तथ्यजाँच कोशी भ्रामक सूचना

कप्तानगञ्ज घटनापछि मोरङका केही भागमा कर्फ्यू लागेको दाबी भ्रामक


कप्तानगञ्ज घटनापछि मोरङका केही भागमा कर्फ्यू लागेको दाबी भ्रामक

सुनसरीको कप्तानगंज घटनापछि मोरङका केही भागमा पनि कर्फ्यू लागेको दाबीसहितको समाचार कान्तिपुर दैनिकबाट प्रकाशित भएको छ। तर नेपाल फ्याक्टचेकले गरेको तथ्यजाँचका क्रममा मोरङमा कर्फ्यू लागेको दाबी गलत रहेको पुष्टि भएको छ।

के हो दाबी ?

कान्तिपुर दैनिकले ‘सुरक्षा संकटमा आदेश कसको ? संविधानमा प्रदेशको, मैदानमा सीडीओको’ शीर्षकमा २०८३ सालको साउन २१ गते‍को डेटलाईनमा समाचार सामग्री प्रकाशित गरेको छ । प्रकाशित समाचारमा सुनसरीको साम्प्रदायिक विवाद विराटनगरसम्म नआइपुगोस् भनेर अपनाउनुपर्ने आवश्यक सतर्कता तय गर्ने छलफल मोरङका प्रमुख जिल्ला अधिकारीको कार्यालयमा भएको र उनैले मोरङका केही भागमा कर्फ्यु लगाएको दाबी गरिएको छ ।

हेर्नुहोस् कान्तिपुरले लेखेको समाचारको स्कृनसट

यही समाचार ईकान्तिपुर डटकमले पनि प्रकाशित गरेको छ ।

 ईकान्तिपुरको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

दाबीको प्रभाव

कान्तिपुर दैनिक र ईकान्तिपुर डटकममा प्रकाशित समाचारमा गरिएको यो दाबीलाई धेरैले विश्वास गरिरहेका छन् । यसबारे तथ्यजाँचका लागि नेपालफ्याक्टचेकलाई अनुरोध पनि आएको छ ।

के हो तथ्य ?

(१) आधिकारिक वेबसाइट अध्ययन

तथ्यजाँचका क्रममा हामीले सबैभन्दा पहिले जिल्ला प्रशासन कार्यालय मोरङले प्रकाशित गरेका पछिल्ला सूचना तथा प्रेस विज्ञप्तिहरू अध्ययन गर्‍यौँ।

अध्ययनका क्रममा चर्को ध्वनीमा लाउड स्पीकर, माइक, साउन्ड बक्सको प्रयोग नगर्ने र नगराउने सम्बन्धमा साउन १३ ‍गतेको मितिमा सूचना प्रकाशित गरेको भेटियो । सूचनामा मापदण्डविपरीत ध्वनी प्रदूषण गरे गराएमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।

हेर्नुहोस् साउन १३ गतेको सूचना

सूचनाको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

त्यसअघि साउन १२ गते जिल्ला प्रशासन कार्यालय मोरङले डिजेको प्रयोग नगर्ने,नगराउनेबारे सम्बन्धी अर्को सूचना पनि प्रकाशित गरेको भेटियो। उक्त सूचनामा जिल्लाभित्र कुनै पनि मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण लगायतका कार्यक्रम तथा कुनै पनि स्थानमा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोग गर्न निषेध गरिएको उल्लेख छ।

हेर्नुहोस् साउन १२ गतेको सूचना

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

हामीले जिल्ला प्रशासन कार्यालय मोरङका अन्य सूचना तथा विज्ञप्तिहरू पनि अध्ययन गर्‍यौँ। तर मोरङका कुनै पनि क्षेत्रमा कर्फ्यू लगाइएको सम्बन्धी कुनै सूचना वा आदेश फेला परेन। जिल्ला प्रशासन कार्यलबाट प्रकाशित सम्पूर्ण सूचना हेर्नका लागि लिंक यहाँ छ

(२) सम्बन्धित निकायको प्रतिक्रिया

थप पुष्टि गर्न हामीले मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी पवनराज कोइरालासँग सम्पर्क गर्‍यौँ। नेपाल फ्याक्टचेकसँग कुरा गर्दै उनले मोरङका कुनै पनि क्षेत्रमा कर्फ्यू नलगाइएको स्पष्ट पारे।

उनले भने,

“सुनसरीको कप्तानगंज घटनापछि मोरङका कुनै पनि भागमा कर्फ्यू  लगाइएको छैन ।”

तथ्यजाँच 

दाबी : कप्तानगञ्ज घटनापछि मोरङका केही भागमा पनि कर्फ्यू लागेको

दाबीकर्ता : कान्तिपुर दैनिक

तथ्यजाँच : (भ्रामक (Misleading)।  कान्तिपुर दैनिक र इकान्तिपुर डटकममा दाबी गरिएजस्तो सुनसरीको कप्तानगञ्ज घटनापछि मोरङका केही भागमा कर्फ्यू लगाइएको होइन। जिल्ला प्रशासन कार्यालय मोरङले चर्को ध्वनिमा लाउडस्पिकर, माइक, साउन्ड बक्स तथा डिजेको प्रयोगमा प्रतिबन्ध लगाएको थियो,तर मोरङका कुनै पनि क्षेत्रमा कर्फ्यू जारी गरिएको थिएन।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add