तथ्यजाँच गण्डकी जलवायु र वातावरण भ्रामक सूचना

निर्मल पूर्जा परेकाे ब्रोड पिकको हिमपहिरो भन्दै अन्नपूर्णको पुरानो भिडिओ भाइरल


निर्मल पूर्जा परेकाे ब्रोड पिकको हिमपहिरो भन्दै अन्नपूर्णको पुरानो भिडिओ भाइरल

उत्तरी पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा रहेको ‘ब्रोड पिक’ हिमालमा गएको हिमपहिरोपछि निर्मल पुर्जा ‘निम्सदाइ’सहित १० पर्वतारोहीको निधन भएको घटनालाई आधार बनाएर ‘ब्रोड पिकमा गएको डरलाग्दो हिमपहिरो’ भन्दै एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बनाइएको छ। उक्त भिडिओलाई ब्रोड पिकमा भएको सोही हिमपहिरोको दृश्य भएको दाबी गरिएको छ

तर, नेपाल फ्याक्टचेकले गरेको तथ्यजाँचका क्रममा उक्त भिडिओ पाकिस्तानको ब्रोड पिकको नभई नेपालको अन्नपूर्ण हिमालमा केही समयअघि गएको हिमपहिरोको रहेको पुष्टि भएको छ। 

के हो दाबी ?

२४ हजार फलोअर्स रहेका बिपिन अर्याल नामक फेसबुक प्रयोगकर्ताले गत जुलाई ३१ (शुक्रबार) दिउँसो ३:५० बजे एउटा भिडिओ पोस्ट गरेका छन्। भिडिओमा हिमालमा ठूलो हिमपहिरो गएको दृश्य देखिन्छ

भिडिओभित्रै लेखिएको छ:

“यहीँ भयानक हिमपहिरोमा निम्सदाइसहित १० जना आरोही परेका थिए ।”

भिडियोको क्याप्सनमा लेखिएको छ,

“यही हो त्यो डरलाग्दो हिमपहिरो, जसले ब्रड पिकमा आरोहणरत निर्मल पुर्जा (निम्स दाइ) लाई सम्पर्कविहीन बनाएको थियो ।”

हामीले तथ्य जाँच गर्दासम्म यो पोस्टमा ७४२ रियाक्सन, १७ कमेन्ट, ८० पटक सेयर र  १ लाख ५० हजारभन्दा बढी पटक हेरिएको थियो।

हेर्नुहोस्, भिडिओको स्क्रिन रेकर्ड

उक्त भिडिओको ओरिजिनल लिङ्कअर्काइभ लिङ्क

यस्तै, ‘अनलाइन डायरी’ नामक फेसबुक पेजले पनि अगस्ट १ (शनिबार) बिहान ८:२८ बजे सोही भिडिओ पोस्ट गरेको छ।

क्याप्सनमा लेखिएको छ, “एउटा कठोर हिमपहिरो जसले नेपाली युवाहरुका प्रिय निम्स दाई (निर्मल पुर्जा) सहितका पर्वतारोहीहरुलाई लुटेर लग्यो । अनलाइन डायरी परिवारका तर्फबाट हार्दिक श्रद्धाञ्जली ।”

हामीले तथ्यजाँच गर्दासम्म यो पोस्टमा १ हजार ५ सय रियाक्सन, २० कमेन्ट, १३ पटक सेयर र १ लाख १२ हजारभन्दा बढी पटक हेरिएको थियो।

हेर्नुहोस्, भिडिओको स्क्रिन रेकर्ड

उक्त भिडिओको ओरिजिनल लिङ्कअर्काइभ लिङ्क

के हो तथ्य ?

१. सञ्चारमाध्यम तथा आधिकारिक स्रोतको अध्ययन
तथ्यजाँचका क्रममा हामीले सबैभन्दा पहिले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोसम्बन्धी पछिल्ला समाचार तथा आधिकारिक भिडिओहरू खोजी गर्‍यौँ । तर, कुनै पनि आधिकारिक सञ्चारमाध्यम वा पर्वतारोहणसम्बन्धी निकायले यो भिडियो जारी गरेको वा पुष्टि गरेको भेटिएन ।

२. गुगल रिभर्स इमेज सर्च
त्यसपछि हामीले भिडियोबाट केही की-फ्रेम निकालेर गुगलमा रिभर्स इमेज सर्च गर्‍यौँ। सर्चका क्रममा उक्त भिडियो निर्मल पुर्जा स्वयंको आधिकारिक फेसबुक पेज “Nimsdai Purja”  मा २३ डिसेम्बर २०२५ मा पोस्ट भएको भेटियो।

त्यसपछि हामीले निम्सदाइको उक्त पोस्ट अध्ययन गर्‍यौँ। अध्ययनका क्रममा १ मिनेट २२ सेकेन्ड लामो सो भिडिओ पोस्ट गर्दै ‘निम्सदाइ’ ले अन्नपूर्ण हिमाल आरोहणका क्रममा सामना गरेको हिमपहिरो र आफ्नो अनुभवबारे लेखेको पाइयो:

“अन्नपूर्ण आरोहण : नेतृत्वको एक यात्रा

फर्केर हेर्दा, मैले अन्नपूर्ण चढ्नका लागि सामान्य मार्ग प्रयोग नगर्ने निर्णय लिनुको मुख्य कारण यही हिमपहिरो नै थियो । अन्नपूर्ण ‘प्रोजेक्ट पसिबल’को पहिलो हिमाल थियो र यस यात्रामा चुनौती खडा गर्ने यो हिमपहिरो मात्र थिएन । कम्मर छेड्ने हिउँमा गरिएको लामो शिखर यात्रा, उद्धार कार्यहरू र डोरी टाँग्ने जिम्मेवारी मेरो टोलीको काँधमा हुनु—यी सबैको भूमिका थियो… ” (नेपाली अनुवाद)

हेर्नुहोस्, स्क्रिन सट :

उक्त भिडिओ पूरा हेर्न यहाँ क्लिक गर्नुहोस्

‘निम्सदाइ’को आधिकारिक पोस्ट र भिडिओको विवरणबाट भाइरल दृश्य पाकिस्तानको ब्रोड पिकको नभई नेपालको अन्नपूर्ण हिमालमा भएको पुरानो हिमपहिरोको रहेको स्पष्ट हुन्छ।

तथ्य जाँच

दाबी : पाकिस्तानको ब्रोड पिक हिमालमा निर्मल पुर्जा (निम्सदाइ) लगायत १० आरोही सम्पर्कविहीन/दुर्घटनामा परेको भन्दै भाइरल बनाइएको भिडिओ ।

दाबीकर्ता : फेसबुक प्रयोगकर्ता बिपिन अर्याल र ‘अनलाइन डायरी’ नामक फेसबुक पेज ।

तथ्य : भ्रामक (Misleading) । भाइरल भिडिओ पाकिस्तानको ब्रोड पिकको नभई नेपालको अन्नपूर्ण हिमालमा गएको पुरानो हिमपहिरोको दृश्य हो, जसलाई हालैको घटनासँग जोडेर सामाजिक सञ्जालमा भाइरल बनाइएको छ


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add