कोशी तथ्यजाँच भ्रामक सूचना

विराटनगर-८ मा ‘मुसलमान वडाध्यक्षले वरपिपल रोप्न नदिने निर्णय गरेको’ दाबी भ्रामक


विराटनगर-८ मा ‘मुसलमान वडाध्यक्षले वरपिपल रोप्न नदिने निर्णय गरेको’ दाबी भ्रामक

विराटनगर महानगरपालिका-८ स्थित बलवाही क्षेत्रमा वरपिपलका रूख रोप्न नपाइने र रोपिएका बोट उखेल्ने निर्णय ‘मुसलमान वडाध्यक्ष’ले गरेको दाबीसहितका पोस्ट तथा भिडिओहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् । तर, नेपालफ्याक्टचेकको तथ्य जाँच अनुसार उक्त निर्णय वडा कार्यालयको आधिकारिक निर्णय होइन । भिडिओमा वडाध्यक्ष भनी दाबी गरिएका व्यक्ति वडाध्यक्ष नभई वडा सदस्य हुन् ।

के हो दाबी ?
सचिन्द यादव नामक फेसबुक प्रयोगकर्ताले बुधबार बिहान ७:२७ बजे एउटा ग्राफिक डिजाइनसहितको पोस्ट गरे । जसमा लेखिएको छ,

“यो मुसलमान बस्ती भएकोले सार्वजनिक जमिन भएपनि यहाँ बरपिपल रोपण मनाही छ विराटनगर ८ मुसलमान वडा अध्यक्षको निर्णय…”

उक्त पोस्टमा वडाध्यक्ष र क्रस चिन्ह लगाइएको बर-पिपलको फोटोसँगै वडा कार्यालयको सूचना जस्तो देखिने ब्यानर राखिएको छ, जसमा “विराटनगरको मुस्लिम वडाध्यक्षको निर्णय :…पिपल बर रोप्न हुँदैन’ भनिएको छ ।

हामीले तथ्य जाँच गर्दासम्म उक्त पोस्टमा १,२०० भन्दा बढी रियाक्सन, ४२८ कमेन्ट र १५० पटक सेयर भइसकेको छ ।

हेर्नुहोस्, उक्त पोस्टको स्क्रिन सट  :

उक्त पोस्टको लिङ्कअर्काइभ लिङ्क

यस्तै, फेसबुकमा १९ हजार फलोअर्स रहेको ‘सनातन चौतारी’ नामक पेजमा फोटोसहित एउटा सामग्री पोस्ट भएको छ।उक्त पोस्टमा लेखिएको छ, ‘मुस्लिम बस्तिमा वर पिपल सार्न नपाइने, हुर्केको काट्नुपर्ने। विराटनगर वडा नं. ८, बलवाहि क्षेत्रमा वर र पिपल रोप्न नपाइने वडाअध्यक्षको अगुवाईमा गरिएको वडा स्तरीय निर्णय ।’ 

तथ्य जाँच गर्दासम्म उक्त फेसबुक पोस्टमा ९ सय ८० रियाक्सन, ५ सय १७ कमेन्ट र दुई सय १४ पटक शेयर गरिएको छ ।

हेर्नुहोस्, उक्त पोस्टको स्क्रिन सट :

उक्त पोस्टको ओरिजिनल लिङ्कअर्काइभ लिङ्क

त्यस्तै, ४ लाख ३२ हजार फलोअर्स रहेका पूर्वसचिव भीमप्रसाद उपाध्यायले पनि सोही दाबी दोहोर्‍याउँदै लेखेका छन्,

‘मुसलमान बस्ती भएका कारण विराटनगर महानगर–८ बलवाही क्षेत्रमा पिपल, बरको रूख रोप्न नपाइने र रोपेका बोटहरू उखाल्ने निर्णय मुसलमान वडाध्यक्षले गरेका छन् ।’

तथ्य जाँच गर्दासम्म उक्त पोस्टमा  तीन हजार ३ सय लाइक, एक हजार तीन सय कमेन्ट र तीन सय ५६ पटक शेयर गरिएको छ ।

हेर्नुहोस्, उक्त पोस्टको स्क्रिन सट :

उक्त पोस्टको ओरिजिनल लिङ्कअर्काइभ लिङ्क

यसैगरी, एक्समा १२ हजार ५ सयभन्दा बढी फलोअर्स भएका प्रयोगकर्ता ‘सुमन’ ले पनि सोही विषयको २ मिनेट २१ सेकेन्डको भिडिओ पोस्ट गरेका छन् । भिडिओमा स्थानीय र अभियन्ताहरूले बिरुवा उखाल्ने निर्णयप्रति असन्तुष्टि जनाएको र एक महिलाले बिरुवा अन्यत्र सार्न भनेको सुनिन्छ ।

हामीले तथ्य जाँच गर्दै गर्दासम्म उक्त भिडिओमा ३१ लाइक, २३ रि-पोस्ट र ९ पटक कमेन्ट गरिएको छ भने ६ हजार तीन सय बढी पटक हेरिएको छ ।

हेर्नुहोस्, भिडिओको स्क्रिन रेकर्ड :

उक्त भिडिओको लिङ्कअर्काइभ लिङ्क

सोही भिडिओलाई अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता तथा फेसबुक पेजहरूमा पनि अपलोड गरिएको छ ।

के हो तथ्य ?

तथ्य जाँचका क्रममा हामीले भाइरल दाबी तथा भिडिओबारे ‘पिपलका रूख रोप्न नपाइने’, ‘रोपिएका पिपलका बोट उखेल्ने’ लगायतका किवर्ड प्रयोग गरी खोज्यौँ।

खोजीका क्रममा ‘सङ्कल्प हरित विराटनगर’ अभियानका नेतृत्वकर्ता एवं हरित अभियन्ता पारुल क्षेत्रीले आफ्नो फेसबुक एकाउन्टमा अपलोड गरेको २ मिनेट २१ सेकेन्डको मूल भिडिओ फेला पर्‍यो। उनले विराटनगर वडा नं. ८ को सार्वजनिक जग्गामा पिपल रोप्न र संरक्षण गर्न पाउनुपर्ने माग राख्दै उक्त भिडिओ पोस्ट गरेका थिए।

सो क्रममा हामीले ‘सङ्कल्प हरित विराटनगर’ अभियानका नेतृत्वकर्ता एवं हरित अभियन्ता पारुल क्षेत्रीले मंगलबार बिहान ७ः१५ मा सोही भिडिओ अपलोड गरेका छन्, जुन अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उनले भिडिओ अपलोड गर्दै लेखेका छन्,
“विराटनगर वडा नम्बर ८ ले आफ्नो धारणा प्रस्ट पारोस् ।
के बलवाही एरियामा सार्वजनिक जग्गामा पनि बर पिपल रोप्न नपाइने हो ?
रोपेको बर पिपललाई उखाल्दिने, काट्दिने हो ?
त्यो पिपललाई कसले काट्दैछ त्यसको छानबिन गर्छ कि गर्दैन ?
पिपल काट्नेलाई कारबाही गर्छ कि गर्दैन ?
त्यो पीपलको संरक्षण गर्छ कि गर्दैन ?”

हेर्नुहोस्, स्क्रिन सट :

उक्त पोस्ट हेर्न यहाँ क्लिक गर्नुहोस्  

तथ्य जाँच क्रममा ‘नमो अनलाइन’ नामक अनलाइनमा भाद्र १ मंगलबार प्रकाशित ‘विराटनगरमा पिपल रोप्ने विषयमा विवाद, अभियन्ता भन्छन् रुखको कुनै जात र धर्म हुँदैन’ शीर्षकको समाचार भेट्यौं । उक्त समाचारअनुसार विराटनगर महानगरपालिका–८ बलवाही क्षेत्रमा सार्वजनिक स्थानमा रोपिएको पिपलको बिरुवा हटाउने विषयलाई लिएर स्थानीयबीच मतभेद देखिएको हो।

उक्त समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्

घटनाको थप पुष्टि गर्न हामीले हरित अभियन्ता पारुल क्षेत्रीसँग सम्पर्क गर्‍यौँ। उनले नेपालफ्याक्टचेकसँग कुरा गर्दै यो निर्णय वडाध्यक्षले नगरेको स्पष्ट पारे। उनका अनुसार स्थानीय स्तरमा भएको छलफलमा वडा सदस्यको उपस्थिति रहेको भए पनि वडा कार्यालय वा वडाध्यक्षबाट यस्तो कुनै आधिकारिक निर्णय भएको छैन।

त्यसपछि हामीले भिडिओमा देखिएका व्यक्ति वडाध्यक्ष हुन् कि होइनन् भनेर खोज्यौँ। विराटनगर महानगरपालिकाको वेबसाइटमा उल्लेख भएअनुसार वडाध्यक्ष राम पोखरेल हुन् ।सामाजिक सञ्जालमा वडाध्यक्षका रूपमा दाबी गरिएका व्यक्ति वडाध्यक्ष नभई विराटनगर महानगरपालिका–८ का वडा सदस्य म.अब्बास मियाँ हुन् ।

हेर्नुहोस्, वडाध्यक्षको विवरण खुल्ने स्क्रिनसट

हामीले यस विषयमा थप पुष्टि गर्न विराटनगर महानगरपालिका- ८ का वडाध्यक्ष राम पोखरेललाई सम्पर्क गर्‍यौ । उनले नेपालफ्याक्टचेकसँग कुराकानी गर्दै विराटनगर महानगरपालिका- ८ स्थित बलवाही क्षेत्रमा बर-पिपलका रूख रोप्न नपाइने र रोपेका बोटहरू उखाल्ने निर्णय भएको कुरा गलत भएको बताए ।

तथ्य जाँच
दाबी : विराटनगर महानगरपालिका–८ बलवाहीका मुसलमान वडाध्यक्षले त्यस क्षेत्रमा बर-पिपल रोप्न नपाइने र रोपेका बोट उखाल्ने वडास्तरीय निर्णय गरेको ।

दाबीकर्ता : सनातन चौतारी, भीमप्रसाद उपाध्याय (फेसबुक प्रयोगकर्ता) र एक्स प्रयोगकर्ता ‘सुमन’ लगायत।

तथ्य/निष्कर्ष : भ्रामक (Misleading) । विराटनगर–८ मा वर–पिपल रोप्न नपाइने कुनै आधिकारिक वडास्तरीय निर्णय भएको छैन। भिडिओमा ‘वडाध्यक्ष’ भनी प्रस्तुत गरिएका व्यक्ति वडा सदस्य म. अब्बास मियाँ हुन् भने विराटनगर महानगरपालिका–८ का निर्वाचित वडाध्यक्ष राम पोखरेल हुन्। स्थानीय स्तरको विवादमा वडा सदस्यको उपस्थिति रहेको विषयलाई ‘मुसलमान वडाध्यक्षको वडास्तरीय निर्णय’ भन्दै सन्दर्भ तोडमोड गरी भ्रम फैलाइएको हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add