- टेकमान शाक्य
- भदौ २, २०८३

चुच्चे नक्सा हटाएर प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय राजदूतसँग भेटेको दाबी भ्रामक
लिम्पियाधुरासहितको नेपालको चुच्चे नक्सा हटाएर प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय राजदूतसँग भेट गरेको दाबीसहित एउटा भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । तर, नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचका क्रममा प्रधानमन्त्री शाहले भारतीय राजदूतसँग भेट गरेको आधिकारिक तस्बिरमा नेपालको चुच्चे नक्सासहितको निशान छाप नै देखिन्छ । आधिकारिक स्रोतमा उपलब्ध तस्बिर तथा दस्तावेजसँग तुलना गर्दा भाइरल भिडिओमा गरिएको दाबी भ्रामक पुष्टि भएको छ ।
के हो दाबी ?
१४ हजारभन्दा बढी फलोअर्स रहेको Sijan chamlinng नामक फेसबुक अकाउन्टबाट सन् २०२६ को अगस्ट १० को दिन बेलुका ७ बजेर २ मिनेटको समयमा २८ सेकेन्डको एउटा भिडिओ क्लिप पोस्ट गरिएको छ । भिडिओमा चुच्चे नक्सा हटाएर मात्रै प्रधानमन्त्री वालेन्द्र शाह बालेनले भारतीय राजदूतसँग भेट गरेको दाबी गरिएको छ ।
हेर्नुहोस् Sijan chamlinng को स्कृनसट

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
त्यस्तै, Dr. Alisha shrestha नाम गरेका टिकटक प्रयोगकर्ताले पनि चुच्चे नक्सा हटाईएको निशान छापमुनि प्रधानमन्त्री वालेन्द्रले भारतीय राजदूतसँग भेट गरेको दाबी गर्दै सोही आशयको भिडिओ पोस्ट गरिएको भेटियो।
हेर्नुहोस् Dr. Alisha shrestha को स्कृनसट

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
दाबीको प्रभाव
Sijan chamlinng ले गरेको पोस्टलाई १ हजारभन्दा धेरैपटक सेयर गरिएको छ भने २ लाख ३० हजारभन्दा धेरैपटक हेरिएको छ। ५ हजार ५ सयपटक रियाक्ट र २ सय ७० पटक कमेन्ट गरिएको छ ।
Dr. Alisha Shrestha नामक टिकटक अकाउन्टबाट पोस्ट गरिएको उक्त भिडिओमा तथ्य जाँच गर्दासम्म ७६ लाइक, १५ कमेन्ट, ६४ सेयर र ४ वटा सेभ भएको देखिन्छ। भिडिओमा ‘प्रधानमन्त्री र भारतका राजदूतबीच भेटवार्ता भयो’ भन्दै चुच्चे नक्सा हटाइएको दाबी गरिएको छ। पोस्टमा ‘No AI, it’s real’ समेत लेखिएको छ।यसै दाबीसहितको सामग्री अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताबाट समेत फैलिएको भेटिएको छ।यसबारे तथ्यजाँच गरिदिन नेपालफ्याक्टचेकलाई अनुरोध प्राप्त भएको छ ।
के हो तथ्य ?
तथ्य जाँचका क्रममा हामीले सबैभन्दा पहिले प्रधानमन्त्री वलेन्द्र शाहले भारतीय राजदुत नवीन श्रीववास्तवसँग भेट गरेको हो कि होइन भनेर हामीले प्रधानमन्त्री तथा मन्त्रिपरपषद कार्यलयको आधिकारिक फेसबुक पेजमा खोज्यौँ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेजमा सन् २०२६ को अगस्ट १० को दिन दिउँसो १२ बजेर २० मिनेटको समयमा प्रधानमन्त्री वालेन्द्रसँग नेपालका लागि भारतका राजदूत श्रीवास्तवले सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेको तस्बिरसहितको पोस्ट सार्वजनिक भएको भेटियो । पोस्टमा समावेश गरिएको तस्बिरलाई हामीले ईन्भिड वी भेरिफाईको म्याग्निफायर सेक्सनमा राखेर जुम गरेर हेर्यौँ । जहाँ शिष्टाचार भेटको क्रममा खिचिएको तस्बिरमा देखिएको निशान छाप चुच्चे नक्सासहित रहेको भेटियो ।
हेर्नुहोस् स्कृनसट




ओरिजिनल लिंक यहाँ छ
तथ्यजाँच
दाबी : चुच्चे नक्सा हटाएर प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय राजदूतसँग भेटेको
दाबीकर्ता : Sijan chamlinng नाम गरेको फेसबुक पेज, Dr. Alisha shrestha नाम गरेको टिकटक अकाउन्टलगायत सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्यजाँच : भ्रामक (Misleading) : नेपालको संविधान, आधिकारिक सरकारी वेबसाईट, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएका पुराना तस्बिरहरुको मुल्यांकन एवम् प्राविधिक परीक्षण गरेर हेर्दा प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय राजदूतसँगको भेटको क्रममा “चुच्चे नक्सा हटाइएको” दाबी भ्रामक पुष्टि भएको छ ।