तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

सामुदायिक विद्यालयका ८८ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको मिडियाको दावी भ्रामक


सामुदायिक विद्यालयका ८८ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको मिडियाको दावी भ्रामक

  • सागर बुढाथोकी 

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा यो वर्ष सामुदायिक विद्यालयका ८८.१२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको भन्दै नयाँ पत्रिका राष्ट्रिय दैनिकमा समाचार प्रकाशित भएको छ। यसै समाचारका आधारमा सोसल मिडियामा राष्ट्रिय दलका नेतासहितले चर्चा पनि गरेको हामीले भेट्यौँ।

तर, हाम्रो तथ्य जाँचले भने यो दावी भ्रामक देखिएको छ। दुई फरक प्रतिशतहरुको तथ्याङ्कलाई गलत तरिकाले विश्लेषण गरी समाचारमा भ्रामक प्रस्तुति गरिएको हामीले पायौँ।

के छ दावी ?

‘नयाँ पत्रिका’ राष्ट्रिय दैनिकले २o८१ असार १५ गते शनिबारको पत्रिका र आफ्नो आधिकारिक अनलाइन नयाँपत्रिकाडेली डट कममा ‘अनुत्तीर्णमध्ये ८८.१२% विद्यार्थी सामुदायिक विद्यालयका’ शीर्षकमा समाचार राखेको छ।

समाचारको लिडलाइनमा लेखिएको छ- ‘माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सामुदायिक विद्यालयको नतिजा दयनीय देखिएको छ । अनुत्तीर्ण हुने दुई लाख ४२ हजार ३१३ परीक्षार्थीमध्ये ८८.१२ प्रतिशत अर्थात् दुई लाख १३ हजार ५३४ विद्यार्थी सामुदायिक विद्यालयका छन्।’ 

पढ्नुस् समाचारको अर्काइभ लिङ्क। 

सो समाचारलाई नयाँ पत्रिका राष्ट्रिय दैनिकको आधिकारिक फेसबुक पेजमा  बिहीबार दिउँसोसम्म ७५ पटक सेयर र २१ वटा कमेन्ट गरिएको छ भने १८५ रियाक्सन छन्।

हेर्नुस् स्क्रिनसट

अर्काइभ लिङ्क।

पहिले ट्विटरका नामले चिनिने सामाजिक सञ्जाल एक्समा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको @drckraut ह्यान्डलबाट पनि यही समाचारको स्क्रिनसटसहित ट्विट गरिएको छ, जसमा लेखिएको छ- ‘राज्यनियन्त्रित समाजवादी मोडल असफल भएको नेपालको पछिल्लो प्रमाण हो: SEE मा अनुत्तीर्णमध्ये ८८.१२% विद्यार्थी सामुदायिक विद्यालयका हुन्…’ । बिहीबार दिउँसोसम्म यसलाई ४२ पटक रिट्विट, १६३ लाइक गरिएको छ।

हेर्नुस् स्क्रिनसट-https://x.com/drckraut/status/1807444063081406651

एक्स लिङ्क। अर्काइभ लिङ्क।

नयाँ पत्रिकाको आधिकारिक एक्स ह्याण्डल @NAYA_PATRIKA मा अनुत्तीर्णमध्ये ८८.१२% विद्यार्थी सामुदायिक विद्यालयका’ लेख्दै सेयर गरिएको छ। उक्त समाचार बिहिबार दिउँसोसम्म १४ पटक रिट्विट गरिएको छ।

के हो तथ्य ?

यो विषयको तथ्यजाँच गर्नका हामीले राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलसँग सम्पर्क गर्‍यौँ। उनले ‘समाचारलाई सनसनी बनाउन तथ्याङ्कलाई गलत विश्लेषण गरिएको’ बताए।

हामीले उनलाई आधिकारिक तथ्याङ्क उपलब्ध गराउन आग्रह गर्‍यौँ। यस्तो छ उनले उपलब्ध गराएको आधिकारिक तथ्याङ्कको स्क्रिनसट-

हेर्नुस् उनले उपलब्ध गराएको आधिकारिक तथ्याङ्क गुगल सिट्समा। 

हामीले नयाँ पत्रिकामा प्रकाशित समाचारसँग आधिकारिक तथ्याङ्क जाँचेर पनि हेर्‍यौँ। समाचारमा उल्लेख भएको सहभागी  सामुदायिक विद्यालयको संख्या ६ हजार ६६५,  सामुदायिक विद्यालयका कूल परीक्षार्थी ३ लाख ३१ हजार ८६७, उत्तीर्ण भएका सामुदायिक विद्यालयका कूल विद्यार्थीको संख्या १ लाख १८ हजार ३३३ र एनजी (फेल)  भएका सामुदायिक विद्यालयका कूल विद्यार्थीको संख्या २ लाख १३ हजार ५३४ दुरुस्त छ।

आधिकारिक तथ्याङ्क अनुसार,सामुदायिक र निजी दुबै गरेर एसइईमा कूल चार लाख ६४ सात सय ७५ विद्यार्थी सहभागी थिए जसमध्ये तीन लाख ३१ हजार आठ सय ६७ विद्यार्थी सामुदायिक विद्यालयबाट र एक लाख ३२ हजार ९ सय १८  संस्थागत विद्यालयबाट विद्यार्थी सहभागी थिए।

अर्थात् सामुदायिक विद्यालयबाट सहभागी विद्यार्थीको संख्या संस्थागत विद्यालयबाट सहभागीको संख्या नै झण्डै दुई लाखले बढी छ। यसलाई प्रतिशतको हिसाबमा निकाल्दा ७१ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयबाट सहभागी भएका छन् भने झण्डै २९ प्रतिशत विद्यार्थीमात्र संस्थागत विद्यालयबाट सहभागी भएका छन्।

हेर्नुस् स्क्रिनसट

यसले एसइईमा निजी विद्यालयबाट सहभागी विद्यार्थीको सङ्ख्या नै अत्यन्तै कम देखाउँछ।

तथ्याङ्कको भ्रामक विश्लेषण

समाचारमा अनुत्तीर्णमध्ये ८८.१२ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयका भनिएको छ जुन सही हो। तर, समाचारमा सामुदायिक र निजी विद्यालयबाट सहभागी विद्यार्थीको कूल संख्या (४६४७८५) लाई एकै ठाउँमा राखेर अनुत्तीर्ण प्रतिशत निकालिएको छ। यसले भ्रामक सूचना प्रसारित गरेको परीक्षा नियन्त्रक कार्यलयका परीक्षा नियन्त्रक नन्दलाल पौडेल बताउँछन्।

आधिकारिक तथ्याङ्कका अनुसार सामुदायिक विद्यालयहरूको लागि “Not Graded Percentage” (अनुत्तीर्ण प्रतिशत) ६४.३४% हो।

यो ६४.३४% ले सामुदायिक विद्यालयहरूबाट सहभागी भएका कूल विद्यार्थीमध्ये अनुत्तीर्ण भएका विद्यार्थीहरूको प्रतिशत दर्शाउँछ।

तर समाचारमा भ्रामक प्रस्तुति छ। समाचारले दुई फरक प्रतिशतहरूलाई मिसाएको छ:

१. अनुत्तीर्ण विद्यार्थीहरू मध्ये सामुदायिक विद्यालयका विद्यार्थीहरूको प्रतिशत (जुन वास्तवमै ८८.१२% हो)

२. सामुदायिक विद्यालयका विद्यार्थीहरू मध्ये अनुत्तीर्ण भएकाहरूको प्रतिशत (जुन वास्तवमा ६४.३४% हो)

यसको सही व्याख्या यस्तो हुनुपर्थ्यो-

– सामुदायिक विद्यालयका ६४.३४% विद्यार्थीहरू अनुत्तीर्ण भए।

– सबै अनुत्तीर्ण विद्यार्थीहरू मध्ये (सामुदायिक र संस्थागत दुवै विद्यालयहरूमा), ८८.१२% सामुदायिक विद्यालयका थिए।

समाचारमा भएको यो गलत प्रस्तुतीले सामुदायिक विद्यालयहरूको असफलता दरलाई अत्यधिक बढाएर देखाएको छ। यद्यपि सामुदायिक विद्यालयहरूको प्रदर्शन अझै चिन्ताजनक नै छ, तर यो समाचारले देखाएको जत्तिको चरम छैन। प्रतिशतहरूलाई गलत तरिकाले व्याख्या गरेर भ्रामक सूचना प्रसार गरिएको छ।

सेन्टर फर डेटा जर्नलिजम नेपालका प्रोजेक्ट लिड तथा तथ्याङ्कमा आधारित पत्रकारिता विषयका प्रशिक्षक अरूण कार्की यो समाचारमा सय प्रतिशत केलाई मान्ने भन्ने नबुझ्दा भ्रामक सूचना सम्प्रेषण भएकाे बताउँछन्।

कार्की भन्छन्, ‘कुन समूहकाे प्रतिशत निकाल्ने हाे, त्यसकाे आधार नम्बर कति हाे, र, केलाई सय प्रतिशत मान्ने भन्ने ख्याल गर्‍यो भने सही विश्लेषण हुन जान्छ।’

‘कहिलेकाहीँ प्राविधिक ज्ञान नहुँदा यस्ताे गल्ती हुन जान्छ र कहिलेकाहीँ लेखककाे पूर्वनिर्मित धारणाकाे कारण पनि यस्ताे विश्लेषण हुन जान्छ’, उनी थप्छन्, ‘जस्ताे कि, याे समाचार लेख्दा लेखकले सामुदायिक विद्यालयकाे शिक्षा प्रणाली ध्वस्त छ भनेर पूर्वनिर्मित धारणा अनुसार लेख्न खाेज्दा यस्ताे विश्लेषण हुन गयाे , यस्ताे समाचार नसच्याउँदा समाजमा ठूलाे क्षति पर्न सक्छ। समाचारमा सनसनी बनाउन खाेज्दा पनि यस्ताे गल्ती हुन जान्छ।’

 

तथ्य जाँच

दावी : एसईईमा अनुत्तीर्णमध्ये ८८.१२% विद्यार्थी सामुदायिक विद्यालयका।

दावीकर्ता : नयाँ पत्रिका राष्ट्रिय दैनिक

तथ्य : भ्रामक सूचना। यो शीर्षक र दावी भ्रामक छ किनकि यसले सामुदायिक विद्यालयको अनुत्तीर्ण प्रतिशतलाई अत्यधिक बढाएर देखाउँछ। यसले पाठकहरुलाई सामुदायिक विद्यालयको परीक्षाफलको यथार्थ चित्रण दिँदैन। समाचारमा सामुदायिक र निजी विद्यालयबाट सहभागी विद्यार्थीको कूल संख्या (४६४७८५) लाई एकै ठाउँमा राखेर अनुत्तीर्ण प्रतिशत निकालिएको छ। जबकि सामुदायिक विद्यालयबाट सहभागी विद्यार्थीको संख्या नै बढी छ। सामुदायिक विद्यालयका ६४.३४% विद्यार्थीहरू अनुत्तीर्ण भएको र संस्थागत विद्यालयबाट २१.६५ प्रतिशत विद्यार्थीमात्र अनुत्तीर्ण भएको भनी दुई किसिमका विद्यालयको नतिजाको तुलना र विश्लेषण गरिएको भए सही हुन्थ्यो।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add