- टेकमान शाक्य
- साउन २५, २०८३

नझुक्किनुस्, तान चलेको देखिने यी भिडिओ हेटौंडा कपडा उद्योगका होइनन्
हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा आएको सन्दर्भ जोडेर सामाजिक सञ्जालमा कपडाका तानहरू चलिरहेका फरक-फरक भिडिओहरू भाइरल भइरहेका छन्। तर, नेपाल फ्याक्टचेकको तथ्यजाँचबाट भाइरल बनाइएका दृश्यहरू हेटौंडा कपडा उद्योगका नभई पुराना तथा असान्दर्भिक रहेको पुष्टि भएको छ।
के हो दाबी ?
सामाजिक सञ्जालमा विभिन्न प्रयोगकर्ता तथा पेजहरूबाट फरक-फरक दृश्य समेटिएका भिडिओ पोस्ट गर्दै हेटौंडा कपडा उद्योग सञ्चालन भएको दाबी गरिएको छ:
दाबी १ : ३५ हजार फलोअर्स रहेको जिन्दगी नाम गरेको फेसबुक पेजबाट सन् २०२६ को अगस्ट ८ को दिन २ मिनेट ५२ सेकेन्डको भिडिओ पोस्ट भएको छ। भिडिओको २६ सेकेन्डसम्ममा एउटा डिजाइनको कपडाको तान चलिरहेको देखिन्छ भने त्यसपछि अर्कै डिजाइनको कपडाको तान देख्न सकिन्छ। भिडिओको क्याप्सनमा बालेन सरकारद्वारा बन्द भएको हेटौंडा कपडाको उत्पादन पुन:सुरु भएको दाबी गरिएको छ।
हेर्नुहोस् भिडिओको स्क्रिनसट

जिन्दगीको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
दाबी २ : Kamal Kuwar नाम गरेका फेसबुक प्रयोगकर्ताले २०२६ अगस्ट १० मा विभिन्न ठाउँका दृश्य जोडेर ५० सेकेन्डको भिडिओ पोस्ट गर्दै सो ठाउँ हेटौंडा कपडा उद्योगको रहेको दाबी गरेका छन्।
Kamal Kuwar को स्क्रिनसट हेर्नुहोस्

भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
दाबी ३ : ‘Rajendra Laxmi uadhyaya’ नामका फेसबुक प्रयोगकर्ताले पोस्ट गरेको अर्को भिडिओमा तानले कपडा बुनिरहेको दृश्य देखाउँदै न्यारेटरले हेटौंडा कपडा उद्योगको उत्पादन भन्दै दाबी गरेका छन्।
हेर्नुहोस् भिडिओको स्क्रिनसट

Rajendra Laxmi uadhyaya को ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
दाबीको प्रभाव
- जिन्दगी : ४ हजार पटक रियाक्ट, ४ सय ५६ पटक कमेन्ट, २ सय ८२ पटक सेयर र ५३ हजार पटक हेरिएको
- Kamal Kuwar : १ हजार पटक रियाक्ट, २१ पटक कमेन्ट र ५८ पटक सेयर र १६ हजार पटक हेरिएको ।
- Rajendra Laxmi uadhyaya : २९ हजार २ सय पटक रियाक्ट, ८ सय २९ पटक कमेन्ट, १ हजार पाँच सय पटक सेयर र ३ लाख ५५ हजार पटक हेरिएको ।
अरु थुप्रै सामाजिक संजाल प्रयोगकर्ताले भिडिओलाई सेयर गरिरहेका छन्। नेपाल फ्याक्टचेकलाई यसबारे तथ्यजाँचका लागि अनुरोध प्राप्त भएको छ ।
के हो तथ्य ?
सार्वजनिक भएका भिडिओमाथि तथ्यजाँचका लागि हामीले भिडिओबाट छुट्टाछुट्टै फ्रेम निकालेर गुगलमा रिभर्स इमेज सर्च गरेर हेर्यौँ। फरक दाबीका फरक तथ्यलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।
दाबी १ को तथ्य
भिडिओको पहिलो फ्रेमलाई रिभर्स इमेज सर्च गर्दा यो दृश्य हेटौंडा कपडा उद्योगको नभई कम्बोडियाको रहेको भेटियो। उक्त भिडिओ क्लिप ‘कम्बोडियाली भाषाको फेसबुक पेज ( កាសែត សៀមរាបថ្មី បណ្តុំព័ត៌មានទាន់ហេតុការណ៍)’ मा सन् २०२६ जुलाई ४ मा नै पोस्ट भइसकेको भेटियो। यसमा भएको २७ सेकेन्डको भिडिओ क्लिप र दाबी १ को भाइरल भिडिओ क्लिप समान देखिन्छ ।
हेर्नुहोस् स्क्रिनसट

भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
दाबी २ को तथ्य
‘Kamal Kuwar’ ले सेयर गरेको ५० सेकेन्डको भिडिओ खोजी गर्दा यो सन् २०२६ फेब्रुअरी २६ मा नै टिकटकमा अपलोड भइसकेको भेटियो। उक्त भिडिओका धेरैजसो क्लिपहरु @luckystore593 नामक टिकटक ह्यान्डलबाट पूर्वप्रकाशित सामग्रीहरू जोडेर बनाइएको पाइएको छ।
हेर्नुहोस् @luckystore593 टिकटक ह्यान्डलमा प्रकाशित भिडिओको स्क्रिनसट

लक्की स्टोरको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
दाबी ३ को तथ्य
‘Rajendra Laxmi uadhyaya’ ले पोस्ट गरेको भिडिओ क्लिप पनि सन् २०२६ मार्च ९ मा नै @luckystore593 नामक टिकटक अकाउन्टबाट सार्वजनिक भइसकेको पुरानो दृश्य हो।

भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
वास्तविक सन्दर्भ र सरकारी सूचना
हेटौंडा कपडा उद्योगबारे वास्तविक स्थिति बुझ्न प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियारको आधिकारिक फेसबुक पोस्ट खोजी गर्दा उनले सन् २०२६ अगस्ट ८ (२०८३ साउन २३ गते शनिबार) मा उद्योगमा सफल परीक्षण उत्पादन सुरु भएको जानकारी गराएको भेटिन्छ।

तथ्यजाँच
दाबी : हेटौंडा कपडा उद्योगको भन्दै भाइरल भिडिओ।
दाबीकर्ता : जिन्दगी, Kamal Kuwar, Rajendra Laxmi uadhyaya लगायत सामाजिक संजाल प्रयोगकर्ता
तथ्य/निष्कर्ष: भ्रामक (Misleading)। हेटौंडा कपडा उद्योगमा सफल परीक्षण उत्पादन सुरु भएको कुरा साँचो हो। तर, सामाजिक सञ्जालमा हेटौंडा उद्योगको भन्दै फैलाइएका तान र मेसिनका भिडिओहरू त्यहाँका नभई परीक्षण उत्पादन सुरु हुनुभन्दा अघि नै (मार्च, जुलाई आदि समयमा) इन्टरनेटमा प्रकाशन भइसकेका असम्बन्धित तथा पुराना क्लिपहरू हुन्।