- सुरज घिमिरे
- अशोज २२, २०८३

‘मनसुन बाहिरिन थाल्यो, के अब पानी पर्न छाड्छ ?’ यी हुन् ५ मुख्य प्रश्नका जवाफ [एक्स्प्लेनर]
नेपालबाट यस वर्षको मनसुन बाहिरिन सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार २०८३ असोज १७ (३ अक्टोबर २०२६) बाट सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट मनसुन बाहिरिएको छ।
नेपालमा मनसुन प्रवेशको सरदर (औसत) मिति जुन १३ र बाहिरिने सरदर मिति अक्टोबर २ हो । यस वर्ष मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो गरी १९ जुनमा कोसी प्रदेशबाट नेपाल प्रवेश गरेको थियो।
मनसुन बाहिरिन थालेसँगै ‘अब पानी पर्न छाड्छ’, ‘विपद्को जोखिम सकियो’ वा ‘यसपालि मनसुन ढिलो बाहिरियो’ जस्ता विभिन्न भ्रम र प्रश्नहरू देखिएका छन् । तर यसको वास्तविक अवस्था के हो ? नेपालमा मनसुन कसरी बाहिरिन्छ ? अनि यस वर्षको वर्षायाममा कहाँ–कहाँ कति पानी पर्यो ?
यो एक्स्प्लेनरमा हामी मनसुनको बहिर्गमन, यसको मौसमी चक्र, यस वर्षको वर्षाको अवस्था र सम्भावित जोखिमबारे जानकारी प्रस्तुत गर्दछौँ ।
१. मनसुन बाहिरिनुको अर्थ के हो ? के अब पानी पर्न पूर्ण रूपमा बन्द हुन्छ ?
यसको सोझो उत्तर हो – हुँदैन ।
मनसुन बाहिरिने प्रक्रिया एकैपटक वा एकै दिन देशभर हुँदैन । मनसुन सामान्यतया देशको पश्चिमबाट पूर्वतर्फ सर्दै बाहिरिने गर्छ।
अक्टोबर ३ बाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पश्चिमी क्षेत्रबाट मनसुनी वायु कमजोर भई बाहिरिन थाले पनि मध्य र पूर्वी नेपालमा यसको प्रभाव अझै कायमै छ । त्यसैले पश्चिमी भूभागबाट मनसुन बाहिरिन थालेको अर्थ देशभरबाट मनसुन सकियो भन्ने होइन ।
मनसुन बाहिरिन थालेपछि वा पूर्ण रूपमा बाहिरिइसकेपछि पनि पानी पर्ने सम्भावना रहन्छ । मनसुनपछि पश्चिमी वायु, स्थानीय मौसमी प्रणाली वा अन्य वायुमण्डलीय प्रभावका कारण वर्षा हुन सक्छ । त्यसैले ‘मनसुन बाहिरिन थाल्यो, अब पानी पर्नै छाड्छ’ भन्ने बुझाइ मौसमी दृष्टिकोणले सही होइन ।
३ अक्टोबरकै उदाहरण हेर्ने हो भने पनि मनसुन पश्चिमबाट बाहिरिँदै गर्दा कोसी, बागमती र गण्डकीका धेरै स्थानमा पानी परिरहेको थियो । अहिले नेपालमा मनसुनी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । त्यसैले देशका विभिन्न स्थानमा अझै पानी परिरहेको छ ।
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार नेपालको सुदूरपश्चिमतर्फबाट मनसुन बाहिरिन थाले पनि देशका मध्य र पूर्वी भागमा मनसुनी प्रभाव अझै बाँकी छ । त्यसमाथि पश्चिमबाट आएको अर्को वायु प्रणाली पनि थपिएको छ ।
उनका अनुसार भारतको गुजरात-महाराष्ट्र हुँदै उत्तर प्रदेशबाट पश्चिम तथा मध्यपश्चिम नेपालको आकाशतर्फ प्रवेश गरिरहेको वायु प्रणाली र माथिल्लो वायुमण्डलको अस्थिरताले अहिलेको वर्षालाई थप सक्रिय बनाइरहेको छ ।
२. के यो वर्ष मनसुन बाहिरिन अस्वाभाविक ढिलाइ भएको हो ?
होइन ।
नेपालमा मनसुनको आगमन र बहिर्गमनको मिति हरेक वर्ष केही तल–माथि हुने गरेको छ । नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिने सरदर (औसत) मिति अक्टोबर २ हो । यस वर्ष पश्चिमी भूभागबाट मनसुन बाहिरिन सुरु भएको मिति अक्टोबर ३ हो । अर्थात्, सरदर मितिको एक दिनपछि पश्चिमी भूभागबाट बहिर्गमन सुरु भएको हो ।
पछिल्ला केही वर्षको तथ्यांक हेर्दा पनि मनसुनको आगमन र बहिर्गमनमा वर्षैपिच्छे फरक देखिन्छ ।
पछिल्ला वर्षहरूमा मनसुनको अवस्था :
- सन् २०२५ : मनसुन मे २९ मा भित्रिएर अक्टोबर १० मा बाहिरिएको ।
- सन् २०२४ : मनसुन जुन १० मा भित्रिएर अक्टोबर १२ मा बाहिरिएको ।
- सन् २०२३ : मनसुन जुन १४ मा भित्रिएर अक्टोबर १५ मा बाहिरिएको ।
- सन् २०२२ : मनसुन जुन ५ मा भित्रिएर अक्टोबर १६ मा बाहिरिएको ।
- सन् २०२१ : मनसुन जुन ११ मा भित्रिएर अक्टोबर ११ मा बाहिरिएको ।
- सन् २०२० : मनसुन जुन १२ मा भित्रिएर अक्टोबर १६ मा बाहिरिएको ।
३. मनसुनको अवधि कति हुन्छ र यस वर्ष कति पानी पर्यो ?
नेपालमा मुख्यतया जुन, जुलाई, अगस्ट र सेप्टेम्बर गरी चार महिनालाई मुख्य मनसुन अवधि मानिन्छ । नेपालमा वर्षभरि पर्ने कूल वर्षाको करिब ८० प्रतिशत वर्षा यही अवधिमा हुने गर्छ ।
यस वर्ष जल तथा मौसम विज्ञान विभागले मनसुन अवधिभर देशभर सरदरभन्दा कम वर्षा हुने पूर्वानुमान गरेको थियो । तर विभागको स्टेशनगत तथ्यांकअनुसार देशका विभिन्न भागमा ठूलो मात्रामा वर्षा मापन भएको छ ।
४ महिना (जुन, जुलाई, अगस्ट र सेप्टेम्बर) को अवधिमा सबैभन्दा धेरै वर्षा मापन भएका प्रमुख पाँच स्टेशन यस्ता छन्:
गोब्रे, सिन्धुपाल्चोक : ४,०५०.८ मिलिमिटर
लुम्ले, कास्की : ३,८७३.४ मिलिमिटर
भुजुङ, लमजुङ : ३,६११.२ मिलिमिटर
याङ्जाकोट, कास्की : ३,४३१.८ मिलिमिटर
मेलम्ची-घ्याङ, सिन्धुपाल्चोक : ३,२४०.४ मिलिमिटर
४. मनसुन बाहिरिन थालेपछि अब वर्षासँगै विपद्को जोखिम सकिएको हो ?
सकिएको छैन ।
जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाका मौसमविद् अशोक बख्रेल मनसुन बाहिरिँदैमा वर्षा र विपद्को जोखिम पूर्ण रूपमा हट्छ भन्ने नहुने बताउँछन् ।
मनसुनको समयमा अरब सागर र बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावाले नेपालमा वर्षा गराउन महत्वपूर्ण भूमिका खेल्छ । यी क्षेत्रबाट आउने जलवाष्प मनसुनी वर्षाको प्रमुख आधार हो ।
मौसमविद् बख्रेल भन्छन्, ‘मनसुन बाहिरिएपछि वर्षा गराउने प्रणाली पनि परिवर्तन हुन्छ । त्यस समयमा पश्चिमी वायु तथा अन्य स्थानीय र क्षेत्रीय मौसमी प्रणालीका कारण वर्षा हुन सक्छ । त्यसैले मनसुन बाहिरियो भन्दैमा पानी पर्ने क्रम पूर्ण रूपमा रोकिन्छ भन्ने हुँदैन ।’
उनी थप्छन्, ‘मनसुनको समयमा जस्तो व्यापक र नियमित वर्षा नहुन सक्छ, तर स्थानीय मौसमी प्रणाली सक्रिय हुँदा वर्षा हुन सक्छ । त्यसैले मनसुन बाहिरिने क्रम सुरु भयो भन्दैमा वर्षा र विपद्को जोखिम पूर्ण रूपमा हटिसक्यो भनेर बुझ्नु हुँदैन ।’
५. मनसुन कहिले पूर्ण रूपमा बाहिरिन्छ ?
यसको ठ्याक्कै मिति पहिले नै तोक्न सकिँदैन । मौसमविद् उपाध्याय भन्छन् – ‘प्रकृतिको आफ्नै टाइमिङ हुन्छ, मनसुन क्यालेन्डर हेरेर मात्र बिदा हुँदैन ।’
मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायु कमजोर हुँदै गएकाले बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जनाएको छ । तर पूर्ण बहिर्गमनको औपचारिक घोषणा मौसमको वास्तविक अवस्था र महाशाखाको निरन्तर अनुगमनका आधारमा मात्र गरिने महाशाखाले जनाएको छ ।
त्यसैले पश्चिमी भूभागबाट मनसुन बाहिरिन सुरु भइसके पनि देशभरबाट मनसुन पूर्ण रूपमा बाहिरिन बाँकी नै छ । मनसुन बाहिरिएपछि पनि मौसम पूर्ण रूपमा सुक्खा हुन्छ भन्ने हुँदैन ।