- टेकमान शाक्य
- भदौ १६, २०८३

बाढीले भत्काएको नेपालको घर भनिएको भिडिओ भारतको जम्मु-कश्मीरको
नेपालमा आएको बाढीले क्षणभरमै भवन भत्काएको र त्यहाँ रहेका मानिसहरू पनि हताहती भएको दाबी गर्दै एउटा भिडिओ सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेको छ । तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचको क्रममा भिडिओ नेपालको बाढीसँग असम्बन्धित एवम् भारतको जम्मु-कश्मीरको भएको पुष्टि भएको छ ।
के हो दाबी ?
सामाजिक सञ्जाल एक्स प्रयोगकर्ता Humble African ले आफ्नो अकाउन्टमा सन् २०२६ को अगस्ट २७ को दिन बाढीका कारण भौतिक संरचनामा क्षति पुगेको २३ सेकेन्डको भिडिओ क्लिप सार्वजनिक गरेका छन् । भिडिओमा एउटा भवनमा मानिसहरु देख्न सकिन्छ भने उनीहरुसहित भवनलाई बाढीले बगाएको देखिन्छ । भिडिओलाई ३६ हजारभन्दा धेरैपटक हेरिएको छ ।
हेर्नुहोस् Humble African को स्क्रिनसट

Humble African को ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
नेपालको दाबी गर्दै सामाजिक सञ्जाल Linkedin प्रयोगकर्ता Edward Zia ले पनि १ मिनेट ३२ सेकेन्डको भिडिओ सार्वजनिक गरेका छन् । उनले पोस्ट गरेको भिडिओलाई २ सय ११ पटक रियाक्ट गरिएको छ भने २७ पटक कमेन्ट भएको छ ।
हेर्नुहोस् Edward Zia को स्क्रिनसट

ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
नेपाल तथा नेपाल बाहिरका अरु थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताले यो भिडिओ नेपालको बाढीसँग सम्बन्धित भएको दाबी गर्दै पोस्ट एवम् सेयर गरिरहेका छन् ।
के हो तथ्य ?
यसबारे तथ्यजाँचका लागि सुरुमै भिडिओबाट एउटा फ्रेम निकालेर गुगलमा रिभर्स ईमेज सर्च गरेर हेर्यौँ । यसको नतिजामा भारतीयसहित अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा साढे १ महिनाअघि नै समाचार प्रकाशित भएको भेटियो ।
1) New York Post : साढे १ महिनाअघि सन् २०२६ को जुलाई २३ को दिन New York Post को भेरिफाईड आधिकारिक युटुब च्यानलमा अहिले भाइरल भइरहेको भिडिओ अपलोड भइसकेको भेटियो ।
भिडिओको डिस्क्रिप्सनमा जम्मू–कश्मीरको बडगाम जिल्लामा वर्षाका कारण सुन्खनाग नाला (Sukhnag Nallah) मा पानीको बहाव बढेपछि भवनको जग कटान हुँदा पसलहरूको पूरै एक लाइन नदीमा खसेको छ भनेर दाबी गरिएको छ ।
हेर्नुहोस् New York Post को स्क्रिनसट

New York Post को ओरिजिनल यूटुब लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
2) etvbharat : सन् २०२६ को जुलाई २१ को दिन यही दाबीसहितको समाचार etvbharat.com मा प्रकाशित भएको भेटियो । समाचारमा यो भिडिओ भारतको जम्मू–कश्मीरको दाबी गरिएको छ भने डगाम जिल्लामा आएको बाढीले सपिङ कम्प्लेक्स भत्काएको भनिएको छ ।
हेर्नुहोस् etvbharat को स्क्रिनसट

etvbharat.com को ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
3) Times Now : ७६ लाख सब्सक्राईबर रहेको Times Now नामक युटुब च्यानलमा यहि भिडिओ सन् २०२७ को जुलाई २१ को दिन अपलोढड भएको देखियो ।

Times Now को ओरिजिनल लिंक यहाँ छ ।
4) NDTV : यसबारेको समाचार एनडीटीभीले सन् २०२६ को जुलाई २२ को दिन प्रकाशित गरेको भेटियो । समाचारमा जम्मू–कश्मीरमा भएको भारी वर्षा र अचानक आएको बाढीले ठूलो विनाश निम्त्याएको दाबी गरिएको छ ।
हेर्नुहोस् NDTV को स्क्रिनसट

एनडीटीभीको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ
तथ्यजाँच
दाबी : नेपालमा आएको बाढीले क्षणभरमै भवन भत्काएको र त्यहाँ रहेका मानिसहरु पनि हताहती भएको दाबीसहितको भिडिओ
दाबीकर्ता : Humble African (x) र Edward Zia (Linkedin) सहित सामाजिक सञ्चाल प्रयोगकर्ता ।
तथ्य : भ्रामक (misleading) । क्षणभरमै भवन भत्काएको र त्यहाँ रहेका मानिसहरु पनि हताहती भएको दाबी गर्दै भाइरल भएको भिडिओ नेपालमा आएको बाढीसँग असम्बन्धित रहेको नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचको क्रममा पुष्टि भएको छ ।