- सुरज घिमिरे
- साउन १९, २०८३

‘निम्स दाइ’को निधन भन्दै भाइरल फोटो एआई निर्मित, शव उद्धारको भिडियो पनि भ्रामक
उत्तरी पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा रहेको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा प्रख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को निधन भयो। त्यस लगत्तै हिउँमा ढलेको फोटो र शव उद्धार गरिएको भन्दै भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन्। नेपालफ्याक्टचेकको अनुसन्धानबाट भाइरल फोटो एआई प्रविधिबाट बनाइएको र भिडियो पुरानो र अर्कै उद्धार अभियानको भएको भेटिएको छ।
के हो दाबी ?
अनलाइन पोर्टल केबीसी खबर मा“निर्मल पूर्जा : ४३ वर्षमै चुमे चर्चाको शिखर तर अस्ताए शिखर काखमै !” शीर्षकमा प्रकाशित समाचारमा निम्सदाइ हिउँमा ढलेको फोटो राखिएको छ।
हेर्नुहोस्, स्क्रिनसट :

उक्त समाचारको लिङ्क र अर्काइभ लिङ्क
सोही फोटोलाई सुष्मा अधिकारी नामक फेसबुक पेजमा पनि अपलोड गरिएको छ। अगस्ट १ (शनिबार) साँझ ५:२७ मा उक्त फोटोसहित निम्सदाइ लगायतको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ।
हामीले तथ्य जाँच गर्दासम्म उक्त पोस्टमा १५७ रियाक्सन, ४३ कमेन्ट र ३ पटक सेयर भएको छ ।
हेर्नुहोस्, स्क्रिन सट :

उक्त पोस्टको ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क
यस्तै, रञ्जित पौडेल नामक फेसबुक प्रयोगकर्ताले पनि अगस्ट १ मा सोही फोटो सेयर गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
हामीले तथ्य जाँच गर्दासम्म उक्त पोस्टमा २४१ रियाक्सन, २५ कमेन्ट र २ सेयर भएको देखिन्छ।
हेर्नुहोस्, स्क्रिनसट :

उक्त पोस्टको ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क
यसबाहेक अन्य धेरै प्रयोगकर्ताहरूले सोही फोटोलाई सत्य मान्दै पोस्ट गरिरहेका छन्।
त्यस्तै, आइतबार बिहान ८:२३ बजे २ लाख २४ हजार फलोअर्स भएको ‘बेतना दैनिक’ नामक फेसबुक पेजमा एउटा भिडियो अपलोड भयो । उक्त भिडियोमा हिमालमा उद्दार हुँदै गरेको देखिन्छ ।
सो भिडियो ब्रोड पिकमा ज्यान गुमाएका निर्मल पुर्जा ‘निम्स दाइ’को शव भएको दाबी गर्दै क्याप्सनमा लेखिएको छ, “हार्दिक श्रद्धाञ्जली निर्मल पुर्जा ‘निम्स दाइ’ तथा दिवंगतजनहरू”।
हामीले तथ्य जाँच गर्दा उक्त भिडियोमा २ हजार ८ सयभन्दा बढी रियाक्सन, ३८८ कमेन्ट र ३५ पटक सेयर गरिएको तथा ४९ हजारभन्दा बढी पटक हेरिएको थियो ।
हेर्नुहोस्, भिडियोको स्क्रिन रेकर्ड :
उक्त पोस्टको लिङ्क र अर्काइभ लिङ्क
यस्तै, ‘फायर स्क्रिन टिभी’ नामक फेसबुक पेज तथा अन्य प्रयोगकर्ताहरूले पनि सोही भिडियो सेयर गरिरहेका छन् ।
के हो तथ्य ?
तथ्य जाँच गर्ने क्रममा हामीले भाइरल फोटो र भिडियोको छुट्टाछुट्टै प्राविधिक र दृश्य विश्लेषण गर्यौँ।
१. भाइरल फोटोको तथ्य जाँच
हामीले सुरुमा भाइरल फोटोलाई गुगल रिभर्स इमेज सर्च गरेर हेर्यौँ, तर कुनै पनि आधिकारिक सञ्चारमाध्यम वा निकायले सो फोटो प्रयोग गरेको वा प्रकाशित गरेको पाएनौँ ।
त्यसपछि हामीले फोटोको सूक्ष्म अध्ययन गर्यौँ। भाइरल फोटो अस्वाभाविक र कृत्रिम देखिएपछि हामीले त्यसको प्राविधिक जाँचका लागि एआई फोटो पहिचान गर्ने टुल ‘ओपन एआई भेरिफाइ’को प्रयोग गर्यौ ।
यो टुलले फोटोमा रहेका C2PA मेटाडाटा र SynthID (सिन्थआईडी) जस्ता डिजिटल वाटर मार्क वा प्राविधिक सङ्केतहरूको विश्लेषण गर्दछ ।
उक्त टुलको प्राविधिक विश्लेषणले निम्सदाइको निधन भन्दै भाइरल भएको फोटो एआईमार्फत निर्माण गरिएको देखियो।
हेर्नुहोस्, स्क्रिनसट :

२. भाइरल भिडियोको तथ्य जाँच
निम्सदाइको शव उद्धार गरिएको भन्दै भाइरल बनाइएको भिडियोका कि-फ्रेम लिएर गुगल रिभर्स इमेज सर्च गर्दा हामीले ‘माउन्टेन स्टोरीज’ नामक इन्स्टाग्राम अकाउन्टमा गत जुलाई २० मा अपलोड गरिएको भिडियो भेट्यौँ। ‘Death Body Rescue Mission’ क्याप्सनसहित अपलोड गरिएको उक्त भिडियो र अहिले भाइरल बनाइएको भिडियो हुबहु मिल्छ।
हेर्नुहोस्, स्क्रिन रेकर्ड :
थप खोजी गर्दा उक्त भिडियो किर्गिस्तान र ताजिकिस्तानको सिमानामा रहेको ७,१३४ मिटर (२३,४०६ फिट) अग्लो लेनिन पिक (पीक लेनिन)मा सञ्चालन गरिएको एक उद्धार अभियानको भएको खुल्यो । खुम्बु क्लाइम्बिङ सेन्टरका आरोहण/पदयात्रा गाइड तथा १२ पटक सगरमाथा आरोहण गरिसकेका दावा तेन्जिङ शेर्पाले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा गत जुलाई १४ मा सोही भिडियो अपलोड गरेका थिए ।
उनले भिडियोसँगै लेखेका छन् (नेपाली अनुवाद) :
“उद्धार अभियान पूरा । क्याम्प ३ (६,१०० मिटर)देखि क्याम्प १ (४,४०० मिटर)सम्म, प्रत्येक पाइलामा एकाग्रता, सामूहिक कार्य र दृढ संकल्पको आवश्यकता थियो । हामी सबैलाई सुरक्षित रूपमा आधार शिविरमा फिर्ता ल्याउन सक्षम भएकोमा आभारी छौं । हिमालमा सफलता भनेको शिखरमा पुग्नु मात्र होइन– यो सबैलाई सुरक्षित रूपमा फर्काउने कुरा सुनिश्चित गर्नु हो ।”
हेर्नुहोस्, भिडियोको स्क्रिन रेकर्ड :
उक्त भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
हामीले उद्धार अभियान कहाँ गरिएको थियो भन्ने विषयमा थप खोज्यौं । खोज्ने क्रममा पायोनियर एडभेन्चरका आरोहण गाइडसमेत रहेका डन्डु शेर्पाले सोही दिन (गत जुलाई १४ मै) फेसबुकमा एउटा भिडियो राखेका थिए ।
जहाँ उनले लेखेका थिए (नेपालीमा अनुवाद), “आज लेनिन पिकको क्याम्प ३ मा, गाइड बिना नै आरोहणको प्रयास गरेका एक आरोही समस्यामा परे । ‘आई एम ट्रेक्स’को नेपाली गाइड टोली र हाम्रो गाइड टोलीले संयुक्त रूपमा उद्धार कार्य गरी उनलाई सुरक्षित रूपमा तल ल्याए ।
हामी नेपाली जहाँ भए पनि सधैँ सहयोगका लागि तत्पर छौँ ।”
उनले सो भिडियोमा दावा तेन्जिङ शेर्पा लगायतलाई समेत मेन्सन गरेका छन् भने उद्धारको भिडियो पनि दावाले राखेको जस्तै मिल्छ ।
हेर्नुहोस्, स्क्रिन रेकर्ड :
उक्त भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
हामीले यस विषयमा बुझ्नको लागि डन्डु शेर्पालाई सम्पर्क गर्यौ । उनले नेपालफ्याक्टचेकसँग कुरा गर्दै सो भिडियो लेनिन पिक हिमालमा गरिएको पर्वतारोहीको उद्धारको भएको पुष्टि गरे ।
तथ्य जाँच
दाबी : पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा आरोहणका क्रममा ज्यान गुमाएका पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ हिउँमा ढलेको फोटो र शव उद्धार गरिएको भिडियो ।
दाबीकर्ता : केबीसी खबर, सुष्मा अधिकारी, रञ्जित पौडेल, बेतना दैनिक लगायत सामाजिक सञ्जाल प्रयोगकर्ताहरू ।
तथ्य : भ्रामक (Misleading) तथा एआई निर्मित (AI Generated) । भाइरल फोटो एआई प्रविधिबाट बनाइएको हो । साथै, शव उद्धार गरिएको भनिएको भिडियो ब्रोड पिकको नभई केही समयअघि किर्गिस्तान र ताजिकिस्तानको सिमानामा रहेको ७,१३४ मिटर (२३,४०६ फिट) अग्लो लेनिन पिक हिमालमा गरिएको पर्वतारोहीको उद्धारको हो ।