- उमेश श्रेष्ठ
- कार्तिक ६, २०७९
अपूर्व र पृथ्वीलाई दाँजेर भाइरल भएको ट्विट भ्रामक
सामाजिक सञ्जाल ट्विटरमा काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाडेका कमेडियन अपूर्व क्षितिज सिंह र बुढानिलकण्ठमा भएको सवारी दुर्घटनासम्बन्धी मुद्दामा सजाय सुनाइएका पृथ्वी मल्ललाई तोकिएको रकमको तुलना गर्दै गरिएको एउटा पोस्ट भाइरल भएको छ। भाइरल ट्विटमा सिंहलाई साढे दुई लाख धरौटी मागिएको तर एक महिलाको ज्यान जाने गरी भएको सवारी दुर्घटनामा चालक मल्ललाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको उल्लेख छ। तर हाम्रो तथ्य जाँचमा मल्ललाई तोकिएको जरिवाना रकम गलत देखिएको छ।
भाइरल ट्विट
नो नेक्स्ट क्वेस्चन नामको ट्विटर ह्यान्डलबाट अक्टोबर २२ मा गरिएको यो सम्बन्धी ट्विट यो स्क्रिनसट लिँदासम्म २२४ पटक रिट्विट भइसकेको छ भने त्यसमा ४९८ लाइक छ र २५ वटा कोट ट्विट रहेको छ। हेर्नुस् अर्काइभ
के हो तथ्य ?
२०७६ सालमा पैदल यात्रु लीला देवकोटाको मृत्यु हुने गरी बुढानिलकण्ठमा भएको सवारी दुर्घटनाका चालक पृथ्वी मल्ललाई काठमाडौँ जिल्ला अदालतले २०७८ चैत ७ गते सजाय तोकेको थियो।
हामीले राम कुमार देवकोटाको जाहेरीले नेपाल सरकार वादी रहेको काठमाडौँ जिल्ला अदालतमा चलेको मुद्दा नम्बर ०७६-C१-११७२ को फैसलाको पूर्णपाठ सर्वोच्च अदालतको वेबसाइटमा खोज्यौँ।
जिल्ला न्यायाधीश सूर्यप्रसाद अधिकारीले गरेको फैसलामा ६ महिना कैद र एक हजार रुपैयाँ जरिवाना उल्लेख छ।
काठमाडौँ जिल्ला अदालतको फैसलाको अंश। फैसलाको पूर्ण पाठ सर्वोच्चको वेबसाइटमा पढ्न यहाँ क्लिक गर्नुस्।
तथ्य जाँच
दावी : बुढानिलकण्ठ सवारी दुर्घटनामा चालक पृथ्वी मल्ललाई काठमाडौँ जिल्ला अदालतले ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।
दावीकर्ता : नो नेक्स्ट क्वेसन ट्विटर ह्यान्डल
तथ्य : भ्रामक सूचना । काठमाडौँ जिल्ला अदालतले मल्ललाई ६ महिना कैदको सजाय सुनाएको त हो। तर जरिवाना रकम भने १० हजार रुपैयाँ नभएर १ हजार रुपैयाँ मात्रै भएको अदालतको फैसलामा देखिन्छ।