तथ्यजाँच भ्रामक सूचना वागमती

भदौ २३ गते मिराज ढुंगानाले आन्दोलन घोषणा गरेको दाबी भ्रामक


भदौ २३ गते मिराज ढुंगानाले आन्दोलन घोषणा गरेको दाबी भ्रामक

जेनजी अभियन्ता मिराज ढुंगानाले भदौ २३ गते आन्दोलनको घोषणा गरेको दाबीसहितका पोस्ट सामाजिक सञ्जालमा भाइरल बनेका छन् । तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचका भदौ २३ गते आन्दोलन घोषणा गरेको दाबी भ्रामक रहेको पुष्टि भएको छ ।

मिराज ढुंगानाले पनि आफू र आफ्नो संगठनले भदौ २३ गतेका लागि कुनै आन्दोलनका कार्यक्रम घोषणा नगरेको नेपालफ्याक्टचेकलाई बताएका छन्।

के हो दाबी ?

१ लाख १६ हजार फलोअर्स रहेको Pokhrel Prem नामक फेसबुक प्रयोगकर्ताले सन् २०२६ को अगस्ट १३ मा दिउँसो १२:१३ बजे जेनजी अभियान्ता मिराज ढुंगानाको तस्बिरसहितको पोस्ट सार्वजनिक गरेका छन् ।

पोस्टमा मिराजले एउटा बोर्ड समातेको देखिन्छ । बोर्डमा भदौ २३ गते अघिल्लो वर्षकोभन्दा डरलाग्दो जेनजी आन्दोलन हुने र यसपाली भने नभाग्ने भनेर मिराजले बोलेको दाबी गरिएको छ ।

हेर्नुहोस् Pokhrel Prem  को स्कृनसट

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

यस्तै Shankar Nepali नाम गरेका फेसबुक प्रयोगकर्ताले रास्वपा सांसद सोविता गौतमको नाममा खोलिएको फेसबुक ग्रुपमा सन् २०२६ को अगस्ट १८ को दिन मिराज ढुंगानाको तस्बिरसहितको अर्को पोस्ट सार्वजनिक गरेका छन् । उक्त पोस्टमा ‘भदौ २३ गते जेनजी आन्दोलन गर्ने’ र ‘बालेनलाई भगाउने’ दाबी गरिएको छ।

हेर्नुहोस् पोस्टको स्कृनसट

ओरिजिनल लिंक यहाँ छ  भने अर्काइभ लिंक यहाँ छ

के हो तथ्य ?

तथ्यजाँचका क्रममा हामीले सबैभन्दा पहिले हामीले भदौ २३ गते आन्दोलनको घोषणा भएको हो कि होइन भन्नेबारे समाचार आधिकारिक संचारमाध्यममा खोजी गर्‍यौँ ।

खोजीका क्रममा संचारमाध्यममा कमन जेनजेड नेपालले भदौ २३ गते सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको समाचार भेटियो।नागरिकन्युज डटकमले ‘जेनजीको घोषणा: भदौ २३ मा सरकारविरुद्द देशव्यापी आन्दोलन गर्ने’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

हेर्नुहोस् नागरिक न्युजको स्कृनसट

नागरिक न्यूजको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

यसबारे थप पुष्टिका लागि हामीले कमन जेनजेड नेपालका अध्यक्ष विकेश साहलाई टेलिफोनमार्फत सम्पर्क गर्‍यौँ ।नेपालफ्याक्टचेकसँगको कुराकानीमा साहले भदौ २३ गतेका लागि आफूहरूले आन्दोलन घोषणा गरेको पुष्टि गरे।

हामीले उनलाई मिराज ढुंगाना यो संगठनसँग सम्बन्धित हो कि होइन भनेर सोध्यौं । उनले मिराज आफ्नो संगठनमा आबद्ध नरहेको बताए ।

त्यसपछि हामीले थप पुष्टिका लागि मिराज ढुंगानालाई नै टेलिफोनमार्फत सम्पर्क गर्‍यौँ । नेपालफ्याक्टचेकसँग कुरा गर्दै उनले आफू र आफ्नो संगठनले भदौ २३ गतेका लागि कुनै पनि आन्दोलनका कार्यक्रम घोषणा नगरेको र कमन जेनजेड नेपालसँग आफू सम्बन्धित पनि नरहेको बताए । उनले अहिले सामाजिक सञ्जालमा आफ्नो नामसहित आएका सबै दाबीहरु भ्रामक भएको मिराजले बताए ।

त्यसपछि हामीले भाइरल पोस्टमा प्रयोग गरिएका तस्वीरहरूको पनि दृश्यगत विश्लेषण गर्‍यौँ।परीक्षणका क्रममा तस्बिर ओपनएआईको सहायताले  सम्पादन गरेको पुष्टि भयो ।

दोस्रो दाबीको तस्बिर पनि ओपन एआईमार्फत सम्पादन गरिएको पुष्टि भयो ।

तथ्यजाँच

दाबी : भदौ २३ गते मिराज ढुंगानाले आन्दोलन घोषणा गरेको ।

दाबीकर्ता : Pokhrel Prem नाम गरेका फेसबुक प्रयोगकर्ता र सांसद सोविता गौतमको नाममा खोलिएको फेसबुक ग्रुपमार्फत Shankar Nepali

तथ्यजाँच : (Misleading) : नेपालफ्याक्टचेकले गरेको प्राविधिक विश्लेषण र सम्बन्धित व्यक्तिसँगको प्रत्यक्ष कुराकानीबाट जेनजी अभियन्ता मिराज ढुंगानाले भदौ २३ गते आन्दोलनको घोषणा गरेको दाबी भ्रामक रहेको पुष्टि हुन्छ ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add