- टेकमान शाक्य
- मंसिर १०, २०८३

दार्चुलाको पाखामा धान फलेको दाबी गर्दै भाइरल भिडिओ एआई निर्मित
दार्चुलाको पाखामा धान फलेको दाबी गर्दै सामाजिक सञ्जालमा एउटा भिडिओ क्लिप भाइरल भइरहेको छ।तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचका क्रममा उक्त भिडिओ एआई जेनेरेटेड भएको पुष्टि भएको छ ।
के हो दाबी ?
टिकटक ह्याण्डल @chura.khatri3 रहेको Chura Bahadur Khatri नाम गरेका टिकटक प्रयोगकर्ताले सन् २०२६ को नोभेम्बर १७ को दिन १८ सेकेन्डको भिडिओ सार्वजनिक गरेका छन् । उक्त भिडिओमा दार्चुलाको पाखामा धान फलेको दाबी गरिएको छ।
यो तथ्यजाँच गर्ने समयसम्ममा भिडिओलाई ३ लाख ४५ हजारभन्दा धेरैपटक हेरिएको छ भने १८ हजारभन्दा धेरैपटक रियाक्ट, ४ सय ३६भन्दा धेरैपटक कमेन्ट गरिएको छ ।
हेर्नुहोस् भिडिओको स्क्रिनसट

भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
LAXMANOFFICIAL नाम गरेका अर्का टिकटक प्रयोगकर्ताले पनि दार्चुलाको पाखामा फलेको धान भन्दै यही भिडिओ अपलोड गरेका छन् ।उक्त भिडिओ सन् २०२६ नोभेम्बर १९ मा अपलोड गरिएको हो। तथ्यजाँच गर्ने समयसम्ममा भिडिओमा ६ सयभन्दा धेरैपटक रियाक्ट भएको छ भने ११ पटक कमेन्ट गरिएको छ ।
हेर्नुहोस् भिडिओको स्क्रिनसट

भिडिओको ओरिजिनल लिंक यहाँ छ भने आर्काइभ लिंक यहाँ छ ।
दार्चुलाको पाखामा फलेको धान दाबी गर्दै यो भिडिओलाई अरु थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यापक रूपमा सेयर गरेको देखिन्छ । यसबारे तथ्यजाँचका लागि नेपाल फ्याक्टचेकलाई अनुरोध प्राप्त भएको छ ।
के हो तथ्य ?
तथ्यजाँचको क्रममा हामीले भिडिओलाई स्लो मोसनमा राखेर सूक्ष्म ढङ्गले हेर्यौँ । भिडिओको एक भागमा धानको बालासँगै जमिनको भूभागसमेत अस्वाभाविक रूपमा परिवर्तन भएको देखिन्छ।
त्यसैगरी भिडिओमा देखिएका व्यक्तिहरुले दुवै हातले धानको बाला उठेर टिपेको देखिन्छ । उनीहरुको हात धानको बोटको फेदमा पुगेको देखिँदैन । तर त्यहाँ अस्वाभाविक रुपमा धानको बोटको फेदमै काटिएपछि देखिने खाली जमिन देखिन्छ ।
हेर्नुहोस् स्लो मोसनमा हेर्दा देखिएको त्रुटी
त्यसपछि यो भिडिओ कहाँबाट भाइरल भएको हो भनेर हामीले गुगलमा रिभर्स ईमेज सर्च गरेर खोजी गर्यौँ । खोजीको क्रममा Nature Life Story नामक फेसबुक पेजमा सन् २०२६ को अक्टोबर १० को दिन अपलोड भएको भेटियो । भिडिओलाई अहिलेसम्म १ करोड ५० लाख अर्थात १५ मिलियन पटक हेरिएको छ भने एआई लेवल लगाईएको छ ।
हेर्नुहोस् भिडिओको स्क्रिनसट

भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
त्यसपछि हामीले भिडिओ अपलोड गर्ने फेसबुक पेज Nature Life Story को रिल्स फिड भिजिट गर्यौँ । सन् २०२६ अगस्ट १२ मा खोलिएको उक्त पेजमा धानसँग सम्बन्धित थुप्रै भिडिओ अपलोड गरिएको भेटियो। ती भिडिओहरूमा फेसबुकले एआई लेबल राखेको देखिन्छ।
हेर्नुहोस् Nature Life Story फेसबुक पेजको ट्रान्सपरेन्सी र रिलहरुको स्क्रिनसट

Nature life story पेजको ओरिजिनल लिंक यहाँ छ
भिडिओमा देखिएको अस्वाभाविक परिवर्तन र फेसबुक पेजमा देखिएको एआई लेबलका कारण हामीले उक्त भिडिओ एआईबाट निर्माण गरिएको हो वा होइन भनेर थप परीक्षण गर्यौँ।
SynthID Detector मार्फत परीक्षण गर्दा भिडिओको दृश्य भागमा SynthID वाटरमार्क पहिचान भयो। टुलले दिएको नतिजामा उक्त मिडिया OpenAI को प्रयोग गरेर निर्माण वा सम्पादन गरिएको उल्लेख छ।
हेर्नुहोस् सिन्थआईडी डटकमले दिएको नतिजाको स्क्रिनसट

त्यसपछि हामीले भिडिओलाई हाईब मोडरेसनमार्फत पनि जाँच गरेर हेर्यौँ । Hive Moderation मार्फत परीक्षण गर्दा उक्त भिडियो एआईबाट निर्माण गरिएको वा सम्पादन गरिएको हुन सक्ने सम्भावना ९९ दशमलव ८ प्रतिशत प्रतिशत देखियो। यद्यपि, यस टुलले पनि अडिओमा एआई वाटरमार्क पहिचान भएन।
हेर्नुहोस् हाईब मोडरेशनको नतिजाको स्क्रिनसट

Detect Video AI मार्फत परीक्षण गर्दा पनि उक्त भिडियो एआईबाट निर्मित एवम् सम्पादन गरिएको हुन सक्ने सम्भावना ९१ प्रतिशत देखियो।
हेर्नुहोस् Detect Video AI ले दिएको नतिजाको स्क्रिनसट

त्यसपछि हामीले दार्चुलामा फलेको धानबारे समाचार स्रोतहरुमा खोजी गर्यौँ । कतै पनि नेपालको दार्चुलाको दाबी लाई पुष्टि गर्ने प्रमाण भेट्टाउन सकेनौँ ।
तथ्यजाँच
दाबी : दार्चुलाको पाखामा फलेको धानको दाबी गर्दै भाइरल भिडिओ
दाबीकर्ता : Chura Bahadur Khatri र LAXMANOFFICIAL टिकटक प्रयोगकर्तासहित सामाजिक सञ्जाल प्रयोगकर्ता
तथ्य : मिथ्या (False) । दार्चुलाको पाखामा फलेको धानको दाबी गर्दै भाइरल भिडिओ एआई निर्मित एवम् सम्पादित पुष्टि हुन्छ । नेपालको दार्चुलाको पाखामा यसरी धान फलेको दाबीलाई पुष्टि गर्ने कुनै विश्वसनीय प्रमाण नेपालफ्याक्टचेकले फेला पारेन।