- सुरज घिमिरे
- भदौ ११, २०८३

भोटेकोशी बाढीसँग जोडेर भाइरल बनाइएको हिमपहिरोको भिडिओ भ्रामक
रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीको सन्दर्भ जोड्दै भयानक हिमपहिरोको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। ‘चीनतर्फबाट रसुवाको भोटेकोशीमा यसरी बाढी सुरु भएको’ भन्दै फैलाइएको उक्त भिडिओ नेपालफ्याक्टचेकको तथ्य जाँचमा नर्वेको स्वालबार्ड र अमेरिकाको अलास्कामा खिचिएको हिमनदी पग्लिएको पुरानो दृश्य भएको पुष्टि भएको छ।
के हो दाबी ?
३० हजार फलोअर्स रहेको ‘एआर डट कृष्ण दर्शन’ नामक फेसबुक पेजबाट बुधबार राति ९:०४ बजे हिमपहिरोको भयानक दृश्य देखिने एउटा भिडिओ पोस्ट गरियो । रसुवाको भोटेकोशी बाढीसँग जोड्दै क्याप्सनमा लेखिएको थियो – ‘बाढी आउनुपूर्व देखिएको भिडियो’ । यद्यपि, पछि क्याप्सन परिवर्तन गरी रोइरहेको इमोजी मात्र राखिएको छ ।
हामीले तथ्य जाँच गर्दासम्म उक्त भिडिओमा १७७ रियाक्सन, २२१ पटक सेयर र ५० हजारभन्दा बढी पटक हेरिएको छ ।
हेर्नुहोस्, भिडिओको स्क्रिन रेकर्ड :
उक्त भिडिओको लिङ्क र अर्काइभ लिङ्क
यसैगरी, ‘ज्ञान दर्पण’ नामक फेसबुक एकाउन्ट (ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क), मिथिला किङ नामक टिकटक एकाउन्ट (ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क), नवराज दाहाल नामक फेसबुक प्रयोगकर्ता (ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क) र ‘फ्याक्ट न्युज’ नामक पेज (ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क) मा पनि सोही भिडिओ अपलोड गरेका छन् । ती अकाउन्ट तथा पेजहरूमा भिडिओसँगै लेखिएको छ – ‘भोटेकोशी बाढीको सुरुवात यसरी भएको रहेछ चीनको साइडबाट ।’
हेर्नुहोस्, स्क्रिन सटहरू :




के हो तथ्य ?
तथ्य जाँचका क्रममा हामीले सुरुमा रसुवास्थित भोटेकोशी नदीमा आएको बाढी र त्यसले पुर्याएको क्षतिबारे प्रकाशित आधिकारिक समाचारहरू अध्ययन गर्यौँ। तर, भाइरल भिडिओसँग मिल्ने कुनै पनि दृश्य वा समाचार फेला परेन।
त्यसपछि भाइरल भिडिओबाट केही ‘की-फ्रेम’ (स्क्रिनसट) निकालेर गुगल रिभर्स इमेज सर्च गर्यौँ ।
सर्चका क्रममा, कन्जर्भेसन तथा वाइल्डलाइफ फिल्ममेकर रिचर्ड साइडीले १७ अक्टोबर २०२१ मा आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट गरेको मूल भिडिओ भेटियो। उक्त भिडिओ अहिले भाइरल भइरहेको भिडिओसँग हुबहु मिल्छ।
उक्त भिडिओ पोस्ट गर्दै रिचर्डले लेखेका छन्, “A three-minute montage of glaciers calving into the sea, filmed in Svalbard and Alaska. Glacier calving is a natural event, and can be really spectacular. However the rate of which it is now happening is unprecedented due to human-induced climate change.”
(नेपाली अनुवाद : ‘स्वालबार्ड (नर्वे)’ र अलास्का (अमेरिका)मा समुद्रमा हिमनदी पग्लिएर खसेका दृश्यहरूको तीन मिनेटको सङ्कलन । ग्लेसियर पग्लनु प्राकृतिक प्रक्रिया हो र यो भव्य देखिन्छ । तर, मानव सिर्जित जलवायु परिवर्तनका कारण यो दर अभूतपूर्व रूपमा बढिरहेको छ ।’
हेर्नुहोस्, स्क्रिन सट :

उक्त भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्
यसबाट भाइरल भिडिओ चीनको नभएको र यसको रसुवाको भोटेकोशी बाढीसँग कुनै सम्बन्ध नरहेको पुष्टि हुन्छ। यो सन् २०२१ भन्दा अघि अलास्का र स्वालबार्डमा खिचिएको भिडिओहरूको सङ्कलन हो ।
तथ्य जाँच
दाबी : रसुवाको भोटेकोशी बाढीको सुरुवात यसरी भएको रहेछ चीनको साइडबाट’ भन्दै भाइरल बनाइएको हिमपहिरोको भिडिओ ।
दाबीकर्ता : ‘एआर डट कृष्ण दर्शन’ पेज, ‘ज्ञान दर्पण’ एकाउन्ट, नवराज दाहाल, मिथिला किङ नामक टिकटक एकाउन्ट र ‘फ्याक्ट न्युज’ पेज ।
तथ्य/निश्कर्ष : भ्रामक (Misleading) । सामाजिक सञ्जालमा भाइरल भिडिओ नर्वेको स्वालबार्ड र अमेरिकाको अलास्कामा खिचिएको पुरानो दृश्यहरूको सङ्कलन हो। यसको रसुवाको भोटेकोशी नदीमा आएको बाढीसँग कुनै सम्बन्ध छैन।