तथ्यजाँच कोशी मिथ्या सूचना वागमती

काठमाडौंबाट २४ जना रोहिङ्ग्या मुसलमान पक्राउ परेको दाबी मिथ्या, भाइरल तस्बिर एआई जेनेरेटेड


काठमाडौंबाट २४ जना रोहिङ्ग्या मुसलमान पक्राउ परेको दाबी मिथ्या, भाइरल तस्बिर एआई जेनेरेटेड

काठमाडौंबाट २४ जना रोहिङ्ग्या मुसलमान पक्राउ परेको दाबीसहितका पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। तर नेपाल फ्याक्टचेकले गरेको तथ्यजाँचका क्रममा यो दाबी मिथ्या रहेको र तस्बिर पनि एआई जेनेरेटेड भएको पुष्टि भएको छ ।

के हो दाबी ? 

५ लाख १२ हजार फलोअर्स रहेको रमेश मल्ल नाम गरेको फेसबुक प्रोफाइलबाट सन् २०२६ को जुलाई २९ को दिन बिहान ११ बजे तस्बिरसहितको फेसबुक पोस्ट सार्वजनिक भएको छ ।

पोस्टमा  काठमाडौंबाट २४ जना रोहिङ्ग्या मुसलमान पक्राउ परेको दाबी गरिएको छ भने बंगलादेशी रोहिङ्ग्या मुसलमानलाई नेपालमा रुबी खातुन र उमर खानले साथ दिइरहेको दाबी गरिएको छ । पोस्टसँगैको तस्बिरमा मुसलमान समूदायका जस्ता देखिने व्यक्तिहरूको हातमा हतकडी लागेको देखिन्छ भने उनीहरुसँगै नेपाल प्रहरी पनि देख्न सकिन्छ ।

हेर्नुहोस् रमेश मल्लको स्कृनसट

रमेश मल्लको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

यहि दाबीसहितको पोस्ट Tenacity Tv नाम गरेको ३ लाख ४७ हजार फलोअर्स रहेको फेसबुक पेजबाट पनि सार्वजनिक भएको छ । पोस्टमा गरिएको दाबी र तस्बिर समान देखिन्छ ।

हेर्नुहोस् Tenacity Tv ले गरेको पोस्टको स्कृनसट

पोस्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।

दाबीको प्रभाव

  • Ramesh Malla : रमेश मल्लको फेसबुक प्रोफाईलबाट सार्वजनिक पोस्टमा १ हजार ८ सय पटक रियाक्सन आएको छ भने २ सय ५ पटक कमेन्ट र १ सय ६७ पटक सेयर भएको छ ।
  • Tenacity Tv : Tenacity Tv नाम परेको फेसबुक पेजबाट सार्वजनिक भएको पोस्टमा १ हजार २ सय पटक रियाक्ट भएको छ भने १ सय ५८ पटक कमेन्ट भएको छ । १ सय ४३ पटक सेयर गरिएको छ । यही दाबीसहितका पोस्ट थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताले सार्वजनिक गरिरहेका छन् भने हामीलाई पनि यसमाथि तथ्यजाँचका लागि अनुरोध आएको छ । 

के हो तथ्य ?

१) गुगल एड्भान्स सर्च

यसबारे तथ्यजाँचका लागि हामीले सबैभन्दा पहिले काठमाडौंबाट बंगलादेशी नागरिक पक्राउ परेका छन् कि छैनन्, भनेर खोजी गर्‍यौँ ।

त्यसका लागि गुगलमा एड्भान्स सर्च गर्नका लागि “काठमाडौँबाट बंगलादेशी नागरिक पक्राउ” किवर्डको प्रयोग गर्‍यौँ । नतिजामा १ महिनाअघि २०८३ सालको असार महिनामा २४ जना बंगलादेशी नागरिक पक्राउ परेको समाचार विभिन्न समाचारमाध्यममा प्रकाशित भएको भेटियो ।

पासपोर्ट नभएका र पर्यटक भिसाको अवधि समाप्त भएपछि पनि नेपालमा अवैध रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको १ महिनाअघिको समाचारमा दाबी गरिएको छ ।

हेर्नहोस् २ महिनाअघि प्रकाशित समाचारको गुगल स्कृनसट

नेपालमा बंगलादेशीहरु पक्राउ परेकोबारे संचारमाध्यममा पछिल्ला दिनहरुमा कुनै पनि समाचार प्रकाशित भएको छ कि छैन भनेर खोजी गर्‍यौँ । तर नेपालफ्याक्टचेकको टीमले पछिल्ला समाचार फेला पार्न सकेन । नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा गएर खोजी गर्दा पनि भेटिएन ।

२) एआई परीक्षण

त्यसपछि हामीले पोस्टमा प्रयोग गरिएको तस्बिर वास्तविक हो कि एआई हो भनेर ओपनएआई टुल्सको सहायताले जाँच गरेर हेर्‍यौँ । यसको नतिजामा तस्बिर एआई जेनेरेटेड भएको पुष्टि भयो ।

हेर्नुहोस् ओपनएआईले दिएको नतिजाको स्कृनसट

३) सम्बन्धित पक्षको प्रतिक्रिया

त्यसपछि हामीले नेपाल प्रहरीका प्रवक्ता अबि नारायण काफ्लेसँग कुरा गर्‍यौँ । नेपाल फ्याक्टचेकसँग कुरा गर्दै उनले यसबारे कुनै पनि जानकारी नभएको र पक्राउ परेको दाबीमा सत्यता नरहेको प्रतिक्रिया दिए। उनी भन्छन्, – ‘यसबारे हामीलाई कुनै पनि जानकारी छैन, बंगलादेशी नागरिक अर्थात रोहिङ्ग्या मुसलमान समुदायका व्यक्ति पक्राउ परेको दाबीमा सत्यता छैन ।’

तथ्यजाँच

दाबी : काठमाडौंबाट २४ जना रोहिङ्ग्या मुसलमान पक्राउ

दाबीकर्ता : Ramesh Malla,  Tenacity Tv नाम गरेको फेसबुक पेजसहित सामाजिक सञ्जाल प्रयोगकर्ता

तथ्य : मिथ्या (False) : नेपाल फ्याक्टचेकले गरेको प्राविधिक परीक्षण र सम्बन्धित पक्षको प्रतिक्रियाको आधारमा काठमाडौंबाट २४ जना रोहिङ्ग्या मुसलमान पक्राउ परेको दाबी मिथ्या हो । प्रयोग भएको तस्बिर एआई जेनेरेडेट हो ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add