तथ्यजाँच कोशी मिथ्या सूचना

२ मिटरको दूरीमा नेपाली सेनाले बन्दुक ताकेको दाबी गलत, तस्बिर एआईमार्फत सम्पादित


२ मिटरको दूरीमा नेपाली सेनाले बन्दुक ताकेको दाबी गलत, तस्बिर एआईमार्फत सम्पादित

नेपाली सेनाले २ मिटरको दुरीमा रहेका सर्वसाधारणमाथि बन्दुक ताकेको दाबी गर्दै एउटा तस्बिर भाइरल बनिरहेको छ । तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचको क्रममा यो दाबी गलत एवम् तस्बिर पनि एआईमार्फत सम्पादन भएको पुष्टि भएको छ ।

के हो दाबी ?

जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले सन् २०२६ को जुलाई २९ को दिन एउटा तस्बिर सार्वजनिक गरेको छ। तस्बिरमा नेपाली सेनाले बन्दुक ताकिरहेको देखिन्छ भने नजिकै सर्वसाधारण प्रदर्शनकारी आक्रोशित देखिन्छन् । नेपाली सेना र प्रदर्शनकारीबीचको दुरी २ मिटर मात्रै रहेको देखाइएको छ ।

पोस्टमा अन्तिम शक्तिको रुपमा रहेको नेपाली सेनाले २ मिटरको दुरीमा रहेका आफ्नै देशको जनतामाथि बन्दुक ताकेको दाबी छ।

हेर्नुहोस् सीके राउतको सचिवालयको पोस्टको स्कृनसट

सीके राउतको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवम् नेपाली कम्युनिष्ट पार्टी निकट वाईसिएल नेपालका केन्द्रीय सचिव  मिनकुमार सिवाकोटीले पनि सन् २०२६ को जुलाई २८ को दिन यही तस्बिरसहितको पोस्ट सार्वजनिक गरेका छन् । पोस्टमा उनले जनतामाथि बन्दुक होइन सीमातिर साहस देखाउन आग्रह गरेका छन् ।

हेर्नुहोस् मिनकुमारको स्टाटसको स्कृनसट 

मिनकुमार सिवाकोटीको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

वाईसीएल नेपालका केन्द्रीय उपाध्यक्ष अविलाश लामाले पनि नेपाली सेनाको भूमिकामाथि अब मौन बस्ने कि बहस गर्ने ? भन्दै प्रश्न गर्दै यही तस्बिरसहितको फेसबुक स्ट्याटस सार्वजनिक गरेका छन् । उनले नेपाली सेनाले नागरिकमाथि बन्दुक तेर्स्याएर राज्यको शक्ति प्रदर्शन गरेको भनेका छन् ।

दाबीको प्रभाव

  • Dr. CK Raut – सचिवालय : य‍ पेजबाट सार्वजनिक पोस्टमा ८ सयभन्दा बढी पटक रियाक्ट भएको छ भने २ सय २५ पटक कमेन्ट र ७७ पटक सेयर भएको देखिन्छ ।
  • मिनकुमार सिवाकोटी : दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवम् नेपाली कम्युनिष्ट पार्टी निकट वाईसिएल नेपालका केन्द्रीय सचिव  मिनकुमार सिवाकोटीले सार्वजनिक गरेको पोस्टमा २ सय २८ पटक रियाक्सन र २७ पटक कमेन्ट गरिएको छ ।

के हो तथ्य ?

१) रिभर्स इमेज सर्चमार्फत मूल स्रोतको खोजी

यो दाबीमाथि तथ्यजाँचका लागि सबैभन्दा पहिले हामीले तस्बिरलाई गुगलमा रिभर्स ईमेज सर्च गरेर हेर्‍यौँ । यसको नतिजामा २०८३ सालको साउन १२ गते साँघु न्युज डटकमले नेपाली सेनाको एउटा तस्बिरसहितको समाचार प्रकाशित गरेको भेटियो । तस्बिरमा नेपाली सेनाले बन्दुक ताकेको मात्रै देखिन्छ भने अरु सर्वसाधारण देखिँदैनन् ।

साँघु न्युजको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

२) तस्बिरको सूक्ष्म अध्ययन

त्यसपछि हामीले तस्बिरलाई सूक्ष्म रुपमा अध्ययन गर्‍यौँ । अध्ययनको क्रममा तस्बिरमा गोलो घेराभित्र रहेका व्यक्तिले काठको लौरो समातेको हात अस्वभाविक देखिन्छ । एउटै हातले एकापट्टिबाट लौरो समातिएको छ भने अर्कोपट्टीबाट शरीर समातिएको छ ।

तस्बिरमा रहेका अरु व्यक्तिहरुको शारीरिक बनावट  र देखिएका काठका लौरोहरु पनि अलि असहज देखिन्छ । नेपाली सेनातर्फको घामको छायाँ र सर्वसाधरणतर्फको घामको छायाँ पनि एकनासको छैन । भवनको बनावट पनि एकनासको देखिँदैन ।

३) एआई परीक्षण

तस्बिरमा मानिसहरुको शारीरीक बनावट अस्वभाविक देखेप छि हामीले यो एआई निर्मित हो कि होइन भनेर प्राविधिक जाँच गरेर हेर्‍यौँ । ओपन एआईमार्फत जाँच गर्दा यो तस्बिर एआई जेनेरेटेड भएको पुष्टि भयो ।

४) सम्बन्धित व्यक्तिको भनाई

त्यसपछि हामीले नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतलाई सम्पर्क गर्‍यौँ । नेपाल फ्याक्टचेकसँग कुरा गर्दै उनले नेपाली सेनाले २ मिटरको दूरीमा प्रदर्शनकारीलाई बन्दुक ताकेको दाबी गलत रहेको, यस्तो काम नेपाली सेनाको तर्फबाट कतै पनि नभएको दाबी गरे । उनले नेपाल फ्याक्टचेकलाई वास्तविक तस्बिर र भिडिओसमेत उपलब्ध गराएका छन् ।

हेर्नुहोस् नेपाली सेनाले उपलब्ध गराएको वास्तविक तस्बिर

नेपाली सेनाले कम्तिमा पनि ५० मिटर सेफ्टी डिस्ट्यान्स (सुरक्षा दुरी) राख्ने गरेको भन्दै उनले भाइरल भइरहेको तस्बिरमा सत्यता नरहेको बताए । उनले प्रदर्शनस्थलमा सशस्त्रभन्दा पछाडि नेपाली सेना रहेको बताए । उनको भनाई अनुसार नेपाली सेनाको वास्तविक तस्बिरमा अर्को तस्बिर जोडिएको हो ।

तथ्यजाँच

दाबी : २ मिटरको दूरीमा रहेका प्रदर्शनकारीलाई नेपाली सेनाले बन्दुक ताकेको दाबीसहितको तस्बिर

दाबीकर्ता : जनमत पार्टीका अध्यक्ष सीके राउत, वाईसीएलका केन्द्रीय सचिव मिनकुमार सिवाकोटीसहित सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्य : मिथ्या (False) : नेपाल फ्याक्टचेकले गरेको तथ्यजाँचको क्रममा २ मिटरको दूरीमा रहेका प्रदर्शनकारीलाई नेपाली सेनाले बन्दुक ताकेको दाबी गलत र तस्बिर पनि एआईमार्फत सम्पादन गरिएको पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add