- उमेश श्रेष्ठ
- बैशाख २९, २०७९
बीबीसी नेपाली सेवाको नाममा भाइरल भएको सर्वेक्षण मिथ्या सूचना
सामाजिक सञ्जालमा बीबीसी नेपाली सेवाको आन्तरिक मत सर्वेक्षण दावी गर्दै बुधबारदेखि पोस्टहरु भाइरल भएका छन्। ती पोस्टहरुमा एमालेको सबैभन्दा बढी प्रतिशत र कांग्रेस दोस्रो तथा माओवादी तेस्रो स्थानमा रहने दावी गरिएको छ। तर हाम्रो तथ्य जाँचमा यो गलत देखिएको छ। बीबीसी नेपाली सेवाले यसलाई मिथ्या सूचना भएको पुष्टि गरेको छ।
कसरी फैलियो ?
रमेश लामा नामको फेसबुक पेजले बुधबार (११ मे, २०२२) राति साढे आठ बजे पोस्ट गरेको स्टायटसमा बिहीबार मध्याह्नसम्म ७९० रियाक्सन भइसकेको छ भने १५१ कमेन्ट र ७७ सेयर छन्। उक्त फेसबुक पेजमा एमालेसँग सम्बन्धित सामग्रीहरु पोस्ट भइरहेको देखिन्छ।
त्यसैगरी एमालेको चुनाव चिह्न प्रोफाइल पिक्चरमा राखिएको ३६ हजारभन्दा बढी फलोअर भएको सरु खनाल नामको फेसबुक प्रोफाइलले पनि लगभग उही समयमा बीबीसी नेपाली सेवाको आन्तरिक सर्वेक्षणलाई नै उद्धृत गर्दै पोस्ट गरिएको छ। दुई वटा पोस्टमै एमालेलाई अगाडि राखिएको भए पनि आँकडामा थोरै तलमाथि छन्।
फेसबुकमा अरु पनि थुप्रैले यसलाई पोस्ट गरेको देख्न सकिन्छ। त्यसैगरी ट्विटरमा पनि यस्तै पोस्ट भएको हामीले भेट्यौँ।
के हो तथ्य ?
बीबीसी नेपाली सेवाले आफ्नो फेसबुक र ट्विटरमा यसको खण्डन गरेको छ। सामाजिक सञ्जालमा राखिएको प्रतिक्रियामा बीबीसी नेपाली सेवाले त्यसलाई मिथ्या सूचना भनेको छ।
बीबीसी वा बीबीसी नेपाली सेवाले त्यस्तो कुनै पनि मत सर्वेक्षण नगरेको भन्दै त्यस्तो मिथ्या सूचनाबाट भ्रममा नपर्न पनि त्यसमा अनुरोध गरिएको छ।
स्थानीय निर्वाचनसम्बन्धी बीबीसी नेपाली सेवाको आन्तरिक मत सर्वेक्षण भनी मिथ्या सूचना सामाजिक सञ्जालमा फैलिरहेको हाम्रो जानकारीमा आएको छ। बीबीसी वा बीबीसी न्यूज नेपालीले त्यस्तो कुनै पनि मत सर्वेक्षण नगरेको हुँदा उक्त मिथ्या सूचनाबाट भ्रममा नपर्न अनुरोध गरिन्छ।
— BBC News Nepali (@bbcnepali) May 12, 2022
ट्विटरमा बीबीसी नेपालीको प्रतिक्रिया
फेसबुकमा बीबीसी नेपालीको प्रतिक्रिया
तथ्य जाँच
दावी : वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा बीबीसी नेपाली सेवाको आन्तरिक सर्वेक्षणमा एमाले सबैभन्दा अगाडि, कांग्रेस दोस्रो र माओवादी तेस्रो हुने देखिएको छ।
तथ्य : मिथ्या सूचना । बीबीसी नेपाली सेवाले यस्तो कुनै पनि मत सर्वेक्षण नगरेको बताएको छ।