तथ्यजाँच एआई जेनेरेटेड मिथ्या सूचना

स्वर्णिम वाग्लेको अनुहारसँग मिल्ने सालिकको भाइरल तस्बिर एआई निर्मित


स्वर्णिम वाग्लेको अनुहारसँग मिल्ने सालिकको भाइरल तस्बिर एआई निर्मित

सामाजिक सञ्जालमा अर्थमन्त्री स्वर्णिम वाग्लेसँग मिल्दोजुल्दो अनुहार भएको एक सालिकको तस्बिर व्यापक भाइरल भइरहेको छ । गत वर्षको भदौ २३ र २४ गते भएको ‘जेन्जी आन्दोलन’का सहिदहरूको सम्झनामा निर्मित सालिक भन्दै उक्त तस्बिर सेयर गरिएको छ । तर, नेपालफ्याक्टचेकको अनुसन्धानबाट उक्त तस्बिर वास्तविक नभई एआई प्रविधिबाट निर्मित भएको पुष्टि भएको छ ।

के हो दाबी ?
२५ हजारभन्दा बढी फलोअर्स भएका प्रेम खड्का नामक फेसबुक प्रयोगकर्ताले बिहीबार बिहान ७:१५ मा एउटा तस्बिर पोस्ट गरेका छन्। उक्त पोस्टमा उनले लेखेका छन्, “सरकारले जेन्जी आन्दोलनका सहिदको सालिक बनाएको छ, सरकारका अर्थमन्त्री जिउदो हुनुहुन्छ, तर यो सालिक स्वर्णिम वाग्लेसङ्ग दुरुस्त मिल्दो देखिन्छ ।”

हामीले तथ्य जाँच गर्दासम्म उक्त पोस्टमा ८७६ रियाक्सन, ११९ कमेन्ट र १८ पटक सेयर भइसकेको छ ।

हेर्नुहोस्, उक्त पोस्टको स्क्रिन सट :

उक्त फेसबुक पोस्टको ओरिजिनल लिङ्कअर्काइभ लिङ्क

फेसबुकमा तीन लाख ६१ हजार फलोअर्स भएका प्रकाश भुजेल नामक प्रयोगकर्ताले पनि सोही तस्बिर सेयर गरेका छन् ।

उनले लेखेका छन्, “सहितको सालिक भनौँला भन्दा अहिलेका अर्थमन्त्री डाक्टर स्वर्णिम अग्लेज्यूको बनाएछ । यो कुन पार्टीको झोलेले बनायो सरकारलाई हेप्ने खबरदार के हुँदैछ हाम्रो नेपालमा”

हामीले तथ्य जाँच गर्दासम्म उक्त पोस्टमा ११ सयभन्दा बढी रियाक्सन, १०१ कमेन्ट र १३ पटक सेयर भइसकेको छ ।

हेर्नुहोस्, उक्त पोस्टको स्क्रिन सट :

उक्त पोस्टको ओरिजिनल लिङ्कअर्काइभ लिङ्क

त्यस्तै, लामा लोप्चन नामक फेसबुक प्रयोगकर्ताले पनि सोही तस्बिर प्रयोग गरी एउटा भिडिओ पोस्ट गरेका छन् ।

भिडिओमा व्यङ्ग्यात्मक शैलीमा भनिएको छ, “भदौ २३ र २४ को आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको सालिक बनाउँदा खेरी हाम्रा अर्थमन्त्री वाग्लेको जस्तै भएछ।”

हामीले तथ्य जाँच गर्दासम्म उक्त भिडिओलाई ४० हजारभन्दा बढी पटक हेरिएको छ भने १ हजार ४ सयभन्दा बढी रियाक्सन, २५३ कमेन्ट र १७२ पटक सेयर भएको छ ।

हेर्नुहोस्, भिडिओको स्क्रिन रेकर्ड :

उक्त पोस्टको ओरिजिनल लिङ्कअर्काइभ लिङ्क

के हो तथ्य ?
तथ्य जाँचका क्रममा हामीले सुरुमा भाइरल तस्बिरलाई ‘गुगल रिभर्स इमेज सर्च’ गर्‍यौँ। खोजीका क्रममा, कुनै पनि आधिकारिक निकाय वा विश्वसनीय सञ्चारमाध्यमले उक्त तस्बिर प्रकाशित गरेको भेटिएन ।

केही सञ्चारमाध्यममा “सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेन्जी सहिदको सालिकको अनुहार सहिदसँग नमिलेको” विषयमा समाचार र तस्बिरहरू प्रकाशित भए पनि अहिले भाइरल भएको अर्थमन्त्री वाग्लेसँग मिल्दोजुल्दो तस्बिर कतै फेला परेन ।

तस्बिरको सूक्ष्म विश्लेषण गर्दा अनुहारको छालाको बनावट, आँखा, चस्मा, दाँत र कपालको संरचना अस्वाभाविक देखियो । त्यसपछि हामीले एआईबाट निर्मित तस्बिर पहिचान गर्ने डिजिटल टुल ‘ओपनएआई भेरिफाइ’मार्फत प्राविधिक जाँच गर्‍यौँ।  उक्त जाँचले तस्बिर एआई निर्मित भएको नतिजा देखायो ।

हेर्नुहोस्, प्राविधिक जाँचको नतिजाको स्क्रिनसट :

थप पुष्टि गर्न हामीले अर्को प्राविधिक टुल ‘हाइभ मोडरेसन’को प्रयोग गर्यौँ । सो टुलले पनि उक्त तस्बिर एआईबाटै बनाइएको सम्भावना उच्च रहेको देखायो।

हेर्नुहोस्, प्राविधिक जाँचको नतिजाको स्क्रिनसट :

यद्यपि, बुधबार ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद परिसरमा ‘जेनजी पार्क’ उद्घाटनको कार्यक्रम तय गरिएको थियो । उद्घाटनका लागि गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसमेत कार्यक्रमस्थल पुगिसकेका थिए । तर, त्यहाँ राखिएका ४५ जना सहिदका सालिकको स्वरूप उनीहरूको वास्तविक अनुहारसँग नमिलेको भन्दै सहिद परिवारले मन्त्रीहरूसमक्ष गुनासो गरेपछि उद्घाटन कार्यक्रम अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

यस विषयमा सेतोपाटीमा प्रकाशित समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्

तथ्य जाँच/निष्कर्ष

दाबी : जेन्जी आन्दोलनका सहिदको सम्झनामा निर्मित सालिकको फोटो अर्थमन्त्री स्वर्णिम वाग्लेसँग दुरुस्त मिलेको ।

दाबीकर्ता : प्रेम खड्का, लामा लोप्चन, प्रकाश भुजेल लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता।

तथ्य : मिथ्या (False) / एआई-निर्मित (AI-Generated)। जेन्जी आन्दोलनका सहिदको सम्झनामा बनाइएको भनिएको उक्त शालिक वास्तविक होइन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अनुहारसँग मिल्ने गरी एआई प्रविधिको प्रयोग गरेर बनाइएको काल्पनिक तस्बिरलाई वास्तविक झैँ प्रस्तुत गरी सामाजिक सञ्जालमा भ्रम फैलाइएको हो ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add