- सुरज घिमिरे
- अशोज २६, २०८३

दशैँको टीकाको भोलिपल्ट भारी वर्षा हुने खबर भ्रामक, पुरानो अडिओ जोडेर भ्रम फैलाइयो
सामाजिक सञ्जालमा दशैँको टीकाको भोलिपल्टदेखि नेपालमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सामग्रीहरू भाइरल बनेका छन् । नेपालफ्याक्टचेकले गरेको तथ्य जाँच अनुसार दशैँको पूर्वसन्ध्यामा बाढीको पुरानो भिडिओमा अघिल्लो वर्षको समाचारको अडिओ जोडेर भाइरल बनाइएको पुष्टि हुन्छ । मौसमविद्हरूले पनि अहिलेसम्मको मौसमी अवस्था हेर्दा आगामी दशैँमा भारी वर्षा हुने कुनै सम्भावना नदेखिएको बताएका छन् ।
के हो दाबी ?
फेसबुकमा १५ हजार फलोअर्स रहेकी विष्णु घिमिरे नामक प्रयोगकर्ताले अक्टोबर ९ (असोज २३ गते) एउटा भिडिओ अपलोड गरिन् ।
बाढीको दृश्य राखिएको उक्त भिडिओमा समाचारको शैलीमा भनिएको छ – “दशैँको टीकाको भोलिपल्टदेखि नेपालमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसमविद्हरूले अनुरोध गरेका छन् । यस वर्षाले…”
‘दशैँको टीका लगाउन टाढा जाँदै हुनुहुन्छ भने आफ्नो ख्याल राखेर मात्र हिँड्नुहोला’ शीर्षकमा अपलोड गरिएको उक्त भिडिओमा हामीले तथ्य जाँच गर्दासम्म ५० हजार ५ सयभन्दा बढी रियाक्सन, ३०१ कमेन्ट र १,१०० भन्दा बढी पटक सेयर भइसकेको छ । भिडिओ १८ लाखभन्दा बढी पटक हेरिएको छ ।
हेर्नुहोस्, उक्त भिडिओको स्क्रिन रेकर्ड :
[भिडिओको ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क]
सोही भिडिओ खोज/वातावरण पत्रकार सविन शर्माको नाममा रहेको अकाउन्टमा पनि अक्टोबर १० मा आफ्नो फेसबुकमा अपलोड गरेका छन् । उक्त भिडिओ र शीर्षकमा पनि सोही दाबी दोहोर्याइएको छ ।
हेर्नुहोस्, उक्त भिडिओको स्क्रिन रेकर्ड :
[भिडिओको ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क]
के हो तथ्य ?
तथ्य जाँचका क्रममा हामीले सुरुमा दशैँको समयमा वर्षा हुने सम्भावना सम्बन्धी आधिकारिक समाचारहरू खोज्यौँ । तर त्यस्तो कुनै आधिकारिक समाचार फेला परेन।
भाइरल भिडिओमा नेपालमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गरिए पनि कुन-कुन ठाउँमा वर्षा हुन्छ भन्ने स्पष्ट पारिएको छैन ।
यस वर्षको दशैँको टीकाको दिन कात्तिक ४ गते बुधबार परेको छ ।
हामीले जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको आगामी दिनहरूको मौसम पूर्वानुमान अध्ययन गर्यौँ । तर दशैँ र सो आसपासको मौसम पूर्वानुमानबारे कुनै त्यस्तो बुलेटिन वा रिपोर्ट फेला पारेनौँ ।
यस विषयमा थप प्रस्ट हुन हामीले जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलसँग सम्पर्क गर्यौँ । उनले नेपालफ्याक्टचेकसँगको कुराकानीमा अहिलेसम्मको मौसमी अवस्था हेर्दा दशैँमा भारी वर्षा हुने कुनै सम्भावना नदेखिएको बताइन् ।
उनले भनिन्, “अहिलेसम्मको मौसमी अवस्था हेर्दा दशैँमा भारी वर्षा हुने कुनै सम्भावना देखिएको छैन । भारी वर्षा हुनका लागि त्यसअनुसारको मौसमी प्रणाली विकास हुनुपर्छ । तर, अहिलेसम्म त्यस्तो प्रणाली देखिएको छैन। वर्षा भइहाले पनि हल्कादेखि सामान्यसम्म हुन सक्छ। दशैँको मौसमसम्बन्धी विशेष बुलेटिन भने पछि सार्वजनिक गर्नेछौँ ।”
हामीले भाइरल भिडिओमा प्रयोग भएको अडिओबारे पनि खोजी गर्यौँ ।
अघिल्लो वर्ष (सन् २०२५ अक्टोबर १) मा ‘दसैँको टीकाको भोलिपल्टदेखि नेपालमा अति भारी वर्षा हुने सम्भावना’ शीर्षकमा ‘स्पेश फोर के टेलिभिजनको’ युट्युब च्यानलमा समाचार अपलोड गरिएको भेटियो ।
उक्त समाचारमा वाचकले भनेकी छन् – “दशैँको टीकाको भोलिपल्टदेखि नेपालमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसमविद्हरूले अनुरोध गरेका छन्…”
अहिले भाइरल भिडिओमा प्रयोग भएको समाचारको वाक्य र आवाज उक्त युट्युब भिडिओको अडिओसँग हुबहु मिल्छ ।
हेर्नुहोस्, समाचारको केही अंशको स्क्रिन रेकर्ड :
उक्त समाचार हेर्न यहाँ क्लिक गर्नुहोस्
यसरी दशैँको पूर्वसन्ध्यामा बाढीको भिडिओमा अघिल्ला वर्षको समाचारको अडिओ क्लिप जोडेर भ्रम फैलाउने उद्देश्यले भाइरल बनाइएको तथ्य जाँचबाट पुष्टि हुन्छ ।
तथ्य जाँच/निष्कर्ष
दाबी : ‘दशैँको टीकाको भोलिपल्टदेखि नेपालमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना’ रहेको भन्दै भाइरल बनेको खबर।
दाबीकर्ता : फेसबुक प्रयोगकर्ता विष्णु घिमिरे र सविन शर्मा ।
तथ्य : भ्रामक (Misleading) । अहिलेसम्मको मौसमी अवस्था अनुसार दशैँमा भारी वर्षा हुने कुनै सम्भावना देखिएको छैन । अघिल्लो वर्षको पुरानो समाचारको अडिओ क्लिपलाई बाढीको भिडिओमा जोडेर भ्रामक रूपमा फैलाइएको पुष्टि हुन्छ ।