- टेकमान शाक्य
- अशोज १३, २०८३

मुग्लिन-नारायणगढ सडकमा पहिरोले गाडी बगाएको भनिएको भाइरल भिडिओ एआई निर्मित
मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले सवारी साधन बगाइरहेको दाबीसहित १५ सेकेन्डको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।
तर, नेपालफ्याक्टचेकको तथ्यजाँचमा उक्त भिडिओ वास्तविक नभई एआई प्रविधिबाट सिर्जना गरिएको र पहिरोले सवारी साधन बगाएको दाबी गलत रहेको पुष्टि भएको छ।
के हो दाबी ?
१३ हजारभन्दा बढी फलोअर्स रहेकी ‘Puspa Kumari Acharya’ नामक फेसबुक प्रयोगकर्ताले सन् २०२६ सेप्टेम्बर २७ का दिन बिहान ७:३७ बजे १५ सेकेन्डको भिडिओ पोस्ट गरेकी छिन्।
भिडिओमा सडकमाथिबाट ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेको र त्यसले सवारी साधनलाई बगाउँदै गरेको देखिन्छ।
हेर्नुहोस् पोस्टको स्क्रिन रेकर्ड
भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
दाबीको प्रभाव
यो तथ्यजाँच तयार पार्दासम्म उक्त भिडिओ २० लाखभन्दा बढी पटक हेरिएको छ भने ५ हजार १ सयभन्दा बढी पटक सेयर भएको छ। भिडिओमा ८ सय ४० भन्दा बढी प्रतिक्रिया तथा टिप्पणीहरू आएका छन्। सामाजिक सञ्जालमा व्यापक भाइरल बनेपछि यसको सत्यताबारे तथ्यजाँच गरिदिन नेपालफ्याक्टचेकलाई पाठकहरूबाट अनुरोधसमेत प्राप्त भएको थियो।
के हो तथ्य ?
यस दाबीको तथ्यजाँचका लागि हामीले भिडिओको दृश्य विश्लेषण, प्राविधिक परीक्षण र आधिकारिक निकायहरूसँग प्रत्यक्ष सम्पर्क गरी अनुसन्धान गर्यौँ।
१. दृश्य विश्लेषण
भिडिओलाई मिहिन रुपमा नियाल्दा दृश्यमा थुप्रै अस्वाभाविक पक्षहरू देखिन्छन्:
-
सडकमाथिबाट खसिरहेको ठूलो ढुङ्गा जमिनमा आइपुग्दानपुग्दै क्षणभरमै तरल लेदोजस्तो पदार्थमा परिणत हुन्छ।
-
पहिरोले पुर्न लागेको देखिने सवारी साधनको आकार र बनोट केही सेकेन्डमै अस्वाभाविक रूपमा रूपान्तरण हुन्छ।
-
पहिरोको बहाव, पानी र माटोको भौतिक चाल वास्तविक नभई कम्प्युटर निर्मित एनिमेसनजस्तो देखिन्छ।
हेर्नुहोस् क्षणभरमै देखिएका भिन्नताको स्क्रिनसट

२. प्राविधिक परीक्षण
दृश्य सामग्रीको प्रामाणिकता जाँच गर्न हामीले गुगलको SynthID प्रविधिमार्फत विश्लेषण गर्यौँ। परीक्षणका क्रममा भिडिओमा डिजिटल वाटरमार्क र गुगल एआई प्रविधिको प्रयोग गरी दृश्य सिर्जना गरिएको सङ्केत फेला पर्यो।
हेर्नुहोस् गुगलको Synthid जाँच गर्दा प्राप्त नतिजाको स्क्रिनसट

थप पुष्टिका लागि हामीले प्राविधिक जाँच गर्यौँ । ‘Hive Detect’ मार्फत गरिएको जाँचमा उक्त डिटेक्टर टुलले भिडिओ एआई निर्मित हुन सक्ने सम्भावना ८० प्रतिशतभन्दा माथि देखायो।
हेर्नुहोस् HIVE DETECT ले दिएको नतिजाको स्क्रिनसट

HIVE DETECT ले दिएको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्।
३. प्रहरी र सडक डिभिजनको पुष्टि
भिडिओ कृत्रिम देखिएपछि सो सडकखण्डमा यस्तो कुनै घटना भएको थियो वा थिएन भनेर हामीले आधिकारिक निकायहरूसँग बुझ्यौँ:
सडक डिभिजन कार्यालय भरतपुरको आधिकारिक सामाजिक सञ्जाल पेजमा २०८३ असोज ११ गते अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी खोला पुलमाथि लेदो खसेर सडक अवरुद्ध भएको र मेसिन परिचालन गरी खुलाउने प्रयास भइरहेको सूचना सार्वजनिक गरिएको थियो। तर त्यहाँ पहिरोले सवारी साधन बगाएको कुनै उल्लेख छैन।
हेर्नुहोस् सडक डिभिजन भरतपुरले सार्वजनिक गरेको पोस्टको स्क्रिनसट

सडक डिभिजनको पोस्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
जिल्ला प्रहरी कार्यालय चितवनको भनाइ:
थप यकिन गर्न हामीले जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् डीएसपी चन्द्रभूषण यादवसँग टेलिफोनमार्फत सम्पर्क गर्यौँ। उनले मुग्लिन–नारायणगढ सडकमा पहिरोले सवारी साधन बगाउने प्रकृतिको कुनै घटना नभएको स्पष्ट पारे। उनले भने— “पछिल्ला दिनमा सवारी साधन नै बगाउने गरी कुनै दुर्घटना भएको छैन। कसैले पुरानो वा एआईबाट बनाइएको भ्रामक भिडिओ भाइरल गराएको हुन सक्छ।”
तथ्यजाँच
दाबी : मुग्लिन नारायणगढ सडकखण्डमा पहिरो गएको र सवारी साधन बगाएको भिडिओ
दाबीकर्ता : Puspa Kumari Acharya नामक फेसबुक प्रयोगकर्ता
तथ्य : मिथ्या सूचना/एआई जेनेरेटेड। सामाजिक सञ्जालमा भाइरल भिडिओ वास्तविक नभई एआई प्रविधिको प्रयोग गरी कृत्रिम रूपमा तयार पारिएको हो। चितवन प्रहरी तथा सडक डिभिजन भरतपुरका अनुसार सो सडकखण्डमा पहिरोले सवारी साधन बगाउने गरी कुनै घटना भएको छैन। तसर्थ, एआई-निर्मित भिडिओ प्रयोग गरी फैलाइएको उक्त दाबी तथ्यसँग मेल खाँदैन।