तथ्यजाँच भ्रामक सूचना लुम्बिनी

बुद्धका मूर्ति तोडफोड गरिएको भन्दै भाइरल फोटोहरू अहिलेको होइन, २०७६ सालको पुरानो


बुद्धका मूर्ति तोडफोड गरिएको भन्दै भाइरल फोटोहरू अहिलेको होइन, २०७६ सालको पुरानो

पछिल्लो समय सामाजिक सञ्जालमा रुपन्देहीको बुटवल–बेलहिया सडकखण्डअन्तर्गत तिलोत्तमा नगरपालिकाको मङ्गलापुरलगायतका स्थानमा राखिएका बुद्धका मूर्तिहरू हालै तोडफोड भएको दाबीसहितका तस्बिरहरू भाइरल बनेका छन्

तर, नेपालफ्याक्टचेकले गरेको तथ्य जाँच अनुसार ती तस्बिरहरू हालैका नभई वि.सं. २०७६ साउन महिनाका पुराना तस्बिरहरू हुन्

के हो दाबी ?
१ लाख ६७ हजार फलोअर्स रहेको ‘रुटिन अफ तामाङ’ नामक फेसबुक पेजबाट गत अगस्ट १४ को बिहान ८:२३ बजे एउटा तस्बिर पोस्ट भएको छ। तस्बिरमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मङ्गलापुरस्थित सडकको बीच भागमा रहेको गौतम बुद्धको मूर्ति तोडफोड भएको देखिन्छ ।

उक्त पोस्टको क्याप्सनमा लेखिएको छ

“तिलोत्तमा नगरपालिका मङ्गलापुर सडकको बीचमा गार्डेनमा रहेको गौतम बुद्धको मूर्ति तोडफोड गरिएको देखिन्छ र खुलेआम यसरी बीच बाटोमा तोडफोड गर्दा प्रशासनहरू के हेर्दै बसिरहनु भएको छ ? कृपया सम्बन्धित निकायको ध्यानाकर्षण गराइयोस् । धन्यवाद ।”

हामीले तथ्य जाँच गर्दासम्म उक्त पोस्टमा ८ सय ८ रियाक्सन, १ सय ५४ कमेन्ट र ३९ पटक सेयर गरिएको छ ।

हेर्नुहोस्, पोस्टको स्कृनसट :

ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क

सोही पेजमा अगस्ट १३ को बिहान ७:५५ बजे बुद्धको मूर्ति तोडफोडकै अर्को तस्बिर पोस्ट गर्दै लेखिएको छ,

“लुम्बिनीदेखि २७ कि.मि. उत्तर-पूर्व, तिलोत्तमा नगरपालिका आइल्यान्ड बगैँचामा रहेको बुद्ध मूर्तिलाई अज्ञात समूहले गरेको तोडफोडप्रति निन्दनीय घोर आपत्ति व्यक्त गर्दै यस्तो संवेदनशील घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । धन्यवाद ।”

तथ्य जाँच गर्दासम्म उक्त पोस्टमा ३ हजार ७ सय रियाक्सन, ७ सय ३० कमेन्ट र १ सय ८१ पटक सेयर गरिएको छ ।

हेर्नुहोस्, पोस्टको स्क्रिनसट :

ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क

यसैगरी, चन्दनबहादुर खड्का नामका फेसबुक प्रयोगकर्ताले पनि अगस्ट १५ को बेलुका ६:५३ बजे सोही तस्बिर पोस्ट गर्दै लेखेका छन्, “किन कसको के बिगारेका थिए ? उत्तर पाऊँ”

हामीले तथ्य जाँच गर्दै गर्दा उक्त पोस्टमा ४ सय ३५ रियाक्सन, १ सय ७० कमेन्ट र ५१ सेयर भइसकेको छ ।

हेर्नुहोस्, स्क्रिनसट :

ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क

त्यस्तै, फेसबुकमा १३ हजार फलोअर्स भएका दावा ह्योल्स नामक प्रयोगकर्ताले अगस्ट १२ र १३ मा छुट्टाछुट्टै फोटो पोस्ट गर्दै ती तस्बिरहरू आफूले नै खिचेको दाबी गरेका छन् ।

हेर्नुहोस्, स्क्रिनसट:

ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क

हेर्नुहोस्, स्क्रिनसट

ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क

अन्य धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि यही दाबीसहित तस्बिर सेयर गरिरहेका छन् ।

के हो तथ्य ?

तथ्य जाँच क्रममा हामीले सामाजिक सञ्जालमा भाइरल भएका तस्बिरहरूलाई गुगलमा रिभर्स इमेज सर्च गरेर हेर्‍यौ। सो क्रममा हामीले ७ वर्षअघि (वि.सं. २०७६ ) मा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरू भेट्यौँ ।

ती समाचारमा प्रयोग भएका तस्बिर र अहिले भाइरल बनाइएका तस्बिरहरू हुबहु मिल्छन् ।

समाचारहरूका अनुसार, २०७६ साउन १ गते राति बुटवल-बेलहिया ६ लेन सडक खण्डको तिलोत्तमा क्षेत्रमा राखिएका ५ वटा बुद्धका मूर्तिहरू अज्ञात समूहद्वारा तोडफोड गरिएका थिए ।

हेर्नुहोस्, अन्नपूर्ण पोस्टमा प्रकाशित समाचारको स्क्रिनसट :

उक्त समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्

हेर्नुहोस्, अनलाइन खबरमा प्रकाशित समाचारको स्क्रिनसट : 

उक्त समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्

हेर्नुहोस्, उज्यालो अनलाइनमा प्रकाशित समाचारको स्क्रिनसट :

उक्त समाचार पढ्न यहाँ क्लिक गर्नुहोस् 

मङ्गलापुरको भाइरल तस्बिरबारे थप खोजी गर्दा सन् २०२५ जुलाई ३० मा ‘भुटानीज न्युज एन्ड फोरम’ नामक फेसबुक ग्रुपमा ‘जुर मेयी’ नामक प्रयोगकर्ताले तस्बिर अपलोड गरेको भेटियो। उक्त तस्बिर हालैको नभएको पुष्टि हुन्छ।

हेर्नुहोस्, स्क्रिनसट :

उक्त पोस्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

थप पुष्टि गर्न हामीले रुपन्देहीको बुटवलमा कार्यरत पत्रकार वसन्त आचार्य र तिलोत्तमाकी पत्रकार हरिकला पाण्डे (कमला) सँग सम्पर्क गर्‍यौ । उनीहरूले भाइरल तस्बिर हालको नभई २०७६ साउनमा तिलोत्तमाका विभिन्न स्थानमा भएका मूर्ति तोडफोडकै पुराना तस्बिर भएको बताए।

तथ्य जाँच
दाबी : रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मङ्गलापुरसहितका स्थानमा हालै बुद्धका मूर्तिहरू तोडफोड गरिएको ।

दाबीकर्ता : रुटिङ अफ तामाङ (फेसबुक पेज), चन्दनबहादुर खड्का, दावा ह्योल्सलगायत।

तथ्य : भ्रामक (Misleading) । सामाजिक सञ्जालमा भाइरल भएका तस्बिरहरू हालैका होइनन्। वि.सं. २०७६ साउन १ गते तिलोत्तमामा भएको बुद्ध मूर्ति तोडफोडको पुरानो घटनाका तस्बिरलाई नयाँ घटनाको रूपमा प्रस्तुत गरी भ्रम फैलाइएको हो


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add