भ्रामक सूचना तथ्यजाँच

भोटेकोशी बाढीमा ५० घण्टापछि बालक भेटिएको दाबी भ्रामक, भाइरल भिडिओ पुरानो


भोटेकोशी बाढीमा ५० घण्टापछि बालक भेटिएको दाबी भ्रामक, भाइरल भिडिओ पुरानो

सामाजिक सञ्जालमा रसुवाको भोटेकोशीमा आएको बाढीको प्रसङ्ग जोड्दै एक तीन वर्षीय बालक ५० घण्टापछि जीवितै भेटिएको दाबीसहितको भिडिओ भाइरल भइरहेको छ । तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचबाट उक्त भिडिओ र बालकको सम्बन्ध रसुवाको भोटेकोशी बाढीसँग नरहेको पुष्टि भएको छ ।


सम्पादकीय नोट : बालबालिकाको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै यस तथ्य-जाँचमा सम्बन्धित भिडिओ तथा तस्बिरका लिङ्कहरू समावेश गरिएका छैनन् । यद्यपि, अनुसन्धानका लागि ती लिङ्कहरू हामीसँग सुरक्षित छन् । कुन भिडिओको तथ्य-जाँच गरिएको हो भन्ने जानकारीका लागि बालकको अनुहार नदेखिने गरी एउटा तस्बिर मात्र प्रयोग गरिएको छ ।


के हो दाबी ?

३४ लाख बढी फलोअर्स रहेको र भारतबाट सञ्चालित ‘मिडिया टिभी बाई रोशन भाट’ नामक फेसबुक पेजमा एउटा भिडिओ समाचार अपलोड गरिएको छ ।

नेपालको विपद्मा ५० घण्टापछि ३ वर्षीय बालकको जीवितै उद्धार’ (नेपालीमा अनुवाद) शीर्षकसहित अपलोड गरिएको उक्त भिडिओमा नेपालको भोटेकोशी बाढीमा परेका तीन वर्षीय बालकलाई ५० घण्टापछि जीवितै फेला पारिएको दाबी गरिएको छ ।

हामीले तथ्य जाँच गर्दासम्म उक्त भिडिओमा २८७ रियाक्सन, ३ वटा कमेन्ट, ६ पटक सेयर र १५ हजारभन्दा बढी पटक हेरिएको छ ।

हेर्नुहोस्, स्क्रिनसट

सोही भिडिओलाई अन्य भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि उस्तै दाबीका साथ सेयर गरेका छन् ।

के हो तथ्य ?

तथ्य जाँचका क्रममा हामीले सुरुमा विभिन्न सञ्चारमाध्यम तथा आधिकारिक निकायहरूले जारी गरेका सूचना र समाचारहरू अध्ययन गर्यौँ । तर आधिकारिक माध्यमहरूमा भोटेकोशी बाढीसँग जोडेर ती बालकको फोटो वा भिडिओ प्रकाशित भएको पाइएन ।

त्यसपछि हामीले भाइरल भिडिओबाट बालकको फोटो स्क्रिनसट गरी गुगल रिभर्स इमेज सर्च गर्‍यौँ । सो क्रममा भदौ ४ गते ‘न्युज अफ नेपाल’ मा प्रकाशित एउटा समाचार भेटियो ।

मङ्गलबारदेखि बेपत्ता बालक सकुशल भेटिए’ शीर्षकसहित प्रकाशित उक्त समाचारमा नवलपरासी पूर्वको गैँडाकोट–१४, भागरबाट मङ्गलबार बिहानदेखि बेपत्ता भएका साढे दुई वर्षीय बालकलाई प्रहरीले बिहीबार बिहान भागर खोलाको शिरानबाट सकुशल उद्धार गरेको उल्लेख छ ।

हेर्नुहोस्, समाचारको स्क्रिनसट :

यस विषयमा थप पुष्टि गर्न हामीले इलाका प्रहरी कार्यालय गैँडाकोटको आधिकारिक फेसबुक पेज अध्ययन गर्यौँ । जहाँ भदौ ४ गते (अगस्ट २०) ती बालकको उद्धार गरिएको भिडिओ र विवरण पोस्ट गरिएको पाइयो ।

प्रहरीको विवरण अनुसार :

  • नवलपरासी पूर्व, गैँडाकोट–१४ भागरका अढाई वर्षीय बालक █████ (█████का छोरा) हजुरआमा █████सँग बस्दै आएका थिए ।
  • हजुरआमा जङ्गल गएको समयमा बालक भदौ २ गते हराएका थिए ।
  • प्रहरी निरीक्षक लक्ष्मण गिरीको कमान्डमा इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर, सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म भेडाबारीको संयुक्त टोलीका साथै जनप्रतिनिधि र स्थानीय टोली खोजीमा खटिएका थिए ।
  • भदौ ४ गते बिहान ९:५० बजे घरबाट करिब ३.५ किलोमिटर उत्तरतर्फ शङ्खादेवी र सुन्दरी सामुदायिक वनको सीमामा रहेको ढँड्यान खोल्साको ढुङ्गामा बसिरहेको अवस्थामा बालक सकुशल भेटिएका थिए । उनको अनुहारमा सामान्य कोतरिएको चोट मात्र थियो ।

हेर्नुहोस्, स्क्रिनसट :

यसरी सकुशल उद्धार गरिएका तिनै बालकको भिडिओ र तस्बिरलाई पछि भोटेकोशी बाढीको घटना भन्दै भ्रामक रूपमा फैलाइएको हो । वास्तवमा ती बालकलाई रसुवाको भोटेकोशीमा बाढी आउनुभन्दा अघि नै नवलपरासीको जङ्गलबाट उद्धार गरिएको थियो ।

तथ्य जाँच/निष्कर्ष

दाबी : नेपालको भोटेकोशी बाढीमा हराएका ३ वर्षीय बालक ५० घण्टापछि जीवितै भेटिए ।

दाबीकर्ता : ‘मिडिया टिभी बाई रोशन भाट’ फेसबुक पेजसहितका सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्य : भ्रामक (Misleading) । भाइरल भिडिओ नवलपरासी पूर्वको जङ्गलबाट उद्धार गरिएका बालकको हो । यस घटनाको रसुवाको भोटेकोशी बाढीसँग कुनै सम्बन्ध छैन ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add