तथ्यजाँच कोशी भ्रामक सूचना

‘मुस्लिम समूदाय हतियारसहित फिल्डमा’ भन्दै भाइरल भिडिओ एक महिना पुरानो


‘मुस्लिम समूदाय हतियारसहित फिल्डमा’ भन्दै भाइरल भिडिओ एक महिना पुरानो

सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा मुस्लिम समुदायका व्यक्तिहरू हातहतियारसहित खुलेआम फिल्डमा देखिएको दाबी गर्दै  एउटा भिडिओ भाइरल बनिरहेको छ । तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचको क्रममा सो भिडिओ एक महिनाअघि मुस्लिम समुदायले रौतहटमा मनाएको  दाहा (ताजिया) पर्वको भएको पुष्टि भएको छ ।

के हो दाबी ?

७३ हजार फलोअर्स रहेको सेभेन स्टार फोरके टेलिभिजनको फेसबुक पेजबाट सन् २०२६ को जुलाई २९ को दिन बेलुका ४ बजेर १८ मिनेट जाँदा २ मिनेट ४९ सेकेन्डको भिडिओ सार्वजनिक भएको छ ।

भिडिओको क्याप्सनमा सुनसरीमा हातहतियारसहित व्यक्तिहरु खुलेआम फिल्डमा देखिएको दाबी गरिएको छ । भिडिओमा मानिसहरुले लाठीसहित हातहतियार पनि बोकेको देखिन्छ । भीडमा प्रहरीसमेत देखिएका छन् ।

हेर्नुहोस् सेभेन स्टार फोरकेको स्कृनसट

सेभेन स्टार फोरकेको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

तीन हजार ५ सयभन्दा बढी फलोअर्स रहेका शशांक घिमिरे नाम गरेका एक्स प्रयोगकर्ताले पनि यहि भिडिओ पोस्ट गरेका छन् । भिडि‌ओको क्याप्सनमा उनले हजारौं रोहिंग्या मुस्लिम खुलमखुला हतियारसहित सडकमा देखिएको दाबी गरेका छन् । उनले ‘जिहादी आक्रमण कहिलेसम्म सहने सरकार ?’ भन्दै प्रश्नसमेत गरेका छन् ।

हेर्नुहोस् शशांक घिमिरेको स्कृनसट

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

यो भिडिओ सामाजिक सञ्जाल फेसबुकमा धेरै सेयर भएको देखिन्छ । जहाँ रोहिंग्या मुस्लिमहरु खुलमखुला हतियारसहित सडकमा देखिएको दाबी गरिएको छ ।

दाबीको प्रभाव

  • सेभेन स्टार फोरकेको भिडिओलाई फेसबुकमा १० हजार पटक रियाक्ट भएको छ भने १ हजार ४ सय पटक कमेन्ट, ९ सय १२ पटक सेयर र ६ लाख २२ हजार पटक हेरिएको छ । 
  • शशांक घिमिरेको एक्स ह्यान्डलबाट यो भिडिओलाई ८ हजारभन्दा धेरैपटक हेरिएको छ ।

सामाजिक सञ्जालमा व्यापक सेयर भएको यो भिडिओबारे तथ्यजाँच गर्नका लागि नेपालफ्याक्टचेकलाई पाठकले अनुरोध गरेका थिए ।

के हो तथ्य ?

यसबारे तथ्यजाँचका लागि सबैभन्दा पहिले भिडिओबाट विभिन्न फ्रेम निकालेर गुगलमा रिभर्स ईमेज सर्च गरेर हेर्‍यौँ । नतिजामा Fazleshaikh Np नाम गरेका फेसबुक प्रयोगकर्ताले एक महिनाअघि सन् २०२६ को जुन २८ को दिन रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ कुडियामा भएको दाहा (ताजिया) पर्वका फरक फरक भिडिओहरु पोस्ट गरेको भेटियो ।

हेर्नुहोस् Fazleshaikh Np ले गरेको पोस्टको स्कृनसट

भिडिओको अर्काइभ लिंक यहाँ छ । उनले त्यसै दिन अरु भिडि‌ओ पनि पोस्ट गरेको देखिन्छ । उनले पोस्ट गरेको भिडिओको पहिलो लिंक यहाँ छ, दोस्रो लिंक यहाँ छ भने तेस्रो लिंक यहाँ छ

त्यसपछि हामीले भाइरल भएको भिडिओ र Fazleshaikh Np ले पोस्ट गरेको भिडिओलाई तुलना गरेर हेर्‍यौँ ।

यसको नतिजामा अस्ताउन लागेको सूर्य, मानिसहरुको भीड, नजिकै रहेको पुल, नजिकैका भौतिक संरचना र भीडमा देखिएका केही व्यक्ति समान देखिएका छन् ।

हेर्नुहोस् तुलनात्मक नतिजा

थप पुष्टिका लागि हामीले रौतहटको राजपुर नगरपालिकाका नगरप्रमुख डा.मो.राजिक आलमलाई सम्पर्क गर्‍यौँ । हामीले उनलाई भिडिओ पठाएर यसको पहिचान गरिदिन अनुरोध गर्‍यौँ । भिडिओ हेरिसकेपछि उनले नेपालफ्याक्टचेकसँग कुरा गर्दै यो भिडिओ मुस्लिम समूदायको पर्व दाहा (ताजिया) को भएको बताए ।

उनले बताए अनुसार सो भिडिओ एक महिनाअघिको राजपुर नगरपालिका वडा नम्बर ६ कुडिया बजारमा भएको दाहा (ताजिया) पर्वको हो । यो पर्वमा लाठी, खुकुरी, तरबार, भाला र गँडास जस्तार परम्परागत हतियार प्रदर्शन गर्ने गरिएको उनले बताए । उनले रौतहटमा पछिल्ला दिनहरुमा कुनै पनि धार्मिक द्वन्द नभएकोसमेत दाबी गरे ।

त्यसपछि हामीले दाहा (ताजिया) पर्वबारे थप खोजी गर्‍यौँ । यसको नतिजामा यो पर्वमा लाठी, खुकुरी, तरबार, भाला, गँडास जस्ता परम्परागत हतियार प्रदर्शन गरेर मनाइने गरिएको भेटियो ।

नागरिक दैनिकले लेखेको समाचार अनुसार यो पर्वमा हतियार प्रदर्शन गर्दै संस्कृति मान्ने गरिन्छ ।

हेर्नुहोस्  नागरिक दैनिकको स्कृनसट

नागरिक दैनिकको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

तथ्यजाँच

दाबी : मुस्लिम समुदायका व्यक्तिहरु हातहतियारसहित खुलेआम फिल्डमा देखिएको दाबीसहितको भिडिओ

दाबीकर्ता : Seven Star 4k र शशांक घिमिरेलगायत सामाजिक सञ्जाल प्रयोगकर्ता

तथ्य : भ्रामक (misleading) । नेपालफ्याक्टचेकले अपनाएको विभिन्न अनुसन्धान विधि अनुसार भाइरल भिडिओ रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ कुडिया बजारमा १ महिनाअघि मुस्लिम समुदायले मनाएको दाहा (ताजिया) पर्वको हो । दाबी गरे अनुसार पछिल्ला घटनाक्रमसँग यो भिडिओको कुनै पनि सम्बन्ध छैन ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add