तथ्यजाँच मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

नझुक्किनुस्, उदित नारायणको निधन भएको भाइरल पोस्ट गलत


नझुक्किनुस्, उदित नारायणको निधन भएको भाइरल पोस्ट गलत

गायक उदित नारायण झालाई ह्रदयाघात भएको र उनको निधन भएको दावी गरिएका पोस्टहरु बुधबार (२०२२ अक्टोबर ५) राति सामाजिक सञ्जालमा भाइरल भयो।

भारतका कुनै पनि आधिकारिक मिडियाले नराखेको यो सूचना स्रोत बिना विभिन्न नामका फेसबुक पेजहरुले मात्र फैलाएका थिए। उदित नारायणकी पत्नी दीपा नारायण झाले हल्ला फैलँदै गर्दा बुधबार राति उदितसहित सपरिवारको फोटो राखेपछि ती सूचना गलत रहेको प्रष्ट भएको छ।

कसरी फैलियो सूचना ?

उदित नारायण झाको ह्रदयाघातका कारण निधन भएको सूचना विभिन्न फेसबुक पेजहरुले राखेका थिए। छोटो समयमा यस्ता पोस्ट निकै भाइरल भए।

फेसबुकमा दुई लाख ९४ हजारले फलो गर्ने आरओई नेटवर्क नामको फेसबुक पेजले राखेको यो पोस्टमा एक घण्टा नबित्दै झण्डै ७ हजार रियाक्सन थियो भने १६ सय कमेन्ट र १२ सय सेयर थियो।

आरओईले पोस्ट गरेको सूचना, जुन पछि त्यहाँबाट हटाइयो। 

आरओईसँगै अरु विभिन्न फेसबुक पेजहरुमा पनि यो खबर छिट्टै भाइरल भयो। ट्रोल हिपहप नेपाल नामको फेसबुक पेजमा पनि एक घण्टामै यो पोस्टमा ५४ सय रियाक्सन, ११ सय कमेन्ट र १३ सय सेयर थियो।

ट्रोल हिपहप नेपाल नामको फेसबुक पेजमा भाइरल भएको पोस्ट

यसबाहेक ट्रोल फरेस्ट्री (स्क्रिनसट), लोकसेवा नेपाल (स्क्रिनसट), अलोन (स्क्रिनसट), रुटिन अफ स्याङ्गजा बन्द (स्क्रिनसट) नामसहित अन्य विभिन्न फेसबुक पेजहरु र व्यक्तिले पनि यस्तो दावीसहितका सूचना राखेका थिए।

के हो तथ्य ?

हामीले यो विषयमा जानकारी पाउनका लागि उदित नारायणकी पत्नी दीपा नारायण झासित फेसबुकमार्फत् सम्पर्क गरेका थियौँ। दीपाले आफ्नो फेसबुकमा आइतबार राति ह्यापी विजया दशमी लेख्दै उदितसहित छोरा, बुहारी र नातिनीको समेत फोटो पोस्ट गरेकी छिन्। हेर्नुस् स्क्रिनसट।  उनले हल्लामा सत्यता नभएको बताइन्।

भारतको पद्म श्री र पद्म भुषण अवार्ड जितिसकेका प्लेब्याक सिङ्गर उदित नारायणको बारेमा नेपालका केही फेसबुक पेजहरुले गरेको हल्ला जस्तो समाचार भारतका आधिकारिक न्युज मिडिया कुनैमा पनि केही समाचार आएको देखिएन। तसर्थ उदित नारायणको निधन भएको दावी गरिएका पोस्टहरु गलत देखिन्छ।

तथ्य जाँच

दावी : लोकप्रिय गायक उदित नारायण झाको ह्रदयाघातका कारण निधन भयो।

दावीकर्ता : विभिन्न फेसबुक पेजहरु।

तथ्य : मिथ्या सूचना। उदित पत्नी दीपाको फेसबुक पोस्ट र भारतीय आधिकारिक न्युज मिडियामा यसबारे कुनै समाचार नदेखिएकोले स्रोत बिना फेसबुक पेजहरुले लेखेका समाचार गलत देखिन्छ।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add