तथ्यजाँच भ्रामक सूचना वागमती

रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बी’ मा फसेकाहरुको उद्दार प्रयास भएको दाबी भ्रामक


रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बी’ मा फसेकाहरुको उद्दार प्रयास भएको दाबी भ्रामक

केही सञ्चारमाध्यम र प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस विज्ञसमेतले रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजनाभित्र फसेका मानिसहरूको सकुशल उद्दार प्रयास भएको दाबी सार्वजनिक गरेका छन् । तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचको क्रममा उद्दार प्रयास माथिल्लो त्रिशूली ३ ‘बी’ मा नभई माथिल्लो त्रिशूली ३ ‘ए’ मा भएको पुष्टि भएको छ ।

के हो दाबी ?

अनलाइनखबरले २०८३ साल भदौ १२ गतेको डेटलाईनमा बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको दाबीसहितको समाचार प्रकाशित गरेको छ ।

प्रधानमन्त्री कार्यालयले ६ जना सम्मिलित चिनियाँ विज्ञ टोली उद्धारमा खटिएको जानकारी गराएको समाचारमा उल्लेख गरिएको छ ।  अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारको अनुमतिमा चिनियाँ टोली परिचालन भएको प्रधानमन्त्री कार्यालयले जनाएको भनिएको छ ।

हेर्नुहोस् अनलाइनखबरको स्क्रिनसट

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

यही दाबीसहितको समाचार नयाँपत्रिका दैनिकको डिजिटल संस्करण नयाँपत्रिकाडेली डटकमले पनि लेखेको छ । भदौ १३ गते प्रकाशित समाचारमा माथिल्लो त्रिशूली ३ बी सुरुङमा उद्दार प्रयास भइरहेको छ र उद्दारका लागि ६ सदस्यीय विज्ञ टोली परिचालन गरिएको उल्लेख गरिएको छ ।

नयाँपत्रिकाको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस विज्ञ दीपा दाहालले पनि माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको सुरुङभित्र फसेका मानिसहरुको उद्दारका लागि विशेष संयन्त्र परिचालन गर्दै निरन्त्र प्रयास जारी राखेको भनेर फेसबुक स्ट्याटस सार्वजनिक गरेकी छिन् ।

उनले त्यसका लागि नेपाल सरकारको अनुमतिमा प्राविधिक रुपमा दक्ष ६ जना सम्मिलित चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको दाबी गरेकी छन् ।

दीपा दाहालको पोस्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

दाबीको प्रभाव

आधिकारिक सञ्चारमाध्यम र प्रधानमन्त्रीका प्रेस विज्ञले नै सो दाबी गरेकोले अरु थुप्रै सञ्चारमाध्यमले पनि यसैलाई आधार बनाएर समाचार प्रकाशित गरेको भेटियो । सामाजिक संजालका विभिन्न प्लेटफर्ममार्फत समेत यही दाबीसहितको समाचार प्रकाशित भएका छन् । यसबारे तथ्यजाँचका लागि नेपालफ्याक्टचेकलाई अनुरोधसमेत प्राप्त भएको छ ।

के हो तथ्य ? 

 तथ्यजाँचका क्रममा सबैभन्दा पहिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आधिकारिक सामाजिक संजाल जाँच गर्‍यौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आधिकारिक फेसबुक पेजमा रसुवास्थित त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरुको उद्दार गर्न खोजिएको दाबीसहितको पोस्ट सार्वजनिक गरिएको भेटिएन।

बरु रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरुको उद्दारका लागि सरकारले प्रयास गरिरहेको भनेर निरन्तर अपडेट सार्वजनिक भइरहेको भेटियो ।

हेर्नुहोस् प्रधानमन्त्री कार्यालयको अपडेटको स्क्रिनसट

ओरिजिनल लिंक यहाँ छ  ।

त्यसपछि हामीले नेपाल विद्युत प्राधिकरणको आधिकारिक वेबसाइट जाँच गर्‍यौँ। प्राधिकरणले २०८३ सालको भदौ ११ गते प्रकाशित गरेको विज्ञप्तिमा पनि उद्दारको प्रयास माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनामा भएको उल्लेख गरेको भेटियो । प्राधिकरणले माथिल्लो त्रिशूली ३ ‘बी’ मा फसेकाहरुको उद्दार गर्नेबारे कतै पनि उल्लेख गरेको भेटिएन ।

हेर्नुहोस् नेपाल विद्युत प्राधिकरणको विज्ञप्ति

नेपाल विद्युत प्राधिकरणको विज्ञप्ति हेर्नका लागि आधिकारिक वेबसाईट लिंक यहाँ क्लिक गर्नुहोला

थप पुष्टिका लागि हामीले  नेपाल विद्युत प्राधिकरणको आधिकारिक फेसबुक पेज जाँच गर्‍यौं । प्राधिकरणको फेसबुक पेजबाट माथिल्लो त्रिशूली ३ ए (६० मेगावाट) को टनेल सफाइ तथा उद्दार कार्य जारी रहेको भनेर निरन्तर अपडेट दिइरहेको भेटियो।

हेर्नुहोस् प्राधिकरणले सार्वजनिक गरेको अपडेटको स्क्रिनसट

फेसबुक पोस्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

तथ्यजाँच

दाबी : माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजनामा फसेकाहरुको उद्दार प्रयास भएको

दाबीकर्ता : प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहाल, अनलाइनखबर नयाँपत्रिकासहित आधिकारिक सञ्चारमाध्यम

तथ्य : भ्रामक (misleading) : माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनामा फसेकाहरुको उद्दार प्रयास गरिएको कुरा सत्य हो । तर माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजनामा फसेकाहरुको उद्दार प्रयास भएको भन्दै भ्रामक सूचना सार्वजनिक गरिएको नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचबाट पुष्टि भएको छ  ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add