- सुरज घिमिरे
- अशोज १५, २०८३

‘मनाङको हिमलुङमा गएको हिमपहिरो’ भन्दै एनडीटीभीले देखाएको भिडिओ अन्नपूर्ण क्षेत्रको पाँच वर्ष पुरानो
भारतीय सञ्चारमाध्यम एनडीटीभी इन्डियाले नेपालको मनाङस्थित हिमलुङ हिमालमा हालै गएको हिमपहिरोको दृश्य भन्दै एउटा भिडिओ सार्वजनिक गरेको छ।
तर, नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचका क्रममा उक्त भिडिओ हालैको घटनाको नभई सन् २०२१ मा अन्नपूर्ण क्षेत्रको कापुचे हिमतालमा खसेको हिमपहिरोको भएको पुष्टि भएको छ।
के हो दाबी ?
भारतीय सञ्चारमाध्यम एनडीटीभी इन्डियाको वेबसाइटमा “नेपाल में कुदरत की तबाही का पार्ट-२, पूरी पहाड़ी ढहने से ‘बर्फीली बाढ़’ तक के ५ डरावने भिडिओ” शीर्षकमा एउटा समाचार सामग्री प्रकाशित गरेको छ। उक्त समाचारमा नेपालमा हालै घटेका प्राकृतिक विपद्का दृश्य भन्दै पाँच वटा भिडिओहरू भएको दाबी गरिएको छ।
सोही समाचारको पहिलो नम्बरमा ‘नेपालको हिमलुङ हिमालमा हिमपहिरो’ भन्दै Nepal Correspondence नामको एक्स (ट्विटर) ह्यान्डलबाट पोस्ट गरिएको एउटा भिडिओ समावेश छ, जसमा पहाडको भिरालो भागबाट ठूलो हिमपहिरो खसेको देखिन्छ ।
समाचारमा दाबी गरिएको छ, “आइतबार नेपालको मनाङ जिल्लास्थित ७,१२६ मिटर अग्लो हिमलुङ हिमालको आधार शिविरमा हिमपहिरो गएको थियो । भिडिओमा पहाडबाट हिउँको बाढी बगेको देखियो । सोमबार थप दुई शव निकालिएपछि मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने आठ जना अझै बेपत्ता छन् ।”
हेर्नुहोस्, भिडिओको स्क्रिन रेकर्ड, ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क :
उक्त समाचारको ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क
के हो तथ्य ?
तथ्यजाँचका क्रममा हामीले सुरुमा मनाङमा हालै गएको हिमपहिरोसम्बन्धी समाचारहरू खोजी गर्यौँ । सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालको आधार शिविर (बेसक्याम्प)मा हिमपहिरो गएको पुष्टि हुन्छ। सो घटनामा ट्रेकिङ टोलीका कर्मचारीहरू बेपत्ता भएका थिए र उद्धार टोलीले केही शवहरू फेला पारेको पुष्टि भएको छ ।
त्यसपछि हामीले एनडीटीभीले प्रयोग गरेको भिडिओको स्रोत पत्ता लगाउन सो भिडिओका मुख्य की-फ्रेमहरू निकालेर गुगल रिभर्स इमेज सर्च गर्यौँ । खोजीका क्रममा सन् २०२१ जनवरी २० मा David Snow नामक युट्युब च्यानलमा अपलोड गरिएको एउटा भिडिओ फेला पर्यो।
‘विस्फोटक पदार्थको प्रयोगबिनै गएको हिमपहिरो’ दाबी गर्दै पोस्ट गरिएको उक्त भिडिओ कास्कीको अन्नपूर्ण क्षेत्रमा पर्ने कापुचे हिमताल नजिकैबाट खिचिएको र हिमपहिरोको भएको उल्लेख छ । सो भिडिओ र अहिले एनडीटीभीले मनाङको हिमलुङ हिमालको भन्दै देखाएको भिडिओ हुबहु मिल्छ ।
हेर्नुहोस्, स्क्रिन सट :

उक्त भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्
यस विषयमा थप खोजी गर्दा, सन् २०२१ जनवरी २२ मा बीबीसी नेपाली सेवाले प्रकाशित गरेको ‘हिमपहिरोको भिडिओ खिच्ने पदयात्री भन्छन्, १० मिनेटले जोगिएँ’ शीर्षकको रिपोर्ट फेला पर्यो ।
बीबीसीको उक्त भिडिओ रिपोर्टमा देखिएको दृश्य र अहिले एनडीटीभीले हालैको घटना भनेर देखाएको दृश्य पनि उही भएको देखिन्छ। बीबीसीले पनि यो दृश्य अन्नपूर्ण क्षेत्रको कापुचे हिमतालमा खसेको हिमपहिरोकै भएको उल्लेख गरेको छ।
हेर्नुहोस्, स्क्रिन सट :

उक्त भिडिओ रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
तथ्य जाँच/निष्कर्ष
दाबी : नेपालको हिमलुङ हिमालमा हालै गएको हिमपहिरोको दृश्य ।
दाबीकर्ता : भारतीय सञ्चारमाध्यम एनडीटीभी इन्डिया ।
तथ्य : भ्रामक (Misleading) । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालको बेसक्याम्पमा हिमपहिरो गएको कुरा साँचो भए तापनि, एनडीटीभीले प्रयोग गरेको भिडिओ भने सन् २०२१ जनवरी २० अन्नपूर्ण क्षेत्रको कापुचे हिमतालमा खसेको ५ वर्ष पुरानो हिमपहिरोको हो ।