- सुरज घिमिरे
- अशोज ८, २०८३

यूएन महासभामा सोविता गौतमको सम्बोधन भन्दै भाइरल भिडिओ भ्रामक, आईपीयू महासभाको पुरानो भिडिओ
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गरिरहेको भन्दै सामाजिक सञ्जालमा एउटा भिडिओ व्यापक भाइरल भइरहेको छ ।
तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचका क्रममा उक्त भिडिओ संयुक्त राष्ट्रसंघको महासभाको नभई सन् २०२५ अप्रिलमा उज्बेकिस्तानको तास्कन्दमा आयोजित अन्तर-संसदीय संघ (आईपीयू)को १५० औँ महासभामा प्रतिनिधिसभा सदस्यका रूपमा सोविता गौतमले दिएको वक्तव्यको भएको पुष्टि भएको छ।
के हो दाबी ?
फेसबुकमा ३९ हजारभन्दा बढी फलोअर्स रहेको ‘ग्लोबल स्मार्ट खबर’ नामक फेसबुक पेजमा बुधबार साँझ ७:४० बजे एउटा भिडिओ अपलोड गरियो । उक्त भिडिओमा कुनै कार्यक्रममा नेपाल सरकारकी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले वक्तव्य दिइरहेकी देखिन्छिन्।
भिडिओको शीर्षकमा लेखिएको छ,‘संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्दै कानुन मन्त्री सोविता गौतम’
हामीले तथ्य जाँच गर्दासम्म उक्त भिडिओमा ५५ हजारभन्दा बढी रियाक्सन, १,९०० भन्दा बढी कमेन्ट, २,००० पटक शेयर र ७ लाख ४२ हजारभन्दा बढी पटक हेरिएको छ ।
हेर्नुहोस्, उक्त भिडिओको रेकर्ड :
उक्त भिडिओको ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क
‘हाम्रो नेपाल’ नामक अर्को फेसबुक पेजमा पनि सोही दिन उक्त भिडिओ सोही दाबीका साथ अपलोड गरिएको छ ।
तथ्य जाँच गर्दासम्म यस भिडिओमा ४८,७०० रियाक्सन, १,२०० कमेन्ट, १,६०० भन्दा बढी शेयर र ४ लाख ९५ हजारभन्दा बढी भ्युज भइसकेको छ ।
हेर्नुहोस्, उक्त भिडिओको स्क्रिनसट :

उक्त भिडिओको ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क
यस्तै, ४१ हजारभन्दा बढी फलोअर्स भएका ‘सी.एन. खड्ग’ नामक एक्स (ट्विटर) प्रयोगकर्ताले पनि सोही दाबी दोहोर्याउँदै लेखेका छन्, “यूएन ८१औं महासभामा कानूनमन्त्री सोविता गौतमले जोशिलो त बोलिन् तर मन्तव्यको मूल कन्टेन्ट चाहिँ के थियो त ? हामी युवाले छिटो गर्छौं तर के गर्छौं ?”
हेर्नुहोस्, उक्त पोस्टको स्क्रिनसट :

उक्त पोस्टको ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क
विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ता तथा पेजहरूले सोही दाबीका साथ उक्त भिडिओ अपलोड गरेका छन् ।
के हो तथ्य ?
तथ्य जाँच गर्ने क्रममा हामीले भाइरल भिडिओबाट स्क्रिनसट लिएर गुगल रिभर्स इमेज सर्च गर्यौँ । खोजीका क्रममा हामीले ‘अनलाइनखबर’को आधिकारिक फेसबुक पेजमा सोही भिडिओ सन् २०२५ अप्रिल ९ मा अपलोड भएको भेटियो।
अनलाइनखबरको पेजमा ‘उज्बेकिस्तानमा आयोजित आईपीयूको महासभामा सोबिता गौतमको सम्बोधन’ शीर्षकमा भिडिओ अपलोड गरिएको छ । त्यतिबेला सोविता मन्त्री नभई प्रतिनिधिसभा सदस्यको हैसियतमा सहभागी भएकी थिइन् ।
हेर्नुहोस्, स्क्रिनसट :

अनलाइन खबरको पेजमा अपलोड गरिएको उक्त भिडिओ यहाँ क्लिक गर्नुहोस्
अन्तर-संसदीय संघ (आईपीयू)को १५० औँ महासभा सन् २०२५ को अप्रिल ५ देखि ९ सम्म उज्बेकिस्तानको तास्कन्दमा आयोजना गरिएको थियो, जहाँ गौतमले भाग लिएकी थिइन् ।
हामीले आईपीयूको आधिकारिक युट्युब च्यानलमा १५० औँ महासभाका भिडिओहरू हेर्दा सन् २०२५ अप्रिल ८ मा लाइभ स्ट्रिम गरिएको भिडिओ फेला पार्यौँ । उक्त भिडिओमा सोविता गौतमले वक्तव्य राखिरहेको देखिन्छ, जुन अहिले भाइरल भइरहेको भिडिओसँग हुबहु मिल्छ ।
हेर्नुहोस्, स्क्रिनसट :

उक्त लाइभ स्ट्रिम हेर्न यहाँ क्लिक गर्नुहोस्
सेप्टेम्बर २०२६ मा संयुक्त राष्ट्रसंघको ८१ औँ महासभा अमेरिकाको न्यूयोर्कमा आयोजना भइरहेको छ। उक्त महासभामा नेपालको तर्फबाट प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र परराष्ट्रमन्त्री शिशिर खनाल लगायतको टोली सहभागी छ ।
यस विषयमा थप पुष्टि गर्न हामीले प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाललाई फोनमार्फत सम्पर्क गर्यौँ । दाहालले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम उक्त महासभामा सहभागी नभएको बताइन् ।
यसरी अन्तर-संसदीय संघ (आईपीयू)को १५० औँ महासभामा सोविता गौतमले दिएको पुरानो भिडिओलाई अहिलेको संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गरेको भन्दै भ्रामक दाबीका साथ फैलाइएको पुष्टि हुन्छ ।
तथ्य जाँच/निष्कर्ष
दाबी : ‘संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दै कानुनमन्त्री सोविता गौतम’ भन्दै भाइरल भिडिओ
दाबीकर्ता : ग्लोबल स्मार्ट खबर (फेसबुक पेज), हाम्रो नेपाल (फेसबुक पेज) र सी.एन. खड्ग (एक्स प्रयोगकर्ता) ।
तथ्य : भ्रामक (Misleading) । सोविता गौतमको उक्त भिडिओ सन् २०२५ अप्रिलमा उज्बेकिस्तानमा आयोजित अन्तर-संसदीय संघ (आईपीयू)को १५० औँ महासभाको हो । पुरानो भिडिओलाई हाल चलिरहेको संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाको भन्दै भ्रामक दाबीका साथ फैलाइएको हाम्रो तथ्य जाँचबाट पुष्टि हुन्छ ।