तथ्यजाँच भ्रामक सूचना वागमती

‘अमेरिकाबाट फर्किएपछि सदनमा गर्जिए प्रधानमन्त्री बालेन’ भन्दै भाइरल भिडिओ पुरानो


‘अमेरिकाबाट फर्किएपछि सदनमा गर्जिए प्रधानमन्त्री बालेन’ भन्दै भाइरल भिडिओ पुरानो

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी भई नेपाल फर्किएपछि “सदनमा गर्जिएको” भन्दै संसद्मा सम्बोधन गरेको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

तर, नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचका क्रममा उक्त भिडिओ प्रधानमन्त्री शाहले अमेरिका जानुभन्दा अघि, २०८३ जेठ १७ गते संसद्मा गरेको पुरानो सम्बोधनको भएको पुष्टि भएको छ।

के हो दाबी ?
‘नेपाली लाइभ न्यूज’ नामक फेसबुक पेजमा सोमबार बिहान ८:२१ बजे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसद्मा गरेको सम्बोधनको एउटा भिडिओ अपलोड भयो । ‘अमेरिकाबाट फर्किएपछि सदनमा गर्जिए प्रधानमन्त्री बालेन्द्र शाह : संविधानमा फ्रि शिक्षा-स्वास्थ्य लेखियो, तर बजेट छ कि छैन सोचिएन’ शीर्षकमा अपलोड गरिएको भिडिओमा उनले संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् ।

उक्त अवसरमा उनले संविधानमा नि:शुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था लेखिए पनि सरकारसँग बजेट छ कि छैन भन्ने विषयमा ध्यान नदिइएको लगायतका प्रसङ्ग उल्लेख गरेका छन् । मुख्य रूपमा उक्त भिडिओमा प्रधानमन्त्री शाहले अमेरिकाबाट फर्किएपछि संसद्मा सम्बोधन गरेको दाबी गरिएको छ।

हामीले तथ्य जाँच गर्दासम्म उक्त भिडिओमा २,७०० रियाक्सन, ३२ कमेन्ट र ३५ पटक सेयर भएको छ भने भिडिओ ५० हजारभन्दा बढी पटक हेरिएको छ।

हेर्नुहोस्, भिडिओको स्क्रिन रेकर्ड :

उक्त भिडिओको ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क

नागेन्द्र चौधरी नामक फेसबुक प्रयोगकर्ताले पनि बालेनको सम्बोधनको सोही भिडिओ अपलोड गरेका छन् । ‘अमेरिकाबाट फर्किएपछि सदनमा गर्जिए प्रधानमन्त्री बालेन शाह’ भन्दै अपलोड गरिएको उक्त भिडिओमा हामीले तथ्यजाँच गर्दासम्म ४,५०० भन्दा बढी रियाक्सन, १३८ कमेन्ट र ३५० पटक सेयर भएको छ भने भिडिओ १ लाख २० हजारभन्दा बढी पटक हेरिएको छ ।

हेर्नुहोस्, भिडिओको स्क्रिन रेकर्ड :

उक्त भिडिओको ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क

अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि सोही भिडिओलाई सत्य ठानेर सेयर गरिरहेका छन् ।

के हो तथ्य ?

तथ्यजाँचका क्रममा हामीले सुरुमा प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर नेपाल फर्किएपछि संसद्मा सम्बोधन गरेको विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार खोज्यौँ। तर, हामीले खोजेका सञ्चारमाध्यमहरूमा त्यस्तो सम्बोधन भएको समाचार फेला परेन।

त्यसपछि हामीले प्रतिनिधि सभाको आधिकारिक युट्युब च्यानलमा प्रधानमन्त्री शाहको सम्बोधनबारे खोजी गर्‍यौँ । त्यस क्रममा २०८३ जेठ १७ गते आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा सम्बोधन गरेको लाइभ भिडिओ फेला पर्‍यो । उक्त समयमा प्रधानमन्त्री शाहले गरेको सम्बोधनको केही अंश भाइरल भिडिओमा रहेको दृश्य तथा सम्बोधनसँग मिल्छ।

हेर्नुहोस्, स्क्रिन रेकर्ड :

प्रधानमन्त्री शाहले संसद्मा गरेको सम्बोधनको पूरा भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन असोज ६ गते मंगलबार अमेरिका प्रस्थान गरेका थिए । उनले असोज ९ गते महासभालाई सम्बोधन गरे भने असोज १० गते स्वदेश फर्किए । स्वदेश फर्किएपछि उनले संसद्मा कुनै सम्बोधन गरेका छैनन ।

तसर्थ, भिडिओ प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जानुभन्दा अघि, अर्थात् २०८३ जेठ १७ गते संसद्मा गरेको सम्बोधनको भएको पुष्टि हुन्छ।

तथ्य जाँच
दाबी : ‘अमेरिकाबाट फर्किएपछि सदनमा गर्जिए प्रधानमन्त्री बालेन्द्र शाह’ भन्दै भाइरल बनाइएको भिडिओ ।

दाबीकर्ता : ‘नेपाली लाइभ न्यूज’ नामक फेसबुक पेज र ‘नागेन्द्र चौधरी’ नामक फेसबुक प्रयोगकर्ता ।

तथ्य : भ्रामक (Misleading) । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन असोज ६ गते मंगलबार अमेरिका प्रस्थान गरेका थिए । असोज ९ गते महासभालाई सम्बोधन गरी असोज १० गते स्वदेश फर्किएपछि उनले संसद्मा सम्बोधन गरेका छैनन् । २०८३ जेठ १७ गते संसद्मा गरिएको पुरानो सम्बोधनलाई नै अहिले ‘अमेरिकाबाट फर्किएपछि सदनमा गर्जिए..’ भन्दै भाइरल बनाइएको हाम्रो तथ्य जाँचबाट पुष्टि हुन्छ ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add