तथ्यजाँच मिथ्या सूचना वागमती

के पूर्व युवराज्ञी हिमानी शाहले केपी ओलीबारे ट्विट गरेकी हुन्?


के पूर्व युवराज्ञी हिमानी शाहले केपी ओलीबारे ट्विट गरेकी हुन्?

हिमानी शाह नाम राखिएको र उनकै फोटो प्रयोग भएको @HimaniShaha ह्यान्डल भएको ट्विटर अकाउन्टबाट बुधबार (वैशाख १३, २०८०) मा आफ्नो बारे गरिएको ट्विटलाई लिएर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र र पूर्व युवराज्ञी हिमानीको आलोचना गरे।

तर हाम्रो तथ्य जाँचमा भने उक्त ट्विटर अकाउन्ट हिमानी शाहको नभएको देखिएको छ।

भएको के हो ?

हिमानी शाह नाम राखिएको र उनकै फोटो प्रयोग भएको @HimaniShaha ह्यान्डल भएको ट्विटर अकाउन्टबाट बुधबार एउटा ट्विट गरियो, जसमा लेखिएको थियो ‘झापामा केपी ओलीको गाडीमाथि ढुंगामुडा गर्दै जनताले कालो झण्डा देखाएका छन्।’

स्क्रिनसट


तर पछि उक्त ट्विट डिलिट गरिएको थियो।  लिंक

पाँच हजार भन्दा बढी फलोअर रहेको उक्त ट्विटर अकाउन्टबाट पोस्ट भएको सामग्रीलाई लिएर ओलीले बिहीबार (२०८० वैशाख १४ गते) इलाम बजारमा आयोजित पार्टीको मिसन ग्रासरुट कार्यक्रममा पूर्व राजा र उनको परिवारको आलोचना गरे।

ओलीले भनेका थिए, ‘ज्ञानेन्द्र शाह उसका परिवार… उनकी बुहारी जान्ने भएर जनताले ढुंगा हान्या देख्ने। अनि ट्विट गरीगरिकन जनताले केपी ओलीलाई ढुंगा हाने। मैले यसको जवाफ दिनु नपरोस्, ज्ञानेन्द्र शाहलाई भनिदिन्छु बढ्ता फुरफुर नगर……छोरा बुहारी धेरै अगाडि सारेर फुरफुर नगर म चेतावनी दिन्छु।’

ओलीको भनाई सहितको भिडियोलाई शिलापत्रले ट्विट गरेको छ।

के हो तथ्य ?

हिमानी शाहको नामबाट सञ्चालित ट्विटर अकाउन्टबाट पोस्ट भएको सामग्रीबारे हामीले पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व युवराज्ञी हिमानीको निजी सचिवालयका सदस्यसँग जिज्ञासा राख्यौँ।

हिमानीकी निजी सचिव स्मिता सिंहले हिमानीले कुनै किसिमका सामाजिक सञ्जाल नचलाउने जानकारी दिइन्।

पूर्व राजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणीराज पाठकसँग यस विषयमा जिज्ञासा राख्दा उनले पनि पूर्व राजा, पूर्व रानी र पूर्व युवराज्ञीले कुनै पनि प्रकारका सामाजिक सञ्जाल प्रयोग नगर्ने जानकारी गराउँदै यस विषयमा संवाद सचिवालयले जारी गरेको प्रेस विज्ञप्ति हामीलाई उपलब्ध गराए।

शुक्रबार (२०८० वैशाख १५) जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ महाराजाधिराज सरकार, श्री ५ बडामहारानी सरकार तथा श्री ५ युवराज्ञी सरकारबाट कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा पुनः जानकारी गराइन्छ । यस्तो निराधार कपोल्पल्पित भ्रमजालबाट मुक्त रहन सबैमा आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्‍याउन अनुरोध गरिन्छ।’

पूर्व राजा शाहका संवाद सचिव पाठकले पठाएको प्रेस विज्ञप्ति

 

विज्ञप्तिमा यसअघि २०७८/८/२३ मा पनि यस विषयमा खण्डन गरिएको उल्लेख गरिएको छ ।

संवाद सचिवालयले हिमानी शाहले कुनै प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरेको भन्दै २०७८ सालमा जारी गरेको विज्ञप्ति।

विज्ञप्तिको लिंक

यसअघि नेपालफ्याक्टचेकले २०७७ सालमा पनि पूर्वराजा ज्ञानेन्द्रले फेसबुक र ट्विटर चलाउन थालेको भन्दै त्यसका आधारमा मिडियामा आएका समाचारहरुको तथ्य जाँच गरेको थियो। हेर्नुस् लिङ्क- के पूर्वराजा ज्ञानेन्द्रले फेसबुक र ट्विटर चलाउन थालेका हुन्?

तथ्य जाँच

दावी : पूर्व युवराज्ञी हिमानी शाहले केपी ओलीबारे ट्विट गरिन्।

दावीकर्ता : एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ।

तथ्य :  मिथ्या सूचना।  पूर्व राजा ज्ञानेन्द्र शाहको संवाद सचिवालय तथा पूर्व युवराज्ञी हिमानी शाहको निजी सचिवालयले समेत शाहले कुनै प्रकारका सामाजिक सञ्जाल नचलाएको बताए। पूर्व राजाको संवाद सचिवालयले शुक्रबार विज्ञप्ति नै जारी गर्दै यस विषयमा प्रष्ट पारेको छ भने दुई वर्ष अघि पनि विज्ञप्ति जारी गर्दै कुनै सामाजिक सञ्जाल नचलाएको प्रष्टाएको थियो। हामीले मार्च २०२२ देखि सञ्चालित उक्त ट्विटर ह्यान्डलबाट भएका ट्विटहरु र त्यसमा प्रयोग भएको भाषासमेतको विश्लेषण गरी यो हिमानीको नामको नक्कली अकाउन्ट भएको निश्कर्षमा पुग्यौँ।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add