एक्सप्लेनर जलवायु र वातावरण सही सूचना

के एक्कासि आउने बाढी सधैँ हिमताल फुटेर आएको हुन्छ ?


के एक्कासि आउने बाढी सधैँ हिमताल फुटेर आएको हुन्छ ?

हिमाली क्षेत्रमा एक्कासि ठूलो बाढी आउँदा त्यसलाई हिमताल फुटेर आएको बाढी अर्थात् ग्लेसियल लेक आउटबर्स्ट फ्लड (Glacial Lake Outburst Flood-GLOF) भन्ने गरेको पाइन्छ । तर हिमाली क्षेत्रमा आउने सबै आकस्मिक बाढीको कारण हिमताल विस्फोट नै हुँदैन ।

हिमताल फुट्नुबाहेक पहिरोले खोला थुन्नु, हिमपहिरो वा चट्टान खस्नु, हिमनदीभित्र वा त्यसको तल जम्मा भएको पानी अचानक निस्कनु तथा अत्यधिक वर्षा हुनुजस्ता विभिन्न कारणले पनि हिमाली क्षेत्रमा आकस्मिक बाढी आउन सक्छ ।

यसको उदाहरण हो, २६ अगस्ट २०२६ मा रसुवाको ल्हेन्दे खोलामा आएको बाढी । यो परम्परागत अर्थमा हिमताल फुटेर आएको ग्लोफ (GLOF) थिएन। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्रारम्भिक अध्ययनअनुसार लाङटाङ लिरुङको उत्तरी भागबाट चट्टान र हिमबरफको ठूलो पिण्ड खसेर तीव्र बहाव सिर्जना भएको थियो । चट्टान, बरफ, पानी र गेग्रान मिसिएको उक्त बहावले ठूलो क्षति पुर्‍याएको थियो । इसिमोडले यस घटनालाई हिमाली क्रायोस्फियरसँग सम्बन्धित एकपछि अर्को जोडिएर विकसित भएको विपद्का रूपमा व्याख्या गरेको छ । घटनाको सम्पूर्ण प्रक्रियाबारे भने अनुसन्धान जारी छ ।

यसले हिमाली क्षेत्रमा आउने आकस्मिक बाढीका कारण फरक-फरक हुन सक्छन् भन्ने देखाउँछ ।

जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने क्रम बढ्दै जाँदा नयाँ हिमताल बन्ने र भएका हिमताल विस्तार हुने क्रम पनि बढ्न सक्छ । यसले केही क्षेत्रमा ग्लोफको जोखिम बढाउन सक्छ । तर कुनै एउटा बाढीको कारण जलवायु परिवर्तन वा हिमताल विस्फोट नै हो भन्ने निष्कर्ष निकाल्न घटनास्थलको वैज्ञानिक अध्ययन आवश्यक हुन्छ ।

यस एक्सप्लेनरमा हामी हिमताल, ग्लोफ, हिमाली बाढी र जलवायु परिवर्तनबीचको सम्बन्ध, हिमताल फुट्ने कारण तथा जोखिम न्यूनीकरणका उपायबारे चर्चा गर्दैछौं ।

के हो हिमताल ?
हिमनदी पग्लिएर निस्किएको पानी जम्मा भई हिमनदीको अगाडि, छेउमा वा त्यसले छोडेको भूभागमा बनेको ताललाई हिमताल भनिन्छ ।

तापक्रम बढ्दै जाँदा हिमनदी पग्लिने र पछाडि हट्ने क्रम तीव्र हुन सक्छ । हिमनदी पछाडि हटेपछि त्यसले छोडेको ठाउँमा पानी जम्मा भएर नयाँ हिमताल बन्न सक्छ । पहिले नै बनेका हिमतालको आकारसमेत समयसँगै बढ्न सक्छ ।

हिमताल प्राकृतिक रूपमा बनेका हुन्छन् । यस्ता तालको पानीलाई हिमनदीले छोडेको ढुङ्गा, माटो र अन्य गेग्रानबाट बनेको प्राकृतिक बाँध, बरफ वा चट्टानले रोकिरहेको हुन सक्छ ।

हिमतालको बाँध कति बलियो छ, त्यसको बनावट कस्तो छ र पानी बाहिरिने प्रक्रिया कसरी भइरहेको छ भन्ने कुराले तालको जोखिम निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

के सबै हिमताल जोखिमयुक्त हुन्छन् ?
सबै हिमताल जोखिमयुक्त हुँदैनन् । हिमतालको आकार वा पानीको मात्रा मात्रै हेरेर त्यसको जोखिम निर्धारण गर्न मिल्दैन ।

हिमतालको प्राकृतिक बाँधको अवस्था, तालमा पानी थपिने प्रक्रिया, हिमनदीको गतिविधि, आसपासको भूगोल, पहिरो तथा हिमपहिरोको सम्भावना र ताल फुटेमा तलतिर बग्ने पानीले पार्न सक्ने असरसमेत अध्ययन गर्नुपर्छ ।

ताल फुट्ने सम्भावना र त्यसबाट बाढी आएमा मानिस, बस्ती तथा पूर्वाधारमा पर्न सक्ने असरलाई आधार बनाएर जोखिम मूल्याङ्कन गरिन्छ । त्यसैले ठूलो हिमताल हुँदैमा त्यो अनिवार्य रूपमा उच्च जोखिमयुक्त हुन्छ भन्ने हुँदैन ।

के हो ग्लेसियल लेक आउटबर्स्ट फ्लड (ग्लोफ) ?
हिमतालमा जम्मा भएको पानीलाई रोकिरहेको प्राकृतिक बाँध अचानक फुट्दा, भत्किँदा वा त्यसबाट ठूलो मात्रामा पानी बाहिरिँदा तलतिर बग्ने बाढीलाई ग्लेसियल लेक आउटबर्स्ट फ्लड (ग्लोफ) (Glacial Lake Outburst Flood-GLOF) भनिन्छ ।

यस्तो प्राकृतिक बाँध हिमनदीले छोडेको गेग्रानबाट बनेको हुन सक्छ । कतिपय अवस्थामा तालको पानीलाई बरफ वा चट्टानले समेत रोकिरहेको हुन्छ ।

इसिमोड र यूएनडीपीले सन् २०२० मा सार्वजनिक गरेको एक अध्ययनअनुसार नेपाल, चीनको तिब्बत स्वायत्त क्षेत्र र भारतका कोशी, गण्डकी तथा कर्णाली नदी बेसिनमा ४७ वटा सम्भावित जोखिमयुक्त हिमताल पहिचान गरिएका थिए । तीमध्ये २१ वटा नेपालमा, २५ वटा चीनको तिब्बत क्षेत्रमा र एउटा भारतमा थिए ।

अध्ययनले यी हिमताललाई जोखिमको स्तरअनुसार तीन श्रेणीमा वर्गीकरण गरेको थियो । तीमध्ये ३१ वटा पहिलो, १२ वटा दोस्रो र चारवटा तेस्रो श्रेणीमा थिए । यसले सम्भावित जोखिम भएका हिमताल पहिचान गरी प्राथमिकताका आधारमा अनुगमन र जोखिम न्यूनीकरणका उपाय अपनाउनुपर्ने आवश्यकता देखाएको थियो ।

हिमताल कसरी फुट्न सक्छ ?
हिमतालको प्राकृतिक बाँध कमजोर हुँदा वा त्यसमा बाहिरी प्रभाव पर्दा तालको पानी अचानक बाहिरिन सक्छ । हिमताल फुट्ने वा त्यसबाट ठूलो मात्रामा पानी निस्कने सम्भावना बढाउने प्रमुख प्रक्रिया यस्ता छन् :

– हिमपहिरो वा बरफ खस्नु : हिमपहिरो वा हिमनदीको ठूलो हिस्सा तालमा खस्दा पानीमा ठूलो छाल उत्पन्न हुन सक्छ ।

– चट्टान वा पहिरो खस्नु : तालको आसपासबाट ठूलो मात्रामा चट्टान वा पहिरो खस्दा उत्पन्न हुने छालले प्राकृतिक बाँधलाई कमजोर बनाउन सक्छ ।

– प्राकृतिक बाँध कमजोर हुनु : बाँधभित्र पानी चुहिँदा वा यसको संरचनामा क्षय हुँदा बाँध भत्किने जोखिम बढ्न सक्छ ।

– पानीको मात्रा बढ्नु : हिमनदी पग्लिने क्रम बढ्दा तालमा पानीको मात्रा थपिन सक्छ। यसले प्राकृतिक बाँधमा पर्ने दबाब बढाउन सक्छ ।

– बाँधमाथिबाट पानी बग्नु : तालको पानी बाहिरिने मार्ग अवरुद्ध हुँदा वा तालमा पानीको मात्रा अत्यधिक बढ्दा पानी बाँधको माथिल्लो भागबाट बग्न सक्छ ।

तालमा ठूलो हिमपहिरो वा चट्टान खस्दा उत्पन्न हुने छालले प्राकृतिक बाँध नाघ्न सक्छ । यसलाई ओभरटपिङ भनिन्छ । त्यसरी पानी बाँधमाथिबाट बग्दा बाँधको कटान हुन सक्छ र अन्ततः ठूलो मात्रामा पानी बाहिरिन सक्छ ।

त्यसैले हिमतालको जोखिम बुझ्न तालमा जम्मा भएको पानी मात्र हेरेर पुग्दैन । त्यसको आसपासको हिमनदी, प्राकृतिक बाँध र माथिल्लो भूभागको अवस्थासमेत अध्ययन गर्नुपर्छ ।

के सबै हिमाली क्षेत्रमा आउने बाढी ग्लोफ हुन् ?
होइन । हिमाली क्षेत्रमा आउने सबै आकस्मिक बाढी ग्लोफ होइनन् । ती फरक–फरक कारणले आउन सक्छन् ।

हिमाली क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने मुख्य कारण यस्ता छन् :

– अत्यधिक वर्षा वा क्लाउडबर्स्ट : छोटो समयमा अत्यधिक वर्षा हुँदा नदी तथा खोलामा एक्कासि पानीको बहाव बढ्न सक्छ। भिरालो भूभागमा यस्तो वर्षाले पहिरो र गेग्रानयुक्त बाढीसमेत निम्त्याउन सक्छ।

– हिमताल फुट्नु : हिमतालको प्राकृतिक बाँध फुट्दा वा भत्किँदा ठूलो मात्रामा पानी तलतिर बग्न सक्छ ।

– पहिरोले खोला थुन्नु : पहिरो वा गेग्रानले नदीको बहाव रोक्दा माथिल्लो क्षेत्रमा पानी जम्मा हुन सक्छ। पछि अस्थिर बाँध फुट्दा एक्कासि बाढी आउन सक्छ ।

– हिमपहिरो वा चट्टान खस्नु : हिमपहिरो वा चट्टानको ठूलो पिण्ड खस्दा त्यसले हिउँ, बरफ, ढुङ्गा, माटो र पानी मिसिएको तीव्र बहाव सिर्जना गर्न सक्छ ।

– हिमनदीबाट अचानक पानी निस्कनु : हिमनदीभित्र वा त्यसको तल जम्मा भएको पानी एक्कासि बाहिरिँदा पनि बाढी आउन सक्छ ।

यीमध्ये एकभन्दा बढी प्रक्रिया एउटै घटनामा संलग्न हुन सक्छन् । उदाहरणका लागि, पहिरोले खोला थुन्न सक्छ, त्यसपछि पानी जम्मा हुन सक्छ र अन्ततः अस्थिर प्राकृतिक बाँध फुट्दा बाढी आउन सक्छ ।

त्यसैले बाढी आएको स्थान हिमाली क्षेत्रमा छ भन्दैमा त्यसलाई स्वत: हिमताल फुटेर आएको भन्न मिल्दैन । बाढीको वास्तविक कारण पत्ता लगाउन घटनास्थलको भौगोलिक अवस्था, मौसम, नदीको बहाव, हिमनदी तथा हिमतालको अवस्था र अन्य वैज्ञानिक प्रमाणको अध्ययन आवश्यक हुन्छ ।

जलवायु परिवर्तन र हिमताल फुट्नुको सम्बन्ध के छ ?
जलवायु परिवर्तन भनेको एक-दुई दिन वा केही समयको मौसम परिवर्तन होइन । लामो समयसम्म पृथ्वीको तापक्रम, वर्षा, हावाको ढाँचा तथा अन्य जलवायुसम्बन्धी औसत अवस्था र त्यसको परिवर्तनशीलतामा देखिने परिवर्तन हो ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपीसीसी)का अनुसार जलवायु परिवर्तन प्राकृतिक प्रक्रिया वा मानवीय गतिविधिका कारण हुन सक्छ । तर पछिल्लो समय देखिएको विश्वव्यापी तापक्रम वृद्धिमा मानवीय गतिविधिको ठूलो भूमिका छ ।

जलवायु परिवर्तनबाट उत्पन्न गम्भीर जोखिम र क्षतिको अवस्थालाई जनाउन जलवायु संकट (क्लाइमेट क्राइसिस) भन्ने शब्द पनि प्रयोग गरिन्छ ।

जलवायु परिवर्तनले हिमनदी, हिमताल र हिमाली भूभागको स्थिरतामा असर पार्न सक्छ । यसको प्रभाव हिमनदी पग्लिने क्रम, हिमतालको निर्माण तथा विस्तार र पहाडी भूभागको स्थिरतामा देखिन सक्छ ।

जलवायु परिवर्तन र ग्लोफबीच के सम्बन्ध छ ?
तापक्रम बढेपछि हिमताल अनिवार्य रूपमा फुट्छ भनेर बुझ्नु ठीक होइन । तर तापक्रम वृद्धिले हिमताल फुट्न सक्ने जोखिमका विभिन्न प्रक्रिया सिर्जना वा तीव्र बनाउन सक्छ ।

तापक्रम बढ्दै जाँदा हिमनदी पग्लिने क्रम तीव्र हुन सक्छ । हिमनदी पछाडि हट्दै जाँदा नयाँ हिमताल बन्न सक्छन् र पहिले नै बनेका हिमतालको आकार पनि बढ्न सक्छ । यसले केही हिमतालमा पानीको मात्रा बढाउनुका साथै प्राकृतिक बाँधमा पर्ने दबाब बढाउन सक्छ ।

त्यस्तै, तापक्रम वृद्धिका कारण हिमाली क्षेत्रमा जमेको जमिन (Permafrost) पग्लिन सक्छ । यसले चट्टान र पहाडका केही भागको स्थिरता कमजोर बनाउँदै पहिरो वा चट्टान खस्ने जोखिम बढाउन सक्छ । यस्ता घटना हिमतालमा खसेमा पानीमा ठूलो छाल उत्पन्न भई ग्लोफ निम्त्याउन सक्छ ।

इसिमोडका अनुसार जलवायु परिवर्तनसँगै हिमनदी पछाडि हट्ने, नयाँ हिमताल बन्ने र भएका हिमताल विस्तार हुने प्रक्रियाले हिमालय क्षेत्रमा ग्लोफको जोखिम बढाउन सक्छ ।

यसको अर्थ जलवायु परिवर्तनले जोखिमको पृष्ठभूमि परिवर्तन गर्न सक्छ, तर हरेक बाढीको तत्काल कारण जलवायु परिवर्तन नै हुन्छ भन्ने होइन । कुनै निश्चित बाढी जलवायु परिवर्तनका कारण आएको हो कि होइन भन्ने निष्कर्ष निकाल्न त्यस घटनाको वैज्ञानिक अध्ययन र जलवायुसम्बन्धी प्रमाण आवश्यक हुन्छ ।

हिमताल जोखिमयुक्त छ कि छैन कसरी थाहा हुन्छ ?
हिमतालहरू प्राय: दुर्गम हिमाली क्षेत्रमा हुने भएकाले तिनको नियमित स्थलगत अनुगमन चुनौतीपूर्ण हुन्छ । त्यसैले अहिले स्याटलाइट तस्वीर, रिमोट सेन्सिङ, जलविज्ञान तथा मौसमसम्बन्धी तथ्याङ्क र स्थलगत अध्ययनलाई संयोजन गरेर जोखिम पहिचान गरिन्छ ।

सन् २०२० को इसिमोड र यूएनडीपीको अध्ययनले पनि दुर्गम तथा पहुँच कठिन हिमाली क्षेत्रमा रिमोट सेन्सिङ प्रविधिको प्रयोग गरी हिमतालको अवस्था र सम्भावित जोखिम पहिचान गरेको थियो ।

स्याटलाइट तस्वीरबाट हिमतालको आकार, पानीको सतह र हिमनदीको अवस्थाबारे जानकारी लिन सकिन्छ । तर प्राकृतिक बाँधको भित्री संरचना, पानी चुहिने अवस्था र अन्य भूगर्भीय जोखिम बुझ्न स्थलगत अध्ययनसमेत आवश्यक हुन्छ ।

जोखिम मूल्याङ्कन गर्दा हिमताल फुट्ने सम्भावना मात्र होइन, त्यसबाट बाढी आएमा कुन–कुन बस्ती, सडक, पुल, जलविद्युत् आयोजना र अन्य पूर्वाधार प्रभावित हुन सक्छन् भन्ने पनि अध्ययन गरिन्छ । यसरी जोखिम पहिचान भएपछि कुन हिमतालमा पहिले अनुगमन र न्यूनीकरणका उपाय अपनाउने भन्ने प्राथमिकता निर्धारण गर्न सकिन्छ ।

हिमताल फुटेर आउने आकस्मिक बाढीको जोखिमबाट कसरी जोगिने ?
बाढीको जोखिममा रहेका समुदायका लागि पूर्वसूचना प्रणाली महत्त्वपूर्ण हुन्छ ।

यसमा जोखिमयुक्त हिमताल वा नदीको जलस्तर तथा मौसमको निगरानी, सूचना सङ्कलन, जोखिमको विश्लेषण र जोखिममा रहेका मानिससम्म समयमै चेतावनी पुर्‍याउने व्यवस्था हुन्छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ जलविद् विनोद पराजुलीका अनुसार नेपालमा केही जोखिमयुक्त क्षेत्रमा यस्ता प्रणाली स्थापना गरिएका छन् । सोलुखुम्बुको इम्जा हिमताल आसपास जलविज्ञान तथा हिमतालसम्बन्धी सेन्सर र स्वचालित साइरनसहितको पूर्वसूचना प्रणाली सञ्चालनमा ल्याइएको छ । दोलखाको च्छोरोल्पा हिमतालमा पनि पूर्वसूचना प्रणाली विकास तथा विस्तारका लागि काम भइरहेको छ ।

पूर्वसूचना प्रणाली राख्दैमा बाढी रोकिने होइन । यसले बाढी आउनुअघि वा त्यसको जोखिम देखिएपछि सूचना दिएर जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा पुग्न समय उपलब्ध गराउँछ ।

तर पूर्वसूचना प्रणाली प्रभावकारी हुन सेन्सर, सञ्चार सञ्जाल, चेतावनी जारी गर्ने निकाय र स्थानीय समुदायसम्म सूचना पुर्‍याउने व्यवस्था एकीकृत हुनुपर्छ । साथै, जोखिममा रहेका समुदायलाई सुरक्षित स्थान, त्यहाँ पुग्ने बाटो र आपत्कालीन अवस्थामा अपनाउनुपर्ने उपायबारे जानकारी दिनुपर्छ ।

यसबाहेक हिमतालको पानीको सतह घटाएर पनि जोखिम न्यूनीकरण गर्न सकिन्छ । नेपालमा सोलुखुम्बुको इम्जा र दोलखाको च्छोरोल्पा हिमतालमा पानीको सतह घटाउने काम गरिएको छ ।

सन् २००० मा च्छोरोल्पा हिमतालको पानीको सतह कृत्रिम निकास नहर बनाएर करिब तीन मिटर घटाइएको थियो । त्यस्तै, सन् २०१६ मा इम्जा हिमतालको पानीको सतह करिब ३.४ मिटर घटाइएको थियो । यसले प्राकृतिक बाँधमा पर्ने पानीको दबाब कम गर्न सहयोग गरेको थियो ।

नेपालले जोखिमयुक्त हिमतालको पहिचान, अनुगमन, जोखिम न्यूनीकरण र पूर्वसूचना प्रणाली विकासमा विभिन्न साझेदार संस्थासँग काम गर्दै आएको छ ।

सन् २०२५ जुलाईमा हरित जलवायु कोष (ग्रीन क्लाइमेट फन्ड–जीसीएफ)ले नेपालमा हिमताल विस्फोटबाट हुने बाढीको जोखिम न्यूनीकरणका लागि ३६.१ मिलियन अमेरिकी डलर अनुदान स्वीकृत गरेको थियो । जल तथा मौसम विज्ञान विभाग र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को सहकार्यमा सञ्चालन हुने सातवर्षे परियोजनाले उच्च जोखिममा रहेका ठुलागी, लोअर बरुण, लुम्दिङ त्सो र हङ्गु–२ हिमतालको पानीको सतह घटाउने योजना समेटेको छ ।

यस परियोजनाअन्तर्गत जोखिम अनुगमन तथा पूर्वसूचना प्रणाली विस्तार गर्ने, बाढी प्रभावित क्षेत्रमा संरचनागत तथा प्रकृतिमा आधारित जोखिम न्यूनीकरणका उपाय अपनाउने र नदी किनारको संरक्षण गर्ने योजना पनि छ । चेकड्याम निर्माण, वृक्षरोपण तथा स्थानीय सरकार र समुदायको विपद् तयारी क्षमता अभिवृद्धि पनि यसका महत्त्वपूर्ण पक्ष हुन् ।

हिमाली क्षेत्रमा ग्लोफ तथा अन्य बाढीको जोखिम घटाउन जोखिमको निरन्तर अनुगमन, वैज्ञानिक अध्ययन र पूर्वतयारी आवश्यक हुन्छ ।

यसका लागि सम्भावित जोखिम भएका हिमताल र हिमनदीको अवस्था नियमित रूपमा अध्ययन गर्नुपर्छ । नेपालका हुम्लालगायत दुर्गम हिमाली क्षेत्रमा तापक्रम, जलस्तर, वर्षा र हिउँको मात्रा मापन गर्ने पर्याप्त केन्द्र तथा अनुगमन प्रणालीको आवश्यकता छ ।

जोखिममा रहेका बस्ती र नदी प्रणालीलाई प्राथमिकतामा राखेर मौसम तथा जलविज्ञान मापन केन्द्र स्थापना गर्नुपर्छ । त्यस्ता केन्द्रबाट हिमनदी, हिमताल, वर्षा, तापक्रम र नदीको बहावसम्बन्धी दीर्घकालीन तथ्याङ्क सङ्कलन गर्नुपर्छ । स्याटलाइटबाट प्राप्त तथ्याङ्क र स्थलगत अनुगमनलाई एकीकृत गर्न सकेमा जोखिमको अवस्था समयमै पहिचान गर्न सकिन्छ ।

पूर्वसूचना आएपछि कहाँ जाने, कसरी जाने र कसलाई खबर गर्ने भन्नेबारे जोखिममा रहेका समुदायलाई तालिम दिनु आवश्यक हुन्छ । स्थानीय तहले सुरक्षित स्थान र उद्धार मार्ग पहिचान गर्ने, नियमित अभ्यास गराउने तथा विद्यालय, स्वास्थ्य संस्था र जलविद्युत् आयोजनालाई समेत विपद् तयारीमा सहभागी गराउनुपर्छ ।

हिमाली क्षेत्रमा बाढीको जोखिम व्यवस्थापन गर्दा ग्लोफमा मात्र ध्यान दिनु पर्याप्त हुँदैन । अत्यधिक वर्षा, पहिरो, हिमपहिरो, चट्टान खस्ने र नदी थुनिने घटनाको पनि अनुगमन गर्नुपर्छ । त्यसैले हिमताल, हिमनदी, पहाडी भूभाग र नदी प्रणालीलाई समेट्ने एकीकृत बहुप्रकोपीय जोखिम अनुगमन तथा पूर्वसूचना प्रणाली आवश्यक हुन्छ ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add