- सुरज घिमिरे
- अशोज १२, २०८३

‘हालैको वर्षामा काठमाडौं डुबेको’ भन्दै भाइरल तस्बिरको घटना दुई वर्ष पुरानो
काठमाडौंसहित देशका विभिन्न स्थानमा हालै भएको वर्षा र डुबानका बीच सामाजिक सञ्जालमा बाढीको एउटा तस्बिर तीव्र गतिमा भाइरल बनाइएको छ। सरकारले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाएको प्रसङ्गसँग जोड्दै यो तस्बिर फैलिएको छ।
तर नेपालफ्याक्टचेकको तथ्य जाँचबाट भाइरल बनाइएको उक्त दृश्य एआईद्वारा सम्पादित र घटना हालको नभई सन् २०२४ (२०८१ असोज)मा थापाथलीस्थित बागमती नदीमा आएको बाढीको भएको पुष्टि भएको छ।।
के हो दाबी ?
फेसबुकमा ३९ हजार भन्दा बढी फलोअर्स रहेका प्रयोगकर्ता देबिराम बजगाईंले हालैको वर्षाले काठमाडौं डुबानमा परेको दाबीसहित एउटा तस्बिर पोस्ट गरेका छन्। उनले क्याप्सनमा लेखेका छन्:
“सुकुम्वासी हटायो गरिब मारा सरकार र बालेन शाह भनेर हिजो विरोध गर्ने महाशयहरू अहिले कुन दुलोमा लुकेका छौं ?”
हामीले तथ्य जाँच गर्दासम्म उक्त पोस्टमा २ हजार भन्दा बढी रियाक्सन, ११५ कमेन्ट र ११२ पटक सेयर भएको देखिन्छ।
हेर्नुहोस्, उक्त फेसबुक पोस्टको स्क्रिनसट :

उक्त फेसबुक पोस्टको ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क
सोही तस्बिरलाई ‘द वीरगञ्ज न्युज’ नामक फेसबुक पेज (ओरिजिनल लिङ्क/अर्काइभ लिङ्क) र ‘अभिमनु पटेल कुर्मी जर्नालिष्ट’ नामक प्रयोगकर्ता (ओरिजिनल लिङ्क/अर्काइभ लिङ्क)ले पनि सोही दाबीका साथ पोस्ट गरेका छन् ।
यस्तै, एक्स (ट्विटर)मा १३ हजारभन्दा बढी फलोअर्स भएका प्रयोगकर्ता ‘सुमन’ले पनि सोही तस्बिर सेयर गर्दै लेखेका छन्:
“यो जलमग्न भएको ठाउँमा सुकुम्वासी बस्ती थियो, यदि सुकुम्वासी यही बसिरहेका थिए भने के हाल हुने थियो ? कति सुकुम्वासी यो बाढीमा बग्ने थिए ?”
उक्त पोस्टलाई एक्समा १० हजारभन्दा बढी पटक हेरिएको छ भने १८३ लाइक र २६ पटक रि-पोस्ट गरिएको छ ।
हेर्नुहोस्, उक्त पोस्टको स्क्रिनसट :

उक्त पोस्टको ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क
के हो तथ्य ?
तथ्य जाँचका क्रममा हामीले भाइरल तस्बिरको सत्यता पत्ता लगाउन निम्न विधिहरू अवलम्बन गर्यौँ:
सबैभन्दा पहिले हामीले ‘काठमाडौंको वर्षा र डुबान’ तथा ‘सुकुम्बासी बस्ती बाढी’ जस्ता किवर्ड प्रयोग गरी गुगलमा खोज्दा हालैका कुनै पनि आधिकारिक निकाय वा विश्वसनीय सञ्चारमाध्यममा यो तस्बिर प्रयोग भएको भेटिएन।
रिभर्स इमेज सर्च : भाइरल तस्बिरलाई गुगल रिभर्स इमेज सर्च गर्दा सन् २०२४ सेप्टेम्बर २९ (२०८१ असोज १३) मा सेतोपाटी अनलाइनमा प्रकाशित “बाढी र पहिरोमा परी कम्तीमा १७० जनाको मृत्यु, ४२ जना बेपत्ता” शीर्षकको समाचार फेला पर्यो। उक्त समाचारमा अहिले भाइरल बनाइएको तस्बिरसँग ठ्याक्कै मेल खाने दृश्य समावेश गरिएको थियो। (२०८१ असोज ११ र १२ गते देशभर भएको अविरल वर्षाका कारण उपत्यकाका नदी तटीय क्षेत्र जलमग्न भएका थिए)।
हेर्नुहोस्, स्क्रिनसट :

उक्त समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्
भिडिओ तथा दृश्य प्रमाणीकरण: थप खोजी गर्दा सन् २०२४ सेप्टेम्बर २८ (२०८१ असोज १२) मा नेपालप्रेसको आधिकारिक युट्युब च्यानलमा प्रसारित प्रत्यक्ष प्रसारणको भिडिओ (“प्राकृतिक विपत्तिले काठमाडौं नाकाबन्दीमा, नागढुंगादेखि उपत्यकाका नदी तटमा यस्तोसम्म देखियो”) फेला पर्यो। उक्त भिडिओमा देखिएको काठमाडौं र ललितपुर जोड्ने बागमती नदी (थापाथली-युएन पार्क क्षेत्र) को दृश्य भाइरल तस्बिरसँग हुबहु मिल्छ ।
हेर्नुहोस्, स्क्रिनसट :

उक्त भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्
भौगोलिक तुलना (गुगल स्ट्रिट भ्यु): गुगल स्ट्रिट भ्युमार्फत उक्त स्थानको संरचना तुलना गर्दा भाइरल तस्बिरमा देखिएका बागमती पुल, वरिपरिका पक्की भवन र नदी किनारका भौतिक संरचनाहरू थापाथलीस्थित बागमती नदी किनारकै भएको पुष्टि हुन्छ।
हेर्नुहोस्, स्क्रिनसट :

तुलना गरिएको तस्बिर :

यसबाट यो तस्बिर थापाथलीस्थित बागमती पुलबाट खिचिएको प्रमाणित हुन्छ ।
हेर्नुहोस्, स्क्रिन सट :

भाइरल तस्बिरमा पानीको लहर र सतहको बनावट केही अस्वाभाविक र संरचना पनि अस्पष्ट देखिएकाले हामीले उक्त तस्बिरको प्राविधिक जाँच गर्यौँ । एआई निर्मित तस्बिर पहिचान गर्ने डिजिटल टुल ‘ओपन एआई भेरिफाइ’मार्फत जाँच गर्दा उक्त टुलले तस्बिर एआईबाट सम्पादित भएको नतिजा देखियो ।
हेर्नुहोस्, स्क्रिन सट :

यसबाट हालैको वर्षाको भन्दै भाइरल बनाइएको तस्बिर दुई वर्ष पुरानो अर्थात् २०८१ असोज (सन् २०२४ सेप्टेम्बर)को बाढीको भएको र तस्बिरलाई एआई प्रविधिबाट सम्पादन गरिएको प्रस्ट हुन्छ ।
तथ्य जाँच
दाबी : काठमाडौंमा हालै भएको वर्षाका कारण डुबानमा परेको क्षेत्र र सुकुम्बासी बस्तीको दृश्य ।
दाबीकर्ता : देबिराम बजगाईं, द वीरगञ्ज न्यूज, अभिमानु पटेल कुर्मी (फेसबुक) र सुमन (एक्स) ।
तथ्य : भ्रामक (Misleading) । हालै देशका विभिन्न भागमा वर्षा र जलमग्नता भएको भए पनि भाइरल बनाइएको तस्बिर अहिलेको होइन । यो सन् २०२४ सेप्टेम्बर (२०८१ असोज) मा थापाथलीस्थित बागमती नदीमा आएको बाढीको पुरानो तस्बिरलाई एआई प्रविधिबाट सम्पादन गरिएको हो ।