- सुरज घिमिरे
- भदौ १८, २०८३

लगातार ५ दिन सार्वजनिक बिदा भन्दै फैलाइएको सूचना भ्रामक
नेपालखबर डटकमसहित विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सरकारले भदौ २२ गते शोक बिदा दिएको भन्दै ‘भोलिदेखि लगातार ५ दिन सार्वजनिक बिदा’ हुने दाबीसहितका समाचार र सूचनाहरू भाइरल बनेका छन्।
तर, नेपालफ्याक्टचेकको तथ्य जाँचमा यो दाबी भ्रामक रहेको पुष्टि भएको छ। सरकारले भदौ २२ गते राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरे पनि उक्त दिन सार्वजनिक बिदा दिने कुनै निर्णय गरेको छैन। त्यसैले भदौ २२ गते सोमबार सरकारी कार्यालयहरू यथावत् सञ्चालन हुने भएकाले लगातार ५ दिन सार्वजनिक बिदा हुने दाबी तथ्यसंगत छैन।
के हो दाबी ?
नेपालखबर डटकममा बिहीबार बेलुकी एउटा समाचार प्रकाशित भयो । ‘भोलिदेखि लगातार ५ दिन सार्वजनिक बिदा’ शीर्षकमा प्रकाशित समाचारमा भोलि (शुक्रबार)देखि लगातार पाँच दिनसम्म सार्वजनिक बिदा हुने भएको उल्लेख गरिएको छ ।
समाचारमा भनिएको छ, “सरकारले रसुवाको भोटेकोसी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक मनाउन र भदौ २३ गते जेनजी सहिद दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै भोलिदेखि आगामी मंगलबारसम्म लगातार सार्वजनिक बिदा हुने भएको हो ।”
शुक्रबार श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक बिदा, शनिबार र र आइतबारको साप्ताहिक बिदासहित आगामी साता ५ दिन सार्वजनिक बिदा हुने भएपछि सरकारी कार्यालय ३ दिन मात्रै सञ्चालन हुने समाचारमा उल्लेख गरिएको छ ।
हेर्नुहोस्, नेपालखबरमा प्रकाशित समाचारको स्क्रिन सट :

उक्त समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्
फेसबुकमा ५ लाख ४९ हजार फलोअर्स भएको नेपालमञ्च टिभी नामक फेसबुक पेजमा पनि सोही दाबी गरिएको छ ।
भनिएको छ, “आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २२ र २३ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै लगातार ५ दिन बिदा परेको हो । भदौ १९ गते गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, २० गते शनिबार नियमित बिदा, २१ गते आइतबार पनि नियमित बिदा, २२ गते रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा शोक बिदा, २३ गते गत वर्ष भएको जेन्जी आन्दोलनका शहीदको सम्मानमा देशभर सार्वजनिक बिदा हुने भएको हो ।”
उक्त पोस्टमा हामीले तथ्य जाँच गर्दै गर्दा ७ हजार ५ सय बढी रियाक्सन, दुई सय ८८ कमेन्ट र ५ सय ८९ पटक शेयर गरिएको छ ।
हेर्नुहोस्, स्क्रिन सट :

उक्त पोस्टको ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क
यसबाहेक अन्य सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि सरकारले भदौं २२ गते रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा शोक बिदा दिएको दाबी गरेका छन् ।
के हो तथ्य ?
तथ्य जाँच गर्ने क्रममा हामीले सुरुमा बिहीबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकको निर्णयहरू खोज्यौं । सो क्रममा ‘बाढी प्रभावितलाई कर तथा महशुलमा सहुलियत दिइने’ शीर्षकमा गोरखापत्र अनलाइनमा प्रकाशित समाचार भेट्यौँ । समाचारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका ७ वटा निर्णयहरू पनि राखिएको छ ।
उक्त निर्णयहरू केलाउँदा:
-
निर्णय नं. ५: वि.सं. २०८३ भदौ २३ गते ‘जेनजी सहिद दिवस’को अवसरमा देशभर सार्वजनिक बिदा दिने उल्लेख छ।
-
निर्णय नं. ६: २०८३ भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाउने व्यक्तिहरूको सम्मानस्वरूप १३औँ दिनको पुण्यतिथि अर्थात् २०८३ भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने र देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरिएको छ।
हेर्नुहोस्, स्क्रिन सट :

उक्त समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्
यसको अर्थ, सरकारले भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरे पनि शोक बिदा भने दिएको होइन ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको “Sasmit Pokharel-सस्मित पोखरेल-सचिवालय” नामक फेसबुक पेजमार्फत पनि भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट ज्यान गुमाउनुहुनेहरूप्रति सम्मान स्वरूप भदौ २२ गते राष्ट्रिय शोक मनाइने तर उक्त दिन सार्वजनिक बिदा भने नहुने उल्लेख गरिएको छ ।
हेर्नुहोस्, स्क्रिन सट :

उक्त पोस्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
यसर्थ, शुक्रबार (श्रीकृष्ण जन्माष्टमी), शनिबार र आइतबार (साप्ताहिक बिदा) तथा मंगलबार (जेनजी सहिद दिवस) बिदा भए पनि सोमबार (भदौ २२) सरकारी कार्यालयहरू खुला रहनेछन् । त्यसैले लगातार ५ दिन सार्वजनिक बिदा हुने भन्दै फैलाइएको सूचना गलत छ ।
तथ्य जाँच
दाबी : सरकारले भदौ २२ गते शोक बिदा दिएकाले भोलिदेखि लगातार ५ दिन सार्वजनिक बिदा हुने दाबी सहित प्रकाशित समाचार तथा सूचना ।
दाबीकर्ता : नेपालखबर डटकम, नेपालमञ्च टिभी (फेसबुक पेज) तथा विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य : भ्रामक (Misleading) । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार भदौ २२ गते राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको हो, सार्वजनिक बिदा दिइएको होइन। सोमबार (भदौ २२) सरकारी कार्यालयहरू खुला रहने भएकाले लगातार ५ दिन सार्वजनिक बिदा हुने दाबी भ्रामक हो।