य/निष्कर्ष: भ्रामक (Misleading)। नेपाल राष्ट्र बैंकले बैंक खातामा राष्ट्रिय परिचयपत्र अद्यावधिक वा स्वघोषणाका लागि २०८३ असोज मसान्तसम्मको व्यवस्था गरेको कुरा साँचो हो। तर, उक्त अवधिमा अद्यावधिक नगरे पुराना खाताहरू चल्दै नचल्ने, कारोबार रोकिने वा खाता नै ब्लक/फ्रिज हुने भनी गरिएका दाबीहरू राष्ट्र बैंकको परिपत्र र प्रवक्ताको आधिकारिक स्पष्टीकरणका आधारमा भ्रामक पुष्टि हुन्छन्।