तथ्यजाँच मिथ्या सूचना

स्थापित मिडियाका अनलाइनमा प्रकाशन भए झैँ देखिने मिथ्या स्क्रिनसट भाइरल


स्थापित मिडियाका अनलाइनमा प्रकाशन भए झैँ देखिने मिथ्या स्क्रिनसट भाइरल

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को मतदानको अघिल्लो दिन स्थापित मिडियाका अनलाइनहरुमा प्रकाशन भएको झैँ देखिने केही स्क्रिनसटहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्।

सेतोपाटी, उज्यालो, नयाँ पत्रिका लगायतका अनलाइनहरुमा प्रकाशित झैँ देखिने समाचारहरुमा माओवादीलाई भोट नदिन कांग्रेसले सर्कुलर गरेको दावी गरिएको छ।

तर हाम्रो तथ्य जाँचमा ती स्क्रिनसटहरु मिथ्या भएको देखिएको छ। 

यसरी भयो भाइरल

प्रेस चौतारीका अध्यक्षसमेत रहेका पत्रकार गणेश बस्नेतले आफ्नो फेसबुकमा शनिबार मध्याह्न ‘प्रचण्डबाहेक माओवादीका अन्य उम्मेदवारलाई भोट नहाल्न कांग्रेसको निर्देशन’ लेख्दै सेतोपाटीमा प्रकाशित जस्तो देखिने एउटा स्क्रिनसट सेयर गरेका थिए। पछि उनले आफ्नो स्टायटसलाई संशोधन गर्दै ‘भन्ने समाचार सही हो कि के हो?’ थपेका थिए। हेर्नुस् एडिट हिस्ट्रीको स्क्रिनसट

शनिबार रातिसम्म यो स्टायटसमा २०० भन्दा बढी कमेन्ट र रियाक्सन र २७ सेयर देखिन्छ।

त्यसैगरी प्रेस चौतारीका केन्द्रीय सदस्य गणेश आचार्यले पनि यही स्क्रिनसटसहितको स्टायटस राखेका थिए। तर पछि उनले त्यो हटाए। उनले सेतोपाटीसँगै उज्यालोमा प्रकाशित समाचार जस्तो देखिने स्क्रिनसट पनि राखेका थिए।

त्यसैगरी फेसबुकमा नयाँ पत्रिकाको अनलाइन संस्करणमा प्रकाशित झैँ देखिने अर्को स्क्रिनसट पनि भाइरल छ। नेकपा एमाले नामको फेसबुक पेजमा शनिबार राखिएको स्क्रिनसटमा १३२ रियाक्सन, ९ कमेन्ट र २७ सेयर भएको देखिन्छ।

फेसबुकमा अरु थुप्रैले पनि यस्तो स्क्रिनसट राखेका छन्। त्यसमा सेतोपाटीसँगै नयाँ पत्रिका र उज्यालोको पनि स्क्रिनसट देखिन्छ।

फेसबुकमा भाइरल भएका स्क्रिनसटहरु। 

के हो तथ्य ?

हामीले सेतोपाटीमा भाइरल भएको स्क्रिनसटको हेडलाइन ‘प्रचण्डबाहेक माओवादीका उम्मेदवारलाई भोट नदिन कांग्रेसको गोप्य सर्कुलर’ शीर्षकको समाचार खोज्यौँ। तर भेट्न सकेनौँ। हामीले सोही हेडलाइन राखी गुगलमा सेतोपाटीका समाचार खोज्दा पनि केही भेटेनौँ।

सेतोपाटीमा कार्यरत पत्रकार सञ्जीव बगालेले ‘कसलाई भोट दिने नदिने भनेर गोप्य सर्कुलर भएको भन्ने कुनै समाचार सेतोपाटी प्रकाशन भएको छैन’ लेखेका छन्।

नयाँ पत्रिकाको स्क्रिनसट

नयाँ पत्रिकाको झैँ देखिने स्क्रिनसटमा ‘माओवादीलाई भोट नदिन कांग्रेसको सर्कुलर आपत्तिजनक – प्रचण्ड’ शीर्षक राखिएको छ। सो समाचारमा कमलराज भट्टको बाइलाइन पनि देखिन्छ।

तर फेसबुकमा पत्रकार भट्टले याे समाचार नयाँ पत्रिकामा प्रकाशित नभएकाे, नलेखिएकाे भन्दै दुष्प्रचार राेक्न सम्बन्धित निकायकाे ध्यानाकर्षण गराएका छन्।

उनले निर्वाचन आयोगमा निवेदन दर्ता गरी प्रेस काउन्सिल र साइबर ब्युरोलाई समेत बोधार्थ दिएको पनि फेसबुकमा जानकारी दिएका छन्। हेर्नुस् उनको निवेदन।

नेपाल पत्रकार महासंघ, नयाँ पत्रिका प्रतिष्ठानले पनि विज्ञप्ति जारी गर्दै सो शीर्षकको समाचार नयाँ पत्रिकाको अनलाइनमा प्रकाशन नभएको स्पष्ट पारेको छ।

हामीले नयाँ पत्रिकाको वेबसाइटमा र गुगलमा खोज्दा पनि यो शीर्षकको समाचार त्यसमा प्रकाशन भएको भेटेनौँ।

उज्यालोको स्क्रिनसट

त्यस्तै रुटिन अफ दार्चुला बन्द नामको फेसबुक पेज र अन्य विभिन्न फेसबुक प्रोफाइल र पेजहरुले उज्यालो अनलाइनको जस्तो देखिने स्क्रिनसट सेयर गरेका छन्, जसको शीर्षक ‘माओवादीले पाएका क्षेत्रमा अन्य अनुकूल उम्मेदवारलाई जिताउनु – कांग्रेस सर्कुलर (अडियो सहित)’ राखिएको छ।

हामीले उज्यालो अनलाइन र गुगलमा खोज्दा पनि  यो शीर्षकमा त्यसमा समाचार प्रकाशन भएको भेटेनौँ।

प्रेस काउन्सिलले शनिबारै विज्ञप्ति जारी गरी केही सञ्चार माध्यमको मास्टहेड प्रयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा अफवाहपूर्ण, दुष्प्रचारयुक्त, गलत एवं भ्रामक समाचार बनाई सामाजिक सञ्जालबाट सम्प्रेषण भएको भन्दै ती शीर्षकमा त्यस किसिमका कुनै समाचार ती मिडियाले सम्प्रेषण नगरेको जवाफ प्राप्त भएको उल्लेख गरेको छ। हेर्नुस् काउन्सिलको विज्ञप्ति।

नेपाल पत्रकार महासंघले पनि केही स्थापित सञ्चारमाध्यममा प्रकाशन नै नभएको विषय वस्तुलाई प्रविधिको दुरुपयोग गरेर प्रस्तुत गरी सामाजिक सञ्जालमा पोष्ट गरिएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। हेर्नुस् महासंघको विज्ञप्ति

यस्तै नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयका मुख्य सचिवले शनिबार संयुक्त वक्तव्य जारी गर्दै नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा  (माओवादी केन्द्र) बीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरुमा प्रेषित सूचनाप्रति दुबै पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। विज्ञप्तिमा यसलाई यस्ता भ्रमपूर्ण  र मिथ्या सूचना भनिएको छ। हेर्नुस् विज्ञप्ति 

तथ्य जाँच

दावी : माओवादीलाई भोट नदिन कांग्रेसले सर्कुलर गरेको दावी गर्दै विभिन्न मिडियाको अनलाइनमा प्रकाशित भए झैँ देखिने स्क्रिनसटहरु।

दावीकर्ता : फेसबुक पेज र प्रयोगकर्ताहरु

तथ्य : मिथ्या सूचना। यस्ता समाचार सो मिडियामा प्रकाशित भएको हामीले भेटेनौँ। कसैले यसको लिङ्क पनि सेयर गरेका छैनन्।

वेबसाइटको एचटिएमएल कोड परिवर्तन गरी यसरी सोही अनलाइनमा समाचार प्रकाशित भए झैँ देखिने बनाउन सकिन्छ। यसबारे हामीले यसअघि के हो पूर्वराजा ज्ञानेन्द्रको नामसहित मूर्तिचोरी सम्बन्धी सामाजिक सञ्जालमा भाइरल समाचारको तथ्य? यसरी बनाउन सकिन्छ नक्कली स्क्रिनसट शीर्षकको तथ्य जाँचमा भिडियोसहित लेखेका थियौँ। अहिले पनि यसरी नै मिथ्या समाचारको स्क्रिनसट बनाइएको देखिन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add