जलवायु र वातावरण तथ्यजाँच भ्रामक सूचना वागमती

‘बुढीगण्डकीको बाढीमा गाडीमाथि चढेर ज्यान बचाएको’ दाबी भ्रामक, भाइरल फोटो चिलीको


‘बुढीगण्डकीको बाढीमा गाडीमाथि चढेर ज्यान बचाएको’ दाबी भ्रामक, भाइरल फोटो चिलीको

अहिले सामाजिक सञ्जालमा “बुढीगण्डकीमा भीषण बाढी आएपछि एक जना व्यक्ति गाडीमाथि चढेर ज्यान बचाए” भन्दै एउटा फोटो भाइरल भइरहेको छ। तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँच अनुसार उक्त फोटो नेपालको नभई चिलीमा आएको बाढीको हो । तसर्थ भाइरल फोटो र बुढीगण्डकीको बाढीबीच कुनै सम्बन्ध छैन ।

के हो दाबी ?

फेसबुकमा १७ हजार फलोअर्स रहेका प्रयोगकर्ता यज्ञ खड्काले अक्टोबर ११ (आइतबार) दिउँसो १:४३ बजे एउटा फोटो अपलोड गरे।

बुढीगण्डकी नदीमा बाढी आएकै दिन पोस्ट गरिएको उक्त फोटोमा एक व्यक्ति बाढीबाट बच्न सवारीसाधनमाथि चढेको देखिन्छ । फोटो पोस्ट गर्दै खड्काले लेखेका छन्, “बुढीगण्डकीमा भीषण बाढी आएपछि एक जना व्यक्ति गाडीमाथि चढेर आफ्नो ज्यान बचाएका छन्…”

हामीले तथ्य जाँच गर्दासम्म उक्त पोस्टमा ४२७ रियाक्सन, ११ कमेन्ट र १५ पटक सेयर भएको छ ।

हेर्नुहोस्, उक्त फेसबुक पोस्टको स्क्रिनसट :

[उक्त पोस्टको लिङ्क र अर्काइभ लिङ्क]

यसैगरी, १२ हजार फलोअर्स रहेको ‘अपडेट नेपाल २’ नामक फेसबुक पेजबाट पनि सोही फोटो र दाबीसहित अक्टोबर ११ बिहान ११:३८ बजे ७ लाख ३० हजारभन्दा बढी सदस्य रहेको ‘भोजराज थापा सपोर्टर्स’ नामक फेसबुक ग्रुपमा अपलोड गरिएको छ ।

हामीले तथ्य जाँच गर्दासम्म उक्त पोस्टमा २६४ रियाक्सन, ६ कमेन्ट र ४ पटक सेयर भएको छ ।

हेर्नुहोस्, उक्त पोस्टको स्क्रिनसट :

[उक्त पोस्टको लिङ्क र अर्काइभ लिङ्क]

अन्य विभिन्न फेसबुक पेज तथा ग्रुपहरूमा पनि यही दाबीका साथ सो फोटो सेयर गरिएको पाइएको छ ।

के हो तथ्य ?

तथ्य जाँचका क्रममा हामीले सुरुमा ‘बुढीगण्डकी बाढी’सम्बन्धी किवर्डहरू राखेर गुगलमा सर्च गर्‍यौँ । तर कुनै पनि आधिकारिक निकाय वा विश्वासिला सञ्चारमाध्यमले उक्त भाइरल फोटो प्रयोग गरेको भेटिएन ।

त्यसपछि हामीले उक्त फोटोलाई गुगल रिभर्स इमेज सर्च गरेर हेर्‍यौँ । सर्चका क्रममा सीएनएन अरबिकमा सन् २०२६ अक्टोबर ९ मा प्रकाशित एउटा भिडिओ भेटियो । चिलीको राजधानी सान्टियागोमा मुसलधारे वर्षापछि आएको भीषण बाढीमा एक व्यक्ति ट्रकको छेउमा समातेर बसेको उक्त भिडिओको दृश्य र बुढीगण्डकीको बाढी भन्दै भाइरल बनाइएको फोटो हुबहु मिल्दोजुल्दो छ ।

हेर्नुहोस्, स्क्रिनसट (नेपालीमा अनूदित) :

उक्त भिडिओ सामग्री हेर्न यहाँ क्लिक गर्नुहोस्

सोही भिडिओ सीएनएनको अंग्रेजी संस्करणमा पनि ‘चिलीमा बाढीले बगाएको ट्रकलाई एक व्यक्तिले समातेर बसिरहेका छन्’ भन्ने शीर्षकमा अपलोड गरिएको छ ।

हेर्नुहोस्, स्क्रिनसट :

उक्त भिडिओ सामग्री हेर्न यहाँ क्लिक गर्नुहोस्

सीएनएनको आधिकारिक फेसबुक पेजमा पनि अक्टोबर १० मा सोही भिडिओ अपलोड गरिएको छ ।

हेर्नुहोस्, स्क्रिनसट :

उक्त भिडिओ सामग्री हेर्न यहाँ क्लिक गर्नुहोस्

यस्तै, बेलायती अनलाइन पत्रिका द इन्डिपेन्डेन्टको फेसबुक पेजमा पनि सो भिडिओ अपलोड गरिएको छ, जहाँ ‘चिलीमा शक्तिशाली लेदोसहितको पहिरोले बगाउनु ठीक अघि एक चालक आफ्नो डुबेको ट्रकबाट ज्यान बचाएर निस्किएको चमत्कारिक क्षण’ भन्दै उल्लेख गरिएको छ ।

हेर्नुहोस्, स्क्रिनसट :

उक्त भिडिओ सामग्री हेर्न यहाँ क्लिक गर्नुहोस्

हामीले सीएनएन र द इन्डिपेन्डेन्टले पोस्ट गरेका भिडियोका दृश्यहरूलाई नेपालमा भाइरल बनाइएको फोटोसँग तुलना गर्दा बाढीको दृश्य र व्यक्तिको स्थान हुबहु मिलेको पुष्टि भयो ।

हेर्नुहोस्, स्क्रिनसट :

यसरी चिलीमा आएको बाढीको पुरानो दृश्य/फोटोलाई नेपालको बुढीगण्डकी नदीमा आएको बाढी भन्दै गलत दाबीका साथ फैलाइएको पुष्टि हुन्छ ।

तथ्य जाँच/निष्कर्ष

दाबी : ‘बुढीगण्डकीमा भीषण बाढी आएपछि एक जना व्यक्तिले गाडीमाथि चढेर आफ्नो ज्यान बचाए’ भन्दै भाइरल बनाइएको फोटो ।

दाबीकर्ता : फेसबुक प्रयोगकर्ता यज्ञ खड्का र ‘अपडेट नेपाल २’ नामक फेसबुक पेज।

तथ्य : भ्रामक (Misleading) । भाइरल फोटो नेपालको बुढीगण्डकीको नभई चिलीको राजधानी सान्टियागोमा आएको बाढीको हो । उक्त फोटो र बुढीगण्डकीको बाढीबीच कुनै सम्बन्ध छैन ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add