तथ्यजाँच मिथ्या सूचना वागमती

के ललिता निवास प्रकरणमा विष्णु पौडेलविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ?


के ललिता निवास प्रकरणमा विष्णु पौडेलविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ?

ललिता निवास प्रकरणमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध पक्राउ पूर्जी जारी भएको सूचना फेसबुकमा भाइरल भएको छ।

तर, हाम्रो तथ्य जाँचले भने उक्त सूचना मिथ्या भएको देखिएको छ।

के छ भाइरल सूचनामा ?

शुक्रबार बिहान १०ः१९ मा हरि भण्डारी नाम गरेको फेसबुक एकाउन्टबाट एउटा पोस्ट भयो, जसमा लेखिएको थियो, ‘ललिता निवास प्रकरणमा विष्णु पौडेललाई पक्राउ पुर्जी जारी भएको छ।’

पछि उनले आफ्नो स्टायटसलाई सम्पादन गरी ‘…पक्राउ पूर्जी जारी भएको खबर छ के सत्य हो?’ बनाए।

फेसबुकमा रहेको Edit history अप्सनबाट यो हेर्न सकिन्छ।

उक्त पोस्टमा शनिबार दिउँसोसम्म ७ सयभन्दा बढी रियाक्सन, १६५ वटा कमेन्ट र ६९ पटक सेयर गरिएको छ ।

फेसबुक लिंक

त्यस्तै रविन विश्वकर्मा नाम गरेको फेसबुक एकाउन्टबाट शुक्रबार बिहान १०ः३७ मा त्यस्तै अर्काे सूचना पोस्ट भएको छ । जसमा लेखिएको छ, ललिता निवास प्रकरणमा विष्णु पौडेललाई पक्राउ पूर्जी जारी भएको छ । उक्त पोस्टलाई शनिबार दिउँसोसम्म १६३ पटक रियाक्सन, ३७ कमेन्ट र सात पटक सेयर गरिएको छ।

फेसबुक लिंक

हामीले फेसबुकमा विष्णु पौडेललाई पक्राउ पूर्जी कि वर्ड राखेर सर्च गर्दा शुक्रबार नै पोस्ट भएका विष्णु पौडेल विरुद्ध पक्राउ पूर्जी जारी भएको दाबी गरिएका कैयौँ फेसबुक पोस्ट फेला पार्‍यौँ। हेर्नुस् स्क्रिनरेकर्ड

के हो तथ्य ?

विष्णु पौडेललाई पक्राउ पूर्जी जारी भएको खबर हामीले सामाजिक सञ्जालबाहेक अन्य कुनै पनि विश्वसनीय मिडियामा भेट्टाएनौँ।

मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५ अनुसार पक्राउ पूर्जी मुद्दा हेर्ने अदालतले जारी गर्छ। तर त्यस्तो पूर्जी जारी गर्ने अनुमतिका लागि
भने अनुसन्धान अधिकारी वा प्रहरी कार्यालय वा अनुसन्धान गर्ने कार्यालयको प्रमुखले अदालतसमक्ष निवेदन दिनुपर्छ।

हामीले फेसबुकमा भाइरल भइरहेको सूचनाको तथ्य जाँच गर्ने क्रममा नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेर कडायतसँग यस विषयमा जिज्ञासा राख्यौँ। उनले विष्णु पौडेलविरुद्ध पक्राउ पूर्जी जारी गरेको दाबी गलत भएको बताए।

तथ्य जाँच

दावी :  ललित निवास प्रकरणमा विष्णु पौडेललाई पक्राउ पूर्जी जारी भएको छ।

दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता

तथ्यः मिथ्या सूचना । नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले  विष्णु पौडेललाई पक्राउ पूर्जी जारी भएको सूचना गलत भएको बताए।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add