एआई जेनेरेटेड कोशी जलवायु र वातावरण तथ्यजाँच भ्रामक सूचना

कोशी ब्यारेजमा डल्फिन नाचिरहेको भनिएको भाइरल भिडियो एआईबाट बनेको


कोशी ब्यारेजमा डल्फिन नाचिरहेको भनिएको भाइरल भिडियो एआईबाट बनेको

पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा नेपालको कोशी ब्यारेजमा डल्फिन नाचिरहेको एउटा भिडियो भाइरल बनेको छ। तर, नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचका क्रममा उक्त भिडियो वास्तविक नभई एआई प्रविधि प्रयोग गरी बनाइएको पुष्टि भएको छ।

के हो दाबी ?

१८ हजार फलोअर्स रहेको र भारतबाट सञ्चालित ‘न्युज एक्स-रे’ नामक फेसबुक पेजमा गत जुलाई १९ मा १० सेकेन्डको एउटा भिडियो अपलोड गरिएको थियो। ‘कोशी बराज’ लेखिएको उक्त भिडियोमा सप्तकोशी नदीमा डल्फिन नाचिरहेको दृश्य देखाइएको छ।

नेपालको कोशी ब्यारेजमा डल्फिन देखिएको दाबीसहित अपलोड गरिएको यो भिडियो हामीले तथ्य जाँच गर्दासम्म १६ लाखभन्दा बढी पटक हेरिएको छ। साथै, यसमा ४७ हजार ५ सयभन्दा बढी लाइक, ३ सय ६४ वटा कमेन्ट र ६ सय ३९ पटक सेयर भएको छ।

हेर्नुहोस्, उक्त भिडियोको स्क्रिन रेकर्ड

उक्त भिडियोको लिङ्कअर्काइभ लिङ्क

उक्त १० सेकेन्डको भिडियो छोटो समयमै १६ लाखभन्दा बढी दर्शकमाझ पुगेको छ। सयौँ प्रयोगकर्ताहरूले यसलाई वास्तविक घटना ठानेर प्रतिक्रिया तथा सेयर गरिरहेका छन्, जसले प्राकृतिक/भौगोलिक दृश्यबारे भ्रम फैलाइरहेको देखिन्छ।

के हो तथ्य ?

हामीले तथ्य जाँचका लागि निम्न प्राविधिक तथा अनुसन्धानमूलक प्रक्रियाहरू अपनायौँ:

रिभर्स इमेज सर्च

हामीले भाइरल भिडियोबाट मुख्य ‘की-फ्रेम’ हरू निकालेर गुगल रिभर्स इमेज सर्च गर्‍यौँ।त्यस क्रममा भाइरल भिडियोसँग मिल्दाजुल्दा केही तस्बिरहरू भेटिए।

गत जुलाई १६ मा नेपाल टेलिभिजनको आधिकारिक फेसबुक पेजमा ‘कोशी ब्यारेजस्थित सप्तकोशी नदीमा उर्लिएको बाढीको बहावमा देखिएको डल्फिन’ शीर्षकमा अपलोड गरिएको एउटा तस्बिर फेला पर्‍यो।

हेर्नुहोस्, स्क्रिनसट :

उक्त तस्बिर हेर्न यहाँ क्लिक गर्नुहोस्

तस्बिरहरू भेटिए पनि भाइरल भिडियोसँग हुबहु मिल्दो कुनै पनि वास्तविक भिडियो वा स्वतन्त्र फुटेज फेला पर्न सकेन।

भिडियो विश्लेषण तथा प्राविधिक परीक्षण

भिडियोमा डल्फिनको गतिविधि, भौतिक चाल र पानीको बहाव अप्राकृतिक तथा अस्वाभाविक देखिएपछि हामीले दुईवटा प्राविधिक टुलमार्फत परीक्षण गर्‍यौँ:

  • गुगलको सिन्थ आईडी (SynthID): गुगलको सिन्थ आईडी प्रविधिमार्फत परीक्षण गर्दा उक्त १० सेकेन्डको भिडियोको दृश्य (Visuals) र ध्वनि (Audio) दुवै एआई प्रविधिद्वारा सिर्जित/सम्पादित भएको पुष्टि भयो। यस परीक्षणले नदीको फुटेजमा डल्फिनको भौतिक चाल डिजिटल रूपमा मिसाइएको देखाएको छ।

  • हाइभ मोडेरेसन (Hive Moderation): थप पुष्टिका लागि ‘हाइभ मोडेरेसन’ टुलमार्फत जाँच गर्दा उक्त भिडियो ९९ प्रतिशत एआई-निर्मित (AI-generated) रहेको नतिजा आयो।

 

हेर्नुहोस्, सिन्थ आईडी परीक्षणको नतिजा :

हेर्नुहोस्, हाइभ मोडेरेसनबाट गरिएको जाँचको नतिजा

तथ्य जाँच
दाबी : कोशी ब्यारेजमा डल्फिन नाचिरहेको भाइरल भिडियो ।

दाबीकर्ता : ‘न्युज एक्स-रे’ नामक फेसबुक पेज ।

तथ्य/निष्कर्ष : भ्रामक (Misleading)/एआई निर्मित (AI Generated) । सामाजिक सञ्जालमा भाइरल बनेको यो भिडियो वास्तविक होइन। प्राविधिक विश्लेषण र डिजिटल परीक्षणका आधारमा यो भिडियो एआई प्रविधिको प्रयोग गरी बनाइएको पुष्टि हुन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add