तथ्यजाँच भ्रामक सूचना वागमती

के सरकारले पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरिसकेको हो?


के सरकारले पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरिसकेको हो?

अपडेट (पुस २६) : हामीले यो तथ्य जाँच गर्दासम्म सरकारले पुस २७ मा सार्वजनिक विदा दिने निर्णय गरिनसकेको भए पनि पुस २५ गते बसेको मन्त्रिपरिषद्‍को बैठकले निर्णय गरेको र त्यससम्बन्धी सूचना गृह मन्त्रालयले पुस २६ गते सार्वजनिक गरेको छ
***
सामाजिक सञ्जालमा पृथ्वीनारायण शाहको जन्म दिवस पर्ने पुस २७ गते सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको सूचना भाइरल भएको छ।

तर हाम्रो तथ्य जाँचमा यो भ्रामक सूचना भएको देखिएको छ। पुस २७ गते विदा दिने निर्णय सरकारले गरेको नभई सत्ता गठबन्धनको २० बूँदे नीतिगत प्राथमिकता र कार्यक्रममा आएको हो।

कसरी भयो भाइरल ?

६४ हजार फलोअर्स भएको राजेन्द्र लिङ्गदेन फेसबुक पेजमा शुक्रबार (६ जनवरी २०२३) मा  ‘सरकारले पृथ्वी जयन्तीका दिन विदा दिने निर्णय गरेको’ दावी गर्दै ब्रेकिङ लेखिएको छ। आइतबार मध्याह्नसम्म यो पोस्टमा ४ हजार ५ सय रियाक्सन, ४७५ कमेन्ट र १६३ सेयर देखिन्छ।

त्यस्तै फेसबुकमा २ लाख ३८ हजार फलोअर्स भएकी इशा माया गुरुङले पनि शनिबार मध्याह्न ‘सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको’ दावीसहित स्टायटस लेखेकी छिन्। उनको स्टायटसमा २४ घण्टा नपुग्दै ३ हजार ३ सय रियाक्सन, ३०२ कमेन्ट र १२ सेयर देखिन्छ। हेर्नुस् स्क्रिनसट

त्यस्तै राप्रपा नयाँ पुस्ता नामको फेसबुक पेजले अन्ततः राप्रपाले प्रचण्डलाई घुँडा टेकाएरै छाड्यो, पृथ्वी जयन्ती पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको दावी गर्दै एउटा भिडियो पोस्ट गरेको छ। उक्त भिडियो २ लाख ६८ हजारभन्दा बढी पटक हेरिएको छ। यो पोस्टमा २१ हजार रियाक्सन छन् भने १ हजार कमेन्ट र १ हजार ६ सय सेयर देखिन्छ।

के हो तथ्य ?

पुस २७ गते विदा दिने विषय  पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान गठबन्धन सरकारमा सहभागी नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी-नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले एमाले उपाध्यक्ष तथा उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वमा गठन गरेको नीतिगत प्राथमिकता र कार्यक्रमको मस्यौदामा समेटिएको हो। 

पुस २३ गते शनिबार कार्यदलले शीर्ष नेतालाई मस्यौदा बुझाएको छ। यसमा शीर्ष तहले छलफल गरी अन्तिम रुप दिन बाँकी छ।

२० बूँदे उक्त मस्यौदाको मिडियामा सार्वजनिक भएको मस्यौदाको ‘पर्यटन, संस्कृति, सामाजिक सद्‍भाव र राष्ट्रिय एकता’ शीर्षकको १५ औँ बूँदामा नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने’ उल्लेख छ।

मिडियामा सार्वजनिक भएको मस्यौदाको अंश

सार्वजनिक विदाको निर्णय मन्त्रिपरिषद्‍बाट हुने गर्छ। त्यसलाई गृह मन्त्रालयले सूचनामार्फत् सार्वजनिक गर्ने गर्छ। अहिलेसम्म सरकारले यस्तो निर्णय गरिसकेको छैन भने गृह मन्त्रालयले पनि सूचना जारी गरिसकेको छैन।

२०७४ सालमा पुस २७ गते विदा दिँदा गृह मन्त्रालयले जारी गरेको सूचना। यसपटक यस्तो सूचना जारी भइसकेको छैन।

तथ्य जाँच

दावी : सरकारले पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।

दावीकर्ता : विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरु।

तथ्य : भ्रामक सूचना। पुस २७ गते सार्वजनिक विदा दिने विषय सत्ता गठबन्धनले तयार पारेको न्यूनतम साझा कार्यक्रम भनिने नीतिगत प्राथमिकता र कार्यक्रमको मस्यौदामा समेटिएको हो। सरकारले यो विषयमा हालसम्म निर्णय गरिसकेको छैन। तर साझा कार्यक्रमको मस्यौदामै समेटिएको कारण सार्वजनिक विदाको निर्णय हुने सम्भावना भने छ। यद्यपि यो तथ्य जाँच गर्दाको समय आइतबारसम्म यसबारे सरकारले निर्णय गरिसकेको छैन। 

अपडेट (पुस २६) : हामीले यो तथ्य जाँच गर्दासम्म सरकारले पुस २७ मा सार्वजनिक विदा दिने निर्णय गरिनसकेको भए पनि पुस २५ गते बसेको मन्त्रिपरिषद्‍को बैठकले निर्णय गरेको र त्यससम्बन्धी सूचना गृह मन्त्रालयले पुस २६ गते सार्वजनिक गरेको छ


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add