तथ्यजाँच एआई जेनेरेटेड मिथ्या सूचना वागमती

रसुवामा बाढीको विनाश भनी पहिले र अहिले तुलना गरिएको भाइरल तस्बिर एआई निर्मित


रसुवामा बाढीको विनाश भनी पहिले र अहिले तुलना गरिएको भाइरल तस्बिर एआई निर्मित

रसुवामा बाढी आउनुभन्दा पहिले र अहिलेको भन्दै तुलना गरिएको एउटा तस्बिर भाइरल बनिरहेको छ । तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचको क्रममा ओपनएआईमार्फत दुईवटा तस्बिर जेनरेटेड गरेर सो तस्बिरलाई जोडेर भ्रम फैलाएको पुष्टि भएको छ ।

के हो दाबी ?

@media170315  ह्यान्डल रहेको S 99 MEDIA नाम गरेका एक्स प्रयोगकर्ताले सन् २०२६ को अगस्ट २७ को दिन १५ सेकेन्डको भिडिओ क्लिप सार्वजनिक गरेका छन् । भिडिओमा नेपालमा भर्खरै आएको बाढीको विपत्तिको रहेको दाबी गरिएको छ । भिडिओलाई १ लाख ५४ हजारभन्दा बढि पटक हेरिएको छ ।

हेर्नुहोस् S 99 MEDIA नाम गरेका एक्स प्रयोगकर्ताको स्क्रिनसट

‌ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

ट्राभल कम्पनी protrekadventure ले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सन् २०२६ को अगस्ट २६ को दिन बाढी आउनुभन्दा पहिलेको र बाढी आएपछिको दाबी गर्दै तुलनात्मक तस्बिर सार्वजनिक गरेको छ । तस्बिर रसुवामा आएको बाढीको भएको दाबी गरिएको छ । तस्बिरलाई २ हजार ५ सय पटक रियाक्ट गरिएको छ भने ६८ पटक कमेन्ट र ९० पटक रिपोस्ट गरिएको छ ।

पोस्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

अरु थुप्रै सामाजिक संजाल प्रयोगकर्ताले बाढी आउनुअघि र पछिको दाबी गर्दै यहि तस्बिरसहित पोस्ट गरेर आ-आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् । यसबारे तथ्यजाँच गरिदिन नेपाल फ्याक्टचेकलाई पाठकबाट अनुरोधसमेत आएको छ ।

के हो तथ्य ?

यो दाबीको तथ्यजाँचका लागि सबैभन्दा पहिले हामीले तस्बिरलाई गुगलमा रिभर्स ईमेज सर्च गरेर खोजी गर्‍यौँ । तर यो विधिबाट तथ्यमा पुग्न सकेनौँ । अर्थात यो तस्बिर रसुवा क्षेत्रको हो भनेर पुष्टि हुने कुनै पनि आधार भेटिएन । आधिकारिक संचारमाध्यमले समेत यो तस्बिरलाई प्रयोग गरेर समाचार प्रकाशित गरेको भेटिएन ।

त्यसपछि हामीले तस्बिर एआई जेनेरेटेड हो कि होइन भनेर जाँच गर्ने निधो गर्‍यौँ । त्यसका लागि BeforeAfter लेखिएको दुई तस्बिरलाई अलग बनाएर छुट्टाछुट्टै जाँच गर्‍यौँ । ओपन एआईको टुलमार्फत जाँच गरेर हेर्दा दुबै तस्बिर एआई जनेरेटेड भएको पुष्टि भयो ।

हेर्नुहोस् पहिलो तस्बिरबारे ओपन एआई टुलले दिएको नतिजाको स्क्रिनसट

हेर्नुहोस् दोस्रो तस्बिरबारे ओपन एआई टुलले दिएको नतिजाको स्क्रिनसट

त्यसपछि हामीले बाढीपछि रसुवाको पछिल्लो अवस्थाबारे दृश्य सामग्रीको खोजी गर्‍यौँ । नतिजामा अनलाइनखबर डटकमले तस्बिरहरु सार्वजनिक गरेको भेटियो । अनलाईनखबरले सार्वजनिक गरेको फोटोसँग भाइरल बनिरहेको तस्बिरमा देखिएको भुगोल एउटै निश्चित गर्न सकिँदैन ।

हेर्नुहोस् अनलाइनखबर डटकमको स्क्रिनसट

अनलाईनखबरको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

तथ्यजाँच

दाबी : रसुवा बजारमा बाढी आउनुभन्दा पहिलेको र अहिलेको भन्दै भाइरल भएको तस्बिर

दाबीकर्ता : S 99 MEDIA नाम गरेका एक्स प्रयोगकर्ता र इन्स्टाग्राम अकाउन्टमा protrekadventure नाम गरेका ट्राभल कम्पनीलगायत सामाजिक सञ्जाल प्रयोगकर्ता

तथ्य : मिथ्या (Mis/Disinformation): रसुवा बजारमा बाढी आउनुभन्दा पहिले र अहिलेको भन्दै भाइरल बनेको तस्बिर एआई जेनेरेटेड भएको नेपालफ्याक्टचेकले गरेको अनुसन्धानको क्रममा पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add