- वसन्त खड्का
- जेष्ठ २३, २०८१
क्रिकेटर सोमपाल कामीमाथि अमेरिकामा जातीय विभेद भएको दावीको तथ्य के हो?
विश्वकप क्रिकेट खेल्न अमेरिका पुगेका नेपाली क्रिकेट टिमका सदस्य सोमपाल कामीमाथि अमेरिकाको एक मन्दिरमा जातीय विभेद भएको दावी गर्दै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । हाम्रो तथ्यजाँचले भने उक्त दावी मिथ्या देखिएको छ।
के हो घटना?
अमेरिकाको टेक्सासमा रहेको नेपाली मन्दिरमा विश्वकप खेल अगाडि पूजा गर्न गएका क्रिकेटर कामीलाई त्यहाँ रहेका नेपाली पुजारीले दलित भनेर टीका नलगाइदिएको लगायतका दाबीसहित एउटा भिडियो भाइरल भइरहेको छ।
भिडियोमा नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई आरती गर्दै टीका लगाइदिएको देखिन्छ। सोही भिडियोमा क्रिकेटर कामीलाई पुजारीले प्रसाद मात्र दिएको देखिन्छ। सोही भिडियोलाई लिएर सामाजिक सञ्जालमा सोमपालमाथि जातीय विभेद भएको दावी गरिएको हो।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोका स्क्रिनसट
फेसबुक भिडियो लिंक
फेसबुक भिडियो लिंक
के हो तथ्य ?
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोका आधारमा खेलाडीमाथि विभेद भएको भन्दै चर्काे विरोध भइरहेका बेला नेपाली खेलाडीहरु अमेरिकाको नेपाली मन्दिरमा गएर पूजा गरेको दृश्यको प्रत्यक्षदर्शी पत्रकार रामचन्द्र भट्टले भिडियोमा दाबी गरेजस्तो खेलाडीमाथि कुनै जातीय विभेद नभएको र वास्तविकता फरक रहेको बताएका छन्।
नेपालफ्याक्टचेकसँग कुरा गर्दै उनले सामाजिक सञ्जालमा गरिएको दावी गलत रहेको बताए।
उनले आफ्नो फेसबुकमा पनि लेखेका छन्, ‘क्रिकेट खेलाडी सोमपाल सबैभन्दा पहिले हिजो बिहानै मन्दिरभित्र प्रवेश गरे । उनी सरासर भक्तजनले पूजा गर्ने ठाउँमा गए। मन्दिरका पुजारी मेघराज निरौला क्रिकेटप्रेमी भएको र सोमपाललाई चिन्ने कारण महादेवको सानो मूर्तिमा जल अभिषेक गरे। आरती गरे र दुबै पुजारीले टीका लगाईदिए। पछि अरु खेलाडी र कोच पनि मन्दिर पसे। उनीहरुले पनि आरती, जल चढाए। पुजारीले क्रमैसँग टीका लगाइदिए। प्रसाद दिए। पहिल्यै निधारमा टीका भएकोले पछि साथीहरुसँग जाँदा चाहिँ सोमपालले हातमा प्रसाद मात्र लिए। भाइरल बनाइएको र गाली गरिएको भिडियो यही हो। निधारमा त्यहीँ लगाएको टीका भएकोले उनले दोहोर्याउन चाहेनन्।’
भट्टले क्रिकेटर सोमपाललाई पुजारीले टीका नलगाइदिएको भन्ने दाबीलाई खण्डन गर्दै पुजारीले सोमपाललाई टीका लगाइदिँदै गरेको तस्वीर र आरती गर्दै गरेको भिडियो पनि हामीलाई पठाए।
पत्रकार भट्टले सामाजिक सञ्जालमा राखेको स्टाटसको स्क्रिनसट
फेसबुक लिंक
पुजारीले सोमपाललाई टीका लगाइदिँदै गरेको तस्वीर । तस्वीर स्रोतः रामचन्द्र भट्ट
नेपाली क्रिकेट टिमका कोच र अन्य खेलाडीसँग सोमपाल, जहाँ सबैजनाले टीका लगाएको देख्न सकिन्छ । तस्वीर रामचन्द्र भट्ट ।
पुजारीले मन्दिरमा खेलाडी सोमपाललाई आरती गर्दै गरेको भिडियोको लिंक १। लिंक २ भिडियो स्रोतः रामचन्द्र भट्ट ।
तथ्यजाँच
दाबीः अमेरिकामा पण्डितले क्रिकेटर सोमपाल कामी माथि जातीय विभेद गरे।
दाबीकर्ताः सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्यः मिथ्या सूचना। अमेरिकामा रहेका पत्रकार रामचन्द्र भट्टसँगको कुराकानी, उनले सामाजिक सञ्जालमा राखेका तस्वीर तथा भिडियोमा मन्दिरका पुजारीले क्रिकेटर सोमपाल कामीलाई आरती गर्दै टीका लगाइदिएको देख्न सकिन्छ । त्यस्तैले पुजारीबाट खेलाडीमाथि जातीय विभेद भन्ने दाबी मिथ्या रहेको निष्कर्षमा हामी पुग्यौँ।