- सुरज घिमिरे
- भदौ १, २०८३

‘थबाङ पहिरो’को वास्तविक भिडिओ भन्दै एआई-निर्मित सामग्री भाइरल
रोल्पाको थबाङ गाउँपालिका-५ कोटलबारामा केही दिनअघि अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा १३ जनाको मृत्यु भयो । सोही घटनालाई आधार बनाएर अहिले सामाजिक सञ्जालमा भीषण पहिरो गएको देखिने एउटा भिडिओ भाइरल बनेको छ । तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचले उक्त भिडिओ एआईनिर्मित भएको पुष्टि गरेको छ ।
के हो दाबी ?
फेसबुकमा १० हजार फलोअर्स भएकी डिला केसी नामक प्रयोगकर्ताले आइतबार बिहान ८:३२ बजे एउटा भिडिओ अपलोड गरिन् । ‘थबाङ गाउँपालिका उवा कोटलबारामा १३ जनाले अकालमै ज्यान गुमाउनु परेको ठाउँ’ शीर्षकसहित अपलोड गरिएको भिडिओमा भीषण पहिरो गएको देखिन्छ ।
उक्त भिडिओभित्रै लेखिएको छ – ‘१३ जनाले अकालमै जीवन गुमाउनुपरेको यो दुःखद घटनाले सबैलाई स्तब्ध बनाएको छ ।’
हामीले तथ्य जाँच गर्दासम्म उक्त भिडिओमा ५५ हजार ५ सयभन्दा बढी रियाक्सन, ६ सय ८८ कमेन्ट र ४ सय ७ पटक शेयर भइसकेको छ भने भिडिओ २५ लाखभन्दा बढी पटक हेरिएको छ ।
हेर्नुहोस्, भिडिओको स्क्रिन रेकर्ड :
उक्त भिडिओको ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क
सोही भिडिओ अगस्ट १४, शुक्रबारका दिन ‘राजकुमार बिसी’ नामक फेसबुक प्रयोगकर्ताले पनि अपलोड गरेका थिए ।
पहिरोमा परी कलिलो उमेरमै ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै अपलोड गरिएको उक्त भिडिओलाई हामीले तथ्य जाँच गर्दासम्म २,३०० भन्दा बढी रियाक्सन, ३८ कमेन्ट र २७ पटक सेयर गरिएको पाइएको छ भने १ लाख ६१ हजारभन्दा बढी पटक हेरिएको छ ।
हेर्नुहोस्, भिडिओको स्क्रिन रेकर्ड :
उक्त भिडिओको ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क
के हो तथ्य ?
तथ्य जाँच गर्ने क्रममा हामीले रोल्पाको थबाङ गाउँपालिकामा हालै भएको घटनाबारे खोज्यौँ।
‘रोल्पा घटना, रोल्पामा पहिरो, थबाङ गाउँपालिका पहिरो’ लगायतका विभिन्न की-वर्ड राखेर खोज्ने क्रममा अन्नपूर्ण पोस्ट्मा ‘पहिरोको उच्च जोखिममा रोल्पाका बस्ती : एक महिनामा कम्तीमा २३ जनाको मृत्यु’ शीर्षकसहित गत साउन ३१ (आइतबार) प्रकाशित समाचार भेट्यौँ ।
अन्नपूर्णमा प्रकाशित समाचार अनुसार गत साउन २८ गते रोल्पाको थबाङ गाउँपालिका- ५ कोटलबारामा गएको पहिरोमा १३ जनाको मृत्यु भएको थियो । पहिरोले बस्ती नै पुरेको थियो । साथै, साउन २९ गते (भोलिपल्टै) पनि सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा एउटै परिवारका तीनजनाको मृत्यु भएको थियो ।
हेर्नुहोस्, समाचारको स्क्रिन सट :

उक्त समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्
यस्तै,इ-कान्तिपुरमा गत साउन ३१ गते प्रकाशित ‘रोल्पामा पहिरोले घर पुरिँदा वृद्धाको मृत्यु, एक सातामा १९ जनाको ज्यान गयो’ शीर्षकको समाचारमा पनि थबाङ गाउँपालिकाको घटनाबारे उल्लेख गरिएको छ।
समाचारअनुसार-‘यसअघि थबाङ गाउँपालिका–५ उवाको कोटलबारामा बुधबार राति पहिरो खस्दा ठूलो मानवीय क्षति भएको थियो । बस्तीमाथिबाट आएको पहिरोले १२ वटा घर पुरिँदा १३ जनाको मृत्यु भएको थियो ।’
हेर्नुहोस्, कान्तिपुरमा प्रकाशित समाचारको स्क्रिन सट :

उक्त समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्
त्यसपछि हामीले थबाङ गाउँपालिकामा गएको पहिरोका वास्तविक दृश्यहरू खोज्यौँ ।सञ्चारमाध्यम तथा आधिकारिक निकायहरूले सार्वजनिक गरेका तस्वीर र भिडिओमा भाइरल भइरहेको भिडिओसँग मिल्दोजुल्दो दृश्य भने भेटिएन।
नेपाली सञ्चारमाध्यममा प्रकाशित तस्वीरहरूमा थबाङमा गएको पहिरोको दृश्य भाइरल भिडिओमा देखाइएको दृश्यभन्दा फरक देखिन्छ।
हेर्नुहोस्, नेपाल न्यूज र बिजमान्डूमा प्रकाशित रोल्पाको थबाङ घटनासँग सम्बन्धित तस्वीर :

यसका साथै हामीले सामाजिक सञ्जालमा भाइरल भिडिओलाई नियालेर हेर्यौँ ।भिडिओमा पहिरो, पानीको बहाव तथा वरपरको भू-दृश्य अस्वाभाविक देखिन्छ। साथै,भाइरल भिडिओको पुछारमा ‘Veo’ लेखिएको देखिन्छ, जुन Google को AI भिडियो निर्माण उपकरणसँग सम्बन्धित संकेत हो ।Google Veo (भिईओ) जसले टेक्स्ट, तस्वीर वा अन्य सामग्रीका आधारमा भिडियो सिर्जना गर्न सक्छ।
हेर्नुहोस्, स्क्रिन सट :

भिडिओको प्राविधिक परीक्षणका लागि हामीले गुगलको SynthID प्रविधि पनि प्रयोग गर्यौँ।परीक्षणमा उक्त भिडिओको दृश्य एआईबाट सिर्जना गरिएको सामग्रीसँग सम्बन्धित रहेको संकेत देखियो।
हेर्नुहोस्, परीक्षणको नतिजा :

तथ्य जाँच
दाबी : रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा १३ जनाको ज्यान लिने पहिरोको वास्तविक दृश्य भन्दै सामाजिक सञ्जालमा भाइरल भिडिओ ।
दाबीकर्ता : डिला केसी नामक फेसबुक प्रयोगकर्ता।
तथ्य : भ्रामक (Misleading) र एआई निर्मित (AI-Generated) । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा १३ जनाको ज्यान जाने गरी गएको पहिरोको वास्तविक दृश्य भन्दै फैलाइएको भिडिओ एआई प्रविधिबाट बनाइएको भ्रामक दृश्य भएको हाम्रो तथ्य जाँचबाट पुष्टि हुन्छ ।