- क्लाइमेट डेस्क
- मंसिर २, २०८३

हिन्दुकुश हिमालय : एसियाका लागि किन महत्त्वपूर्ण छन् यी हिमाल ?
हिमाल भन्नासाथ हामी हिउँले ढाकिएका अग्ला चुचुरा र हिमनदी सम्झन्छौँ । तर हिमालको महत्त्व प्राकृतिक सुन्दरतामा मात्र सीमित छैन । एसियाका करोडौँ मानिसको खानेपानी, कृषि, खाद्य उत्पादन, ऊर्जा र जीविकोपार्जनसँग हिमालको प्रत्यक्ष सम्बन्ध छ ।
अफगानिस्तानदेखि म्यानमारसम्म करिब ३,५०० किलोमिटर क्षेत्रमा फैलिएको हिन्दुकुश हिमालय ((Hindu Kush Himalaya-HKH) लाई ‘तेस्रो ध्रुव’ (Third Pole) पनि भनिन्छ । ध्रुवीय क्षेत्रबाहिर विश्वकै सबैभन्दा ठूलो बरफको भण्डार रहेकाले यस क्षेत्रलाई तेस्रो ध्रुव भनिएको हो । यहाँका हिमनदी र हिउँसँग जोडिएका १० प्रमुख नदी प्रणालीका जलाधार क्षेत्रबाट करिब १.९ अर्ब मानिसले पानी प्राप्त गर्छन् ।
जलवायु परिवर्तनका कारण यहाँका हिमनदी तीव्र गतिमा पग्लिरहेका छन् । यसको असर हिमाली बस्तीमा मात्र सीमित नरही एसियाको खाद्य, पानी र ऊर्जा सुरक्षासम्म पुग्न सक्छ । आखिर हिन्दुकुश हिमालय किन यति महत्त्वपूर्ण छ ? जलवायु परिवर्तनले यसलाई कसरी प्रभावित गरिरहेको छ ? र, यसको संरक्षणमा नेपालले कस्तो भूमिका खेल्न सक्छ ? हामी यस एक्सप्लेनरमार्फत यी विषयहरूका बारेमा चर्चा गर्दैछौं ।
के हो हिन्दुकुश हिमालय क्षेत्र ?
हिन्दुकुश हिमालय एसियाको मध्य तथा दक्षिणी भागमा फैलिएको विशाल पर्वतीय प्रणाली हो । यसले अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल, चीन, भुटान, बङ्गलादेश र म्यानमार गरी आठ देशका सम्पूर्ण वा आंशिक भूभाग समेट्छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार यस क्षेत्रसँग अमु दर्या, सिन्धु, गङ्गा, ब्रह्मपुत्र, इरावदी, सालविन, मेकोङ, याङ्त्से, ह्वाङ्हो र तारिम गरी १० प्रमुख नदी प्रणाली जोडिएका छन् । यी नदी प्रणालीका जलाधार क्षेत्रमा करिब १.९ अर्ब मानिस बसोबास गर्छन् र पानीका लागि यी नदीमा निर्भर छन् ।
यस क्षेत्रलाई ‘एसियाको पानीको टावर’ (Water Tower of Asia) पनि भनिन्छ। यहाँ सञ्चित हिउँ र बरफले नदीहरूमा पानीको बहाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छन् । विशेषगरी हिउँ पग्लिने वसन्त र गर्मीयाममा नदीमा पानीको मात्रा बढ्छ । यसले कृषि, खानेपानी र अन्य आर्थिक गतिविधिका लागि सहयोग पुर्याउँछ । यद्यपि, नदीमा हिमनदी र हिउँ पग्लिएर आउने पानीको योगदान सबै नदी प्रणालीमा समान हुँदैन । कतिपय नदीमा मनसुनी वर्षाको योगदान बढी हुन्छ ।
हिमाल र नदीले एसियाका मानिसको जीवनलाई कसरी जोड्छन् ?
हिन्दुकुश हिमालयसँग जोडिएका नदी प्रणालीले खानेपानी, सिँचाइ र उद्योगका लागि पानी उपलब्ध गराउँछन् । गङ्गा र ब्रह्मपुत्र नदी दक्षिण एसियाको कृषि उत्पादनसँग जोडिएका छन् भने मेकोङ नदी दक्षिणपूर्वी एसियाका लाखौँ मानिसको कृषि र मत्स्यपालनको आधार हो ।
सिन्धु नदी प्रणाली पाकिस्तानको कृषि र खाद्य उत्पादनका लागि विशेष महत्त्वपूर्ण छ । त्यस्तै, यी नदी प्रणालीबाट प्राप्त पानी जलविद्युत् उत्पादनका लागि पनि प्रयोग हुन्छ । यसरी हिन्दुकुश हिमालयसँग जोडिएका जलस्रोतले एसियाका विभिन्न देशको अर्थतन्त्र र ऊर्जा सुरक्षामा योगदान पुर्याउँछन् ।
यस क्षेत्रको महत्त्व पानीमा मात्र सीमित छैन । यहाँ पाइने हिउँचितुवा, रातो पान्डालगायतका दुर्लभ वन्यजन्तु, वनस्पति र विविध पारिस्थितिक प्रणालीले जैविक विविधता संरक्षणमा योगदान पुर्याउँछन् । साथै, हिमाली समुदायको संस्कृति, परम्परागत ज्ञान, पर्यटन र जीविकोपार्जन पनि यस क्षेत्रसँग जोडिएका छन् ।
जलवायु परिवर्तनले हिन्दुकुश हिमालयमा कस्तो असर पारिरहेको छ ?
विश्वव्यापी तापक्रम वृद्धिका कारण हिन्दुकुश हिमालयका हिमनदी तीव्र गतिमा पग्लिरहेका छन् । इसिमोडको सन् २०२३ को एक प्रतिवेदनअनुसार सन् २०११ देखि २०२० सम्म यस क्षेत्रका हिमनदी अघिल्लो दशकको तुलनामा ६५ प्रतिशत छिटो पग्लिएका थिए ।
त्यस्तै, इसिमोडको सन् २०२६ को अध्ययनअनुसार सन् १९९० देखि २०२० सम्म हिन्दुकुश हिमालयका हिमनदीको कुल क्षेत्रफल करिब १२ प्रतिशत र अनुमानित बरफको भण्डार करिब ९ प्रतिशतले घटेको छ । सन् २००० पछि हिमनदीमा बरफ क्षय हुने दर दोब्बर भएको प्रतिवेदनले देखाएको छ । यस क्षेत्रमा साना हिमनदी बढी जोखिममा छन् ।
तापक्रम वृद्धिले हिमपातको मात्रा, समय र नदीको बहावमा समेत परिवर्तन ल्याइरहेको छ । हिमनदी तीव्र गतिमा पग्लिँदा सुरुमा नदीमा पानीको बहाव बढ्न सक्छ । तर, दीर्घकालमा हिमनदीको आकार र बरफको मात्रा घट्दै जाँदा नदीमा हिमनदीबाट प्राप्त हुने पानीको उपलब्धता कमजोर हुन सक्छ । यसले सिँचाइ, खानेपानी र जलविद्युत् उत्पादनमा असर पार्न सक्छ ।
यसको अर्थ तत्कालका लागि पानीको बहाव बढ्नु दीर्घकालीन जलस्रोत सुरक्षाको सङ्केत होइन । हिमनदीमा सञ्चित पानीको मात्रा घट्दै जाँदा विशेषगरी सुक्खा मौसममा पानीको उपलब्धतामा असर पर्न सक्छ । यस्तो परिवर्तनको प्रभाव भने प्रत्येक नदी प्रणालीमा फरक हुन सक्छ ।
त्यस्तै, हिमताल फुटेर हुने बाढी (Glacial Lake Outburst Flood-GLOF), पहिरो र अन्य प्राकृतिक विपद्को जोखिम पनि बढ्न सक्छ । हिमनदी पग्लिँदै पछि हट्दा नयाँ हिमताल बन्ने र पुराना हिमतालको आकार बढ्ने सम्भावना हुन्छ । यस्ता ताल हिमनदीले थुपारेको ढुङ्गा, माटो र गेग्रानबाट बनेको प्राकृतिक बाँधले रोकिएका हुन सक्छन् । बाँध कमजोर भएर फुटेमा वा हिमतालमा ठूलो छाल उत्पन्न भएमा तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति हुन सक्छ ।
हिमनदी र मौसम अनुगमनमा चुनौती के छन् ?
हिन्दुकुश हिमालयको विकट भूगोल, अत्यधिक चिसो र यातायातको असुविधाका कारण नियमित अध्ययन तथा तथ्याङ्क सङ्कलन कठिन छ । सबै क्षेत्रमा पर्याप्त मौसम मापन केन्द्र र हिमनदी अनुगमन प्रणाली छैनन् ।
हिमनदीको आकार, मोटाइ र बरफको मात्रा मापन गर्न नियमित स्थलगत अध्ययन आवश्यक हुन्छ । दुर्गम क्षेत्रमा यस्ता अध्ययन गर्न खर्चिलो र प्राविधिक रूपमा चुनौतीपूर्ण छ । स्याटलाइटबाट प्राप्त तथ्याङ्कले हिमनदीको अवस्था बुझ्न सहयोग गरे पनि त्यसलाई स्थलगत मापनबाट पुष्टि गर्नु आवश्यक हुन्छ ।
इसिमोडको सन् २०२६ को प्रतिवेदनले यस क्षेत्रमा हिमनदी अनुगमनको तथ्याङ्कीय अभावसमेत औँल्याएको छ । प्रतिवेदनअनुसार अध्ययनमा समेटिएका ३८ वटा अनुगमन गरिएका हिमनदीमध्ये सातवटाले मात्र विश्व हिमनदी अनुगमन सेवाको विश्वव्यापी मापदण्ड पूरा गरेका छन् ।
अर्को चुनौती आठ देशबिच तथ्याङ्क आदानप्रदानको हो । फरक प्रविधि र विधिबाट सङ्कलन गरिएका तथ्याङ्क एकीकृत गर्न कठिन हुँदा समग्र क्षेत्रको जलवायु परिवर्तनको अवस्था विश्लेषण गर्न समस्या हुन्छ ।
यसका लागि स्याटलाइट प्रविधि, रिमोट सेन्सिङ र स्थलगत अनुसन्धानलाई एकीकृत गर्दै क्षेत्रीय सहकार्य बलियो बनाउन आवश्यक छ ।
संरक्षण र अनुकूलनका लागि के गर्न सकिन्छ ?
हिमनदी र हिमतालको नियमित अनुगमन, जोखिमयुक्त क्षेत्रको पहिचान र प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्नु आवश्यक छ । साथै, पानीका मुहान संरक्षण, वर्षाको पानी सङ्कलन, जलवायु अनुकूलित खेती र परम्परागत पशुपालनलाई प्रवर्द्धन गर्नुपर्छ ।
हिमताल फुट्ने जोखिम भएका क्षेत्रमा सम्भावित बाढीको मार्ग पहिचान, जोखिमयुक्त बस्तीको सुरक्षित स्थानान्तरण तथा स्थानीय समुदायलाई पूर्वसूचना प्रणालीसँग जोड्नु पनि उत्तिकै महत्त्वपूर्ण छ ।
यी योजना बनाउँदा स्थानीय समुदायको अनुभव र परम्परागत ज्ञानलाई वैज्ञानिक अनुसन्धानसँग जोड्नुपर्छ । किनभने जलवायु परिवर्तनको प्रत्यक्ष असर भोग्ने समुदाय नै अनुकूलनका उपाय पहिचान गर्ने महत्त्वपूर्ण आधार हुन् ।
हिमाली क्षेत्रमा अनुकूलनका प्रयासले मात्र पर्याप्त हुँदैन । हिमनदी पग्लिने क्रमलाई दीर्घकालमा कम गर्न विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन घटाउनु पनि आवश्यक छ । यसका लागि हिन्दुकुश हिमालय क्षेत्रका देशहरूले राष्ट्रिय प्रयाससँगै अन्तर्राष्ट्रिय जलवायु वार्तामा साझा आवाज उठाउनुपर्छ ।
हिन्दुकुश हिमालयको अनुसन्धान र संरक्षणमा नेपालको भूमिका के छ ?
नेपाल हिन्दुकुश हिमालय क्षेत्रको महत्त्वपूर्ण हिस्सा हो । यहाँका हिमनदी, हिमताल र नदी प्रणालीले दक्षिण एसियाको जलस्रोतमा योगदान पुर्याउँछन् । नेपालको भौगोलिक अवस्थाका कारण यहाँ हुने हिमनदी र जलचक्रका परिवर्तनले देशभित्रका बस्ती, कृषि, जलविद्युत् र पूर्वाधारमा प्रत्यक्ष असर पार्न सक्छ । तर, यसको प्रभाव नेपालका सीमाभित्र मात्र सीमित छैन । नेपालका नदी प्रणालीसँग जोडिएका तल्लो तटीय क्षेत्र र समुदायमा पनि यसको असर पर्न सक्छ ।
काठमाडौँमा मुख्यालय रहेको इसिमोडले यस क्षेत्रका आठवटै सदस्य देशसँग मिलेर जलवायु परिवर्तन, हिमनदी, जैविक विविधता र पर्वतीय जीविकोपार्जनसम्बन्धी अनुसन्धान गर्दै आएको छ । नेपाल इसिमोडको संस्थापक सदस्य राष्ट्र हो । यसले नेपाललाई क्षेत्रीय अनुसन्धान, वैज्ञानिक तथ्याङ्क आदानप्रदान र नीतिगत सहकार्यमा सक्रिय भूमिका खेल्ने अवसर दिएको छ ।
त्यस्तै, काठमाडौँ विश्वविद्यालयले हिमालयन युनिभर्सिटी कन्सोर्टियमको सचिवालयको जिम्मेवारी लिएपछि क्षेत्रीय विश्वविद्यालयहरूबिच अनुसन्धान, शिक्षा र ज्ञान आदानप्रदानमा सहकार्य गर्ने अवसर पनि विस्तार भएको छ । सन् २०२५ डिसेम्बरमा इसिमोडबाट काठमाडौँ विश्वविद्यालयमा सचिवालय हस्तान्तरण गरिएको थियो ।
नेपालले अनुसन्धानलाई नीतिगत निर्णय र क्षेत्रीय सहकार्यमार्फत कार्यान्वयनसँग जोड्न आवश्यक छ । यसका लागि केही महत्त्वपूर्ण क्षेत्रमा ध्यान दिन सकिन्छ ।
पहिलो, हिमनदी, हिमताल र नदी प्रणालीको नियमित अनुगमन तथा वैज्ञानिक तथ्याङ्क सङ्कलनमा लगानी बढाउनुपर्छ । नेपालमा सङ्कलित तथ्याङ्कलाई क्षेत्रीय तथ्याङ्क प्रणालीसँग जोड्दा हिमाली जलस्रोतमा भइरहेको परिवर्तन बुझ्न र भविष्यको जोखिम आकलन गर्न सहयोग पुग्छ ।
दोस्रो, हिमताल फुट्ने बाढी, पहिरो र अन्य जलवायुजन्य विपद्को जोखिम न्यूनीकरणमा लगानी बढाउनुपर्छ । जोखिमयुक्त हिमतालको नियमित अनुगमन, प्रभावकारी पूर्वसूचना प्रणाली र स्थानीय समुदायको तयारीलाई प्राथमिकता दिनुपर्छ ।
तेस्रो, नेपालले जलवायु कूटनीतिमा हिन्दुकुश हिमालयको मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्छ । नेपालको विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा योगदान न्यून भए पनि जलवायु परिवर्तनका असर गम्भीर छन् । त्यसैले नेपालले अन्तर्राष्ट्रिय जलवायु वार्तामा हिमाली क्षेत्रका जोखिम, अनुकूलनका आवश्यकता र जलवायु वित्तमा पहुँचको विषयलाई बलियोसँग उठाउन सक्छ ।
चौथो, साझा नदी प्रणाली र जलस्रोत व्यवस्थापनमा छिमेकी देशहरूसँग सहकार्य बढाउनुपर्छ । नदीको बहाव, बाढी, खडेरी र हिमतालसम्बन्धी तथ्याङ्क समयमै आदानप्रदान गर्न सकेमा सीमापार जोखिम व्यवस्थापन र जलस्रोतको दीर्घकालीन योजनामा सहयोग पुग्छ । यसका लागि वैज्ञानिक सहकार्यसँगै नीतिगत र कूटनीतिक संवाद पनि आवश्यक छ ।
नेपालको भूमिका आफ्ना हिमाल र जलस्रोतको संरक्षणमा मात्र सीमित हुनु हुँदैन । हिन्दुकुश हिमालय क्षेत्रका आठ देशबिच साझा अनुसन्धान, तथ्याङ्क आदानप्रदान र जलवायु अनुकूलनका प्रयासलाई अघि बढाउन नेपालले सक्रिय भूमिका खेल्न सक्छ ।
हिन्दुकुश हिमालयको भविष्य कस्तो हुनेछ ?
इसिमोडको सन् २०२३ को प्रतिवेदनअनुसार हालको विश्वव्यापी उत्सर्जन प्रवृत्ति कायम रहेमा सन् २१०० सम्म हिन्दुकुश हिमालयका हिमनदीमा रहेको वर्तमान बरफको मात्रा ८० प्रतिशतसम्म घट्न सक्छ । यो निश्चित परिणाम नभई उत्सर्जनको प्रवृत्तिमा आधारित प्रक्षेपण हो । प्रभावकारी रूपमा हरितगृह ग्यास उत्सर्जन घटाउन सकेमा यस्तो क्षति कम गर्न सकिन्छ ।
यसको असर हिमाली समुदायमा मात्र नभई एसियाको खाद्य, पानी र ऊर्जा सुरक्षामा समेत पर्नेछ । त्यसैले हिन्दुकुश हिमालयको संरक्षणलाई केवल वातावरणीय मुद्दाका रूपमा नभई आर्थिक विकास, जीविकोपार्जन र सामाजिक सुरक्षासँग जोडेर हेर्न आवश्यक छ ।
हिमालमा हुने परिवर्तनको असर हिमालमा मात्र सीमित हुँदैन । यसले थुप्रै देश र मानिसको जीवनलाई प्रभावित गर्छ । त्यसैले यी हिमालको संरक्षण गर्नु भनेको हिमाली समुदायको भविष्य मात्र होइन, समग्र एसियाको जीवन र विकास सुरक्षित गर्नु पनि हो । यसका लागि नेपालले आफ्नो राष्ट्रिय तयारी बलियो बनाउँदै क्षेत्रीय सहकार्य र अन्तर्राष्ट्रिय जलवायु कूटनीतिमा सक्रिय भूमिका खेल्नु आवश्यक छ ।
हिन्दुकुश हिमालयको भविष्य कुनै एउटा देशको प्रयासले मात्र सुरक्षित हुन सक्दैन । यसका लागि आठवटै देशको साझा प्रतिबद्धता र विश्वव्यापी जलवायु कदम आवश्यक छ ।