तथ्यजाँच भ्रामक सूचना

नझुक्किनुस्, प्रहरीको गाडीमा आगजनी भन्दै भाइरल भिडियो अहिलेको होइन


नझुक्किनुस्, प्रहरीको गाडीमा आगजनी भन्दै भाइरल भिडियो अहिलेको होइन

सुनसरीमा भएको हालैको प्रदर्शनका क्रममा आन्दोलनकारीले इलाका प्रहरी कार्यालयको गाडी राजमार्गमै जलाएको दाबीसहितका भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्

तर, नेपाल फ्याक्टचेकको अनुसन्धानमा यी भिडियो र तस्बिर हालको सुनसरीको घटनासँग सम्बन्धित नभई २०८२ सालको भदौमा जेनजी आन्दोलनका क्रममा रौतहटको चन्द्रनिगाहापुरमा प्रहरीको भ्यानमाथि भएको आगजनीको भएको पुष्टि भएको छ

के हो दाबी ? 

‘News collection Nepal’ नाम गरेको फेसबुक पेजबाट २९ जुलाई २०२६ मा १६ सेकेन्डको एक भिडियो क्लिप पोस्ट गरिएको छ। Post मा लेखिएको छ: “सुनसरीको घटनालाई लिएर आन्दोलनकारीले इलाका प्रहरी कार्यालयको गाडी राजमार्गमै जलाए।”

हेर्नुहोस् News collection Nepal नामक फेसबुक पेजको स्क्रिनसट

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

यस्तै, नयाँ पत्रिका दैनिकका बैतडी संवाददाता लोकेश साउदले पनि यही दाबीसहितको तस्बिर आफ्नो फेसबुक एकाउन्टमा पोस्ट गरेका छन्। उनले स्थिति काबु बाहिर जान सक्ने भन्दै टिप्पणी समेत गरेका छन्

हेर्नुहोस् लोकेश साउदको फेसबुक पोस्टको स्क्रिनसट

लोकेश साउदको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

सिधाकुरा डटकमका पत्रकार उत्तम प्याकुरेलले पनि यहि भिडिओसहित पोस्ट सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमा प्रहरीको गाडी जलिरहेको दृश्यसहितको उक्त पोस्ट भाइरल बनेको छ र प्रयोगकर्ताहरूले सुनसरीमा हिंसात्मक स्थिति सिर्जना भएको भन्दै भ्रमवश शेयर गरिरहेका छन्

के हो तथ्य ?

तथ्य जाँचका क्रममा हामीले भाइरल भिडियो र तस्बिरका फ्रेमहरूलाई गुगल रिभर्स इमेज सर्च मार्फत् खोजी गर्‍यौँ

खोजीका क्रममा ९ सेप्टेम्बर २०२५ मा BirgunjCity.com को आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको ४७ सेकेन्डको भिडियो फेला पर्‍यो। सो भिडियोको शीर्षकमा चन्द्रनिगाहापुर (रौतहट) स्थित इलाका प्रहरी कार्यालयको गाडीमा प्रदर्शनकारीले आगजनी गरेको उल्लेख छ

हेर्नुहोस् विरगन्ज सिटीको स्क्रिनसट

वीरगन्ज सिटीको ओरिजिनल लिंक यहाँ छ  ।

थप पुष्टिका लागि हामीले यससँग सम्बन्धि अरु सामग्रीको पनि खोजी गर्‍यौँ । देशभर जेनजी पुस्ताको विद्रोहको क्रममा रौतहटको चन्द्रनिगाहापुरमा प्रहरीको भ्यानमाथि भएको आगजनीसम्बन्धि समाचार अन्नपूर्णपोष्ट दैनिक, नागरिक दैनिकलगायत संचारमाध्यममा २०८२ सालको भदौ २४ गते प्रकाशित भएको भेटियो ।

यसबारे थप पुस्टिले हामीले जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्कालाई सम्पर्क गर्‍यौँ। नेपाल फ्याक्टचेकसँग कुरा गर्दै उनले सुनसरीमा बुधबार सामान्य ढुंगामुढा भएको तर आगजनी भने नभएको बताए । सामाजिक संजालमा भाइरल भइरहेको भिडिओबारे आफूलाई पनि अवगत भएको भन्दै उनले त्यो भिडिओ अहिलेको घटनासँग असम्बन्धित रहेको बताए।

तथ्यजाँच

दाबी : सुनसरीको घटनालाई लिएर आन्दोलनकारीले इलाका प्रहरी कार्यलयको गाडीमा आगजनी गरेको

दाबीकर्ता : News collection Nepal नामक फेसबुक पेज, पत्रकार लोकेश साउदसहितका समाजिक सञ्जाल प्रयोगकर्ता

तथ्य : भ्रामक (misleading) । भाइरल भिडियो र तस्बिर हालको सुनसरी घटनासँग सम्बन्धित छैनन्। यी सामग्री २०८२ साल भदौमा रौतहटको चन्द्रनिगाहापुरमा भएको अर्कै घटनाका हुन्, जसलाई अहिलेको घटना भन्दै गलत सन्दर्भमा फैलाइएको छ

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add