- वसन्त खड्का
- बैशाख ३०, २०८०
के भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्ने एमाले कार्यकर्ता अर्घाखाँचीमा कुटिएका हुन्?
‘नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछौँ भन्दै पैसा असुली गर्ने एमाले कार्यकर्तालाई अर्घाखाँचीमा जनताले कुटेको दावी गर्दै राखिएका फोटोसहितको सामग्री सामाजिक सञ्जालमा भाइरल भएका छन्। भाइरल पोस्टमा ढाडमा डाम सहितको र केही मानिसहरुले एक जना व्यक्तिलाई कुट्दै गरेको जस्तो देखिने फोटो राखिएको छ। कुनै पोस्टमा मुखमा चोटपटक देखिने व्यक्तिको फोटो पनि राखिएको छ। तर हाम्रो तथ्य जाँचले भने भाइरल पोस्टमा प्रयोग गरिएका फोटोसहितको दाबी मिथ्या भएको देखिएको छ।
भाइरल सूचनामा के छ?
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुल गरेको विषयमा नेपाल प्रहरीले अनुसन्धान गरिरहँदा सामाजिक सञ्जाल सोही घटनासँग जोडिएका सामग्री भाइरल भइरहेका छन्।
फेसबुकमा मे ८, २०२३ मा नेकपा (एकीकृत समाजवादी) नाम राखिएकोको एउटा फेसबुक ग्रुपमा क्षत्रीय बुढाथोकी नामको फेसबुक एकाउन्टबाट ढाडमा डाम देखिने र केही व्यक्तिहरुले एक जना व्यक्तिमाथि आक्रमण गर्दै गरेको जस्तो देखिएको फोटो राख्दै लेखिएको छ, ‘नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछौ भन्दै पैसा असुली गर्ने एक एमाले कार्यकर्तालाई जनताले रामधुलाई गरेछन आज अर्घाखाँचीमा ।’
९२ हजारभन्दा बढी सदस्य रहेको उक्त ग्रुपको यो पोस्टमा बुधबार बेलुका (मे १०, २०२३) सम्म ९३७ पटक रियाक्ट गरिएको छ भने १४७ वटा कमेन्ट र ६५ पटक सेयर गरिएको छ।
फेसबुक लिंक
मे ८, २०२३ मै आशिष तामाङ नामको फेसबुक एकाउन्टबाट ती दुई तस्वीर सहित मुखमा डाम देखिने थप अर्काे तस्वीर पनि राखेर सोही विवरण राखी पोस्ट गरिएको छ। उक्त पोस्टमा बुधबार बेलुकासम्म २४८ रियाक्ट, ८१ कमेन्ट र १९९ पटक सेयर गरिएको छ।
महेश नेपाल नाम गरेको नाम गरेको फेसबुक पेजबाट समेत सोही विवरणसहित दुई तस्वीर राखिएको छ। जसमा बुधबार बेलुकासम्म ९११ रियाक्सन, ८० कमेन्ट र ५६ पटक सेयर गरिएको छ।
तथ्य जाँच गर्ने क्रममा हामीले फेसबुकमा सोही विवरण र तस्वीर सहित अन्य पोस्टहरु पनि राखेको हामीले पायौँ । जसको स्क्रिन रेकर्डको लिंक यहाँ रहेको छ ।
के हो तथ्य ?
भाइरल पोस्टमा भएको फोटोलाई हामीले पालैपालो गुगल रिभर्स इमेजमा राखेर खोज्यौँ।
पहिलो फोटो रामेछापको, कुटिएका सवारी चालक
अर्घाखाँचीमा एमाले कार्यकर्तालाई कुटिएको दावी गरी भाइरल गरिएका पोस्टमा भएको पिठ्युँमा डाम देखाउँदै गरेको फोटो एक वर्षपहिले कान्तिपुर दैनिकको अनलाइन संस्करणमा प्रकाशित भएको भेट्यौँ।
“एमाले कार्यकर्ताहरुद्वारा सवारी चालकमाथि आक्रमण” शीर्षकमा २०७९ वैशाख २४ गते प्रकाशित समाचारमा चुनावी अभियानका लागि भाडामा गाडी प्रयोग गर्न नदिएपछि चालक दानबहादुर तामाङमाथि कुटपिट भएको उल्लेख छ। घटना रामेछापको रामपुरमा भएको समाचारमा उल्लेख छ।
इकान्तिपुरमा प्रकाशित समाचारको लिंक हेर्न यहाँ क्लिक गर्नुस्।
दोस्रो फोटो बनेपाको, कुटिएका ‘बन्दकर्ता’
भाइरल पोस्टमा प्रयोग भएको अर्काे तस्वीर (जसमा एक जना व्यक्तिमाथि कुटपिट भएको देख्नि सकिन्छ) लाई पनि हामीले गुगल रिभर्स इमेज सर्चमा राखी खोज्यौँ। यो फोटोसहित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आयोजना गरेको बन्दका क्रममा बन्द गराउँदै हिडने बन्दकर्तामाथि बनेपामा स्थानीयहरुले गरेको प्रतिकारको समाचार सेतोपाटीले २०७९ भदौ ७ गते प्रकाशित गरेको छ।
समाचारको लिंक हेर्न यहाँ क्लिक गर्नुस्।
तेस्रो फोटो काभ्रेको, कुटिएका ‘मेयरका आकांक्षी’
भाइरल पोस्टमा अनुहारमा चोटपटक देखिने तेस्रो तस्वीर पनि हालको नभएर पहिलेकै रहेको पाइएको छ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा टिकट वितरण सम्बन्धी विवादमा नेपाली कांग्रेसबाट मेयरका दाबेदार रोशन पाण्डे कुटिएको भन्दै अनलाइनखबरमा २०७९ वैशाख ११ गते प्रकाशित समाचारमा यही फोटो प्रयोग गरिएको छ। हेर्नुस् अनलाइनखबरको समाचारको लिङ्क।
तथ्य जाँच
दावी : नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछौ भन्दै पैसा असुली गर्ने एक एमाले कार्यकर्तालाई अर्घाखाँचीमा कुटपिट गरिएको दावी गर्दै प्रयोग भएका तीन वटा फोटोहरु।
दावीकर्ताः सामाजिक सञ्जाल प्रयोगकर्ता।
तथ्यः मिथ्या सूचना। तथ्य जाँचका क्रममा सामाजिक सञ्जालमा भाइरल भएका फोटोहरु पुरानो भएको भेटिएको छ। ती फोटोहरु अर्घाखाँचीको नभई रामेछाप, काभ्रेको बनेपा र नमोबुद्धको भएको हामीले पायौँ। अर्घाखाँचीमा त्यस्तो कुनै घटना भएको समाचार पनि हामीले भेटेनौँ। तसर्थ यो मिथ्या सूचना भएको निश्कर्षमा हामी पुग्यौँ।