- टेकमान शाक्य
- साउन २२, २०८३

धरानको खानेपानीको पाइप काटेको भन्दै भाइरल भिडिओ वास्तवमा इलामको सिँचाईको
सुनसरीको धरान उपमहानगरपालिकामा खानेपानीको पाइप काटिएको र स्थानीय नेतृत्वलाई असफल बनाउन यसो गरिएको भन्दै एउटा भिडिओ सामाजिक सञ्जालमा व्यापक भाइरल भइरहेको छ। तर, नेपाल फ्याक्टचेकको अनुसन्धानबाट उक्त भिडिओ धरानको खानेपानीको नभई इलामको माईजोगमाई गाउँपालिका वडा नम्बर ५, सोयाङस्थित खड्के कुलोको सिँचाइ पाइप मर्मत गरिएको पुरानो दृश्य भएको पुष्टि भएको छ।
के हो दाबी ?
पूर्वसचिव भीम उपाध्यायले सन् २०२६ को अगस्ट ६ मा फेसबुकमा तस्बिरसहितको पोस्ट गर्दै धरानको कोकाहा खोलाबाट ल्याइएको HDP पाइप काटिएको दाबी गरेका छन्।

Charee Sampang नाम गरेका फेसबुक प्रयोगकर्ताले सन् २०२६ को अगस्ट ६ को दिन ५३ सेकेन्डको भिडिओ सार्वजनिक गरेका छन् । भिडिओमा धरानको खानेपानीको पाइप काटेर हर्क साम्पाङलाई बिथोल्ने प्रयास भएको दाबी गरिएको छ।
हेर्नुहोस् Charee Sampang ले गरेको पोस्टको स्क्रिनसट

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
यस्तै, ४६ हजार फलोअर्स रहेको आयो गोर्खाली हावा नामक फेसबुक प्रोफाइलबाट सन् २०२६ अगस्ट ७ मा तस्बिरसहितको पोस्ट सार्वजनिक गरिएको छ।
पोस्टमा धरानमा खानेपानीको पाइप काट्ने व्यक्ति श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य रहेको पुष्टि भएको दाबी गरिएको छ। धरानका कार्यवाहक मेयर अइन्द्र बेघालाई असफल बनाउन हर्क साम्पाङले नै यस्तो गर्न लगाएको दाबीसमेत पोस्टमा गरिएको छ।

पोस्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
श्रम संस्कृति पार्टीको समर्थनमा निरन्तर पोस्ट गर्दै आएको ३९ हजार फलोअर्स रहेको Tajina Bista नामक फेसबुक प्रयोगकर्ताले पनि सन् २०२६ को अगस्ट ६ को दिन टेक्समा ‘अचम्मित’ लेखेर २६ सेकेन्डको भिडिओ सार्वजनिक गरेकी छन्। उनले खानेपानीको पाईप काट्नमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेकी छिन् ।
हेर्नुहोस् Tajina Bista ले गरेको पोस्टको स्कृनसट

तेजिना बिस्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
सामाजिक सञ्जालमा भिडिओ निक्कै भाइरल बनेपछि धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाले पनि ४० सेकेन्डको भिडिओ पोस्ट गर्दै व्यक्ति र ठाउँबारे पहिचान गरेर जानकारी गराउनेलाई विशेष धन्यवाद दिइनेछ भनेका छन् ।
हेर्नुहोस् अइन्द्र विक्रमको पोस्टको स्क्रिनसट

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
दाबीको प्रभाव (Impact)
-
भीम उपाध्याय: १,४०० रियाक्सन, २४३ कमेन्ट, ११ सेयर।
-
Charee Sampang: ६६८ रियाक्सन, १४० कमेन्ट, ६५ सेयर।
-
Tajina Bista: ३,३०० रियाक्सन, ३६२ कमेन्ट, ३८१ सेयर।
-
अइन्द्र विक्रम बेघा (कार्यवाहक प्रमुख): ३,००० रियाक्सन, १,२०० कमेन्ट, ६८७ सेयर।
थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत उक्त भिडिओलाई सेयर गरिरहेका छन्। यसबारे तथ्यजाँच गरिदिन नेपाल फ्याक्टचेकलाई अनुरोधसमेत प्राप्त भएको छ।
के हो तथ्य ?
तथ्यजाँचका क्रममा हामीले सामाजिक सञ्जालमा ‘सैलेन्द्र सान्बा लिम्बु’ नामका प्रयोगकर्ताको पोस्ट फेला पार्यौँ, जसमा भिडिओमा देखिने व्यक्ति सोयाङका स्थानीय भएको र पाइपमा हावा थुनिएपछि मर्मतका लागि काटिएको दाबी गरिएको थियो।

पोष्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
उक्त स्थान कहाँ पर्छ भनी खोज्दा यो इलामको माईजोगमाई गाउँपालिका वडा नम्बर ५ मा पर्ने पत्ता लाग्यो। पुष्टि गर्न हामीले माईजोगमाई–५ का वडा सदस्य कमल बहादुर राउतलाई भाइरल भिडिओ पठाएर सम्पर्क गर्यौँ। उनले उक्त दृश्य आफ्नै खेतनजिकैको भएको स्पष्ट पार्दै भने:
‘यो ठाउँ मेरो खेत नजिकैको हो । खड्के कुलोमा पानी पास नभएपछि पाईपभित्र केही अड्किएको छ कि भनेर सरोकार राख्ने सबै पक्षहरु बसेर पाइप काटेर हावा पास गर्ने काम भएको हो । यो खानेपानीको नभइ सिँचाईको पाइप हो ।’
त्यसपछि हामीले खड्के कुलो निर्माण समितिका सचिव मनिकर्ण तामाङलाई सम्पर्क गर्यौँ । उनलाई पनि हामीले भिडिओ पठाएर पहिचान गरिदिन आग्रह गर्यौँ । नेपाल फ्याक्टचेकसँग कुरा गर्दै उनले उक्त भिडिओ अहिलेको नभई तीन–चार महिनाअघिको भएको बताए । उनका अनुसार कुलो निर्माण समिति, जनप्रतिनिधि, सिँचाईलगायत सरोकार व्यक्तिहरूको उपस्थितिमा पाईप काटेर मर्मत गरिएको थियो ।
तथ्यजाँच
दाबी : धरानको खानेपानीको पाईप काटेको
दाबीकर्ता : पूर्वसचिव भीम प्रसाद उपाध्याय, धरानका कार्यकारी प्रमुख अईन्द्र विक्रम बेघा, Charee Sampang र Tajina Bista लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य : भ्रामक (Misleading)। इलामको माईजोगमाई–५ सोयाङस्थित खड्के कुलो सिँचाइ आयोजनाको पाइप मर्मत गर्दाको पुरानो भिडिओलाई धरानको खानेपानीसँग जोडेर भ्रम फैलाइएको हो।