- टेकमान शाक्य
- अशोज ५, २०८३

विद्युत् चोरी रोक्न पुगेका कर्मचारी र उनका छोरामाथि ‘लाठी प्रहार’ भन्दै भाइरल भिडिओ नेपालको होइन
विद्युत् चोरी रोक्न जाने कर्मचारी र उनका छोरामाथि ‘लाठी प्रहार’ भएको भन्दै एउटा भिडिओ व्यापक रूपमा भाइरल भइरहेको छ। आधिकारिक सञ्चारमाध्यमको सामाजिक सञ्जाल प्लेटफर्मबाट समेत उक्त भिडिओ पोस्ट गरिएको देखिन्छ।
तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचका क्रममा उक्त भिडिओ नेपालमा भएको घटनाको नभई भारतको मध्यप्रदेशस्थित छतरपुर जिल्लाको बारीगढमा विद्युत् कर्मचारी र उनका छोरामाथि भएको कुटपिटको भएको पुष्टि भएको छ।
के हो दाबी ?
तीन लाख ४१ हजार फलोअर्स रहेको एबीसी टेलिभिजनको आधिकारिक एवम् भेरिफाइड फेसबुक पेजबाट सन् २०२६ सेप्टेम्बर २१ मा बिहान ३३ सेकेन्डको एउटा भिडिओ पोस्ट गरिएको छ। पोस्टलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पेजलाई समेत मेन्सन गरिएको देखिन्छ ।
शीर्षकमा लेखिएको छ – ‘विद्युत् चोरी रोक्न आउने कर्मचारी र उनका छोरामाथि लाठी प्रहार । देश यस्तो पनि छ ।’ पोस्टमा घटना कुन देशको कुन ठाउँमा भएको भन्नेबारे केही पनि खुलाइएको छैन । दृश्यमा मानिसहरूबीच लाठी प्रहार गरिरहेको देख्न सकिन्छ । एबीसी टेलिभिजनले यो घटना नेपालमा भएको हो भन्ने बुझिने गरी सार्वजनिक गरेको देखिन्छ ।
हेर्नुहोस् एबीसी टेलिभिजनको स्क्रिनसट
एबीसी टेलिभिजनको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
अनलाइन पत्रिका नाम रहेको फेसबुक पेजमार्फत समेत यो भिडिओ सार्वजनिक भएको छ ।उक्त पोस्टमा भिडिओ कहाँको हो भन्ने स्पष्ट रूपमा खुलाइएको छैन।
हेर्नुहोस् अनलाइन पत्रिकाको स्क्रिनसट

अनलाइन पत्रिकाको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
दाबीको प्रभाव
हामीले तथ्यजाँच गर्दासम्म एबीसी टेलिभिजनको फेसबुक पेजबाट सार्वजनिक भिडिओलाई ८५३ भन्दा धेरैपटक रियाक्ट गरिएको छ भने १४८ पटक कमेन्ट र २८६ पटक सेयर गरिएको छ । एबीसी टेलिभिजनको लोगोसहितको यही भिडिओ अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले समेत व्यापक रूपमा सेयर गरिरहेका छन्।
हेर्नुहोस् सामाजिक सञ्जालको स्क्रिन रेकर्ड
के हो तथ्य ?
तथ्यजाँचका क्रममा यो घटना नेपालमा भएको हो कि होइन भनेर हामीले सुरुमा सम्बन्धित किवर्ड प्रयोग गरी गुगलमा खोजी गर्नुका साथै आधिकारिक सञ्चारमाध्यमका वेबसाइट तथा सामाजिक सञ्जाल प्लेटफर्महरूमा खोज्यौँ। तर हामीले खोज्दा अन्य कुनै पनि आधिकारिक सञ्चारमाध्यममा उक्त घटना नेपालमा भएको दाबी वा विवरण भेटिएन।
त्यसपछि हामीले नेपाल विद्युत् प्राधिकरणका सूचना अधिकारी सर्वजीत कुमार चौधरीलाई सम्पर्क गर्यौँ। उनले नेपाल विद्युत् प्राधिकरणबाट खटिएका कर्मचारीमाथि कुटपिट भएको भनेर कतैबाट पनि सूचना प्राप्त नभएको र आफूलाई कुनै जानकारी प्राप्त नभएको उनले नेपालफ्याक्टचेकलाई बताए।
त्यसपछि हामीले नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेलाई पनि सम्पर्क गर्यौँ। नेपाल फ्याक्टचेकसँगको कुराकानीमा उनले पनि यस्तो घटना भएकोबारे पुष्टि गर्न सकेनन् ।
यसबारे थप तथ्यजाँचका क्रममा हामीले भिडिओबाट एउटा फ्रेम निकालेर गुगलमा रिभर्स इमेज सर्च गर्यौँ। खोजीका क्रममा भारतको मध्यप्रदेशस्थित छतरपुर जिल्लाको बारीगढमा सरकारी काममा खटिएका विद्युत् विभागका कर्मचारीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा समाचार प्रकाशित भएको भेटियो।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करले सन् २०२६ सेप्टेम्बर २० मा प्रकाशित गरेको समाचारमा उक्त घटना बारीगढमा भएको उल्लेख छ।समाचारअनुसार विद्युत् विभागको टोली ट्रान्सफर्मरको केबल परिवर्तन गर्ने काममा खटिएको थियो। सोही क्रममा केही स्थानीय व्यक्तिसँग कर्मचारीको विवाद भएको र विवाद बढेपछि उनीमाथि लाठी–डन्डाले कुटपिट भएको थियो । घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको र संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको समाचारमा उल्लेख छ।
हेर्नुहोस् दैनिक भास्करको स्क्रिनसट

दैनिक भास्करको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
यस घटनासँग सम्बन्धित एनडीटीभी मध्यप्रदेश संस्करणले पनि भिडिओ समाचार सार्वजनिक गरेको भेटियो। एनडीटीभी मध्यप्रदेश संस्करणले पनि यो भिडिओ भारतको छतरपुरको भएको उल्लेख गरेको छ। भारतको मध्यप्रदेशस्थित छतरपुर जिल्लाको बारीगढमा सरकारी काममा खटिएका विद्युत् विभागका कर्मचारीमाथि कुटपिट गरेको उल्लेख गर्दै उसले भिडिओसमाचार सार्वजनिक गरेको छ । उक्त भिडिओ समाचार सन् २०२६ सेप्टेम्बर २० मा प्रकाशित भएको देखिन्छ।
हेर्नुहोस् भिडिओको स्क्रिनसट

एनडीटीभी मध्यप्रदेश संस्करणको ओरिजिनल लिंक यहाँ छ ।
भारतको ‘नईदुनिया’ नामक सञ्चारमाध्यमले पनि उक्त भिडिओ भारतको भएको उल्लेख गरेको छ। समाचारअनुसार, बारीगढमा सरकारी कामका क्रममा रहेका विद्युत कर्मचारी कल्लू भुर्जीमाथि स्थानीयसँग विवाद भएपछि लाठी–डन्डाले कुटपिट गरेका थिए। बुबालाई बचाउन पुगेका उनका छोरामाथि पनि कुटपिट भएको समाचारमा उल्लेख छ।
समाचारमा घटनामा प्रयोग भएका लाठीहरू बरामद गरिएको, घटनामा संलग्न भएको आरोपमा कालु सिंह, धर्मेन्द्र सिंह, लोकेश सिंह र सचिन अहिरवारलाई पक्राउ गरिएको समाचारमा उल्लेख छ। उक्त समाचार सन् २०२६ सेप्टेम्बर २० मा प्रकाशित भएको देखिन्छ।
हेर्नुहोस् नईदिल्लीमा प्रकाशित समाचारको स्क्रिनसट

नईदुनियाको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
तथ्यजाँच
दाबी : नेपालमा विद्युत् कर्मचारी र उनका छोरामाथि ‘लाठी प्रहार’ भन्दै भाइरल भिडिओ
दाबीकर्ता : एबीसी टेलिभिजन नामको फेसबुक पेज, अनलाइन पत्रिका नामको फेसबुक पेजसहित सामाजिक सञ्जाल प्रयोगकर्ता
तथ्यजाँच : (Misleading) : भाइरल भिडिओमा विद्युत् कर्मचारी र उनका छोरामाथि लाठी प्रहार भएको घटना नेपालको होइन । भारतको मध्यप्रदेशस्थित छतरपुर जिल्लाको बारीगढमा भएको घटनाको भिडिओलाई नेपालमा भएको घटनाका रूपमा सामाजिक सञ्जालमा फैलाइएको दाबी भ्रामक भएको नेपालफ्याक्टचेकको तथ्यजाँचबाट पुष्टि भएको छ।